Close This

नरभक्षी पाटेबाघको लोकेशन पत्ता लगाउनका लागि चार ठाउँमा क्यामेरा थापियो

सोमबार फागुन ३, २०७७/ Monday 02-15-21
Paschim Today

कैलाली,३ फागुन । कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघको लोकेशन पत्ता लगाउनका लागि चार ठाउँमा क्यामेरा  थापिएको छ ।  बाघले घुमफिर गरिरहेको क्षेत्रमा क्यामेरा पासो थापिएको डिभिजन वन कार्यालय कैलालीले जानकारी दिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलका अनुसार अहिले बाघको खोजीका लागी 'क्यामेरा ट्र्यापिङ  सुरु गरिसकेको र आवश्यक परे थप क्यामारा जडान गर्न सकिने बताए । नरभक्षी बनिसकेको वयस्क पाटेबाघ गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घुमफिर गरिरहेको छ ।

दुधिया, उदासीपुर, बढैपुर, राजिपुर, अण्डैया क्षेत्रमा बाघले मुभमेन्ट गरेको छ । बाघले आइतबार अपराह्नतिर गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी २५ वर्षीया कला धामीको ज्यान लिइसकेको छ । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीमाथि बाघले आक्रमण गरेको थियो । आक्रमण गरेको केही पर धामीको शव फेला परेको थियो ।

यसैगरी, शुक्रबार कैलारी गाउँपालिका–८ स्थित सीताकुँवा सामुदायिक वनमा दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि बाघले आक्रमण गरेको थियो । विवाहका लागि सालको पात टिप्न गएका चौधरी बाघसंगको जम्काभेटमा घाइते हुनुभएको छ । पिठ्युँ र टाउकोमा बाघले घाउ बनाएको छ । चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ ।