भारत र पाकिस्तानले तनाव मत्थर पार्ने बाटो कसरी खोज्न सक्छन्?

काठमाडौं । भारत पाकिस्तान सङ्कटले खतरनाक मोड लिँदैगर्दा संसारभरबाट देशहरूले शान्त रहन आह्वान गरिरहेका छन्।
सुरुमा भारतले हवाई हमला गरेपछि र पाकिस्तानले पनि आफूले कयौँ भारतीय लडाकु विमानहरू खसालेको दाबी गरेपछि (जुन दाबीलाई दिल्लीले पुष्टि गरेको छैन) दुवै पक्षले "जित" दाबी गरेर तनाव मत्थर हुने प्रारम्भिक रूपमा सोचिएको थियो।
तर बदलाभावले लामो समयसम्म चलिरहने हमलाहरूले उनीहरूलाई अझ खतरनाक परिदृश्यतर्फ डोर्याउने जोखिम रहन्छ।
सन् २०१९ र २०१६ का जस्ता विगतका द्वन्द्वहरूमा अमेरिका र केही अन्य विश्वशक्तिहरूले दिल्ली र इस्लामाबादलाई स्थिति नियन्त्रणमा ल्याउन र तनाव कम गर्न दबाब दिएका थिए।
अहिले दुवै पक्षमा राष्ट्रवादी भास्य चरम सीमामा पुगेको छ र उनीहरू त्यसप्रति व्यग्र देखिन्छन्।
यी दुई छिमेकीहरू पछिल्ला दशकहरूमा भन्दा यसपटक युद्धको नजिक पुगेका छन्।
"विश्व समुदाय मौन छ; त्यो खतरनाक छ," लण्डनस्थित किङ्ग्स कलेजका सिनिअर फेलो रहेका पाकिस्तानी प्राज्ञ आयशा सिद्दीकाले भनिन्।
"दशकौँदेखि यस्ता घटनाहरू भइरहे तापनि यो पहिलोपटक हो जब दुई देश कसैको निगरानीबिनै वा बलपूर्वक रोक्न नभनिरहेको द्वन्द्वमा फसेका छन्," उनले भनिन्।
अमेरिकी भूमिका
वासिङ्टन थप संलग्न नभएसम्म इस्लामाबाद र दिल्लीले आफ्ना आरोप र प्रतिआरोपहरू जारी राख्न सक्नेछन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानका वरिष्ठ नेताहरूलाई तनाव कम गर्न भनिरहेका भए तापनि अन्य अमेरिकी नेताहरूको सन्देश फरक छ।अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भारत र पाकिस्तानबीचको सम्भावित युद्ध "हाम्रो कुनै चासोको विषय" नहुने बताएका छन्।
"हामी यी कुरा सकेसम्म चाँडो मत्थर होस् भन्ने चाहन्छौँ। यद्यपि हामी यी देशहरूलाई नियन्त्रण गर्न सक्दैनौँ," भान्सले भने।
२६ जना सर्वसाधारणको ज्यान जानेगरी भारत प्रशासित कश्मीरमा भएको आतङ्कवादी हमलाको समयमा भान्स भारत भ्रमणमा थिए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यसअघि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई "लज्जास्पद" भनेका थिए।
तस्बिर स्रोत,Getty/AFP
तस्बिरको क्याप्शन,पाकिस्तानी गोलाबारीबाट क्षतिग्रस्त भएको आफ्नो घरको भग्नावशेषको छेउमा उभिएका स्थानीय बासिन्दाहरू
अघिल्ला भारत-पाकिस्तान झडपहरूमा भारतले पाकिस्तानभित्र रहेका आतङ्कवादी शिविरहरूमा "सर्जिकल हमला" गरेपछि तनाव चाँडै कम भएको थियो। यो सन् २०१९ को कुरा हो।
उक्त सङ्कटपछि एक भारतीय सैन्य विमानलाई खसालिएको थियो र विमान चालकलाई पाकिस्तानले कब्जामा लियो।
वासिङ्टन र अन्य विश्व शक्तिहरू संलग्न भएका विवरणमाझ दुई दिनपछि उनी रिहा भए।
तर अहिलेको द्वन्द्वको घनत्व बढी छ र दुवै पक्षमा जोस उच्च रहेको छ।
ट्रम्प प्रशासनको प्राथमिकता कर, चीन र युक्रेन-रुसबारे बढी भए पनि दुई परमाणु हतियारधारी प्रतिद्वन्द्वीबीचको तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायको एकीकृत प्रयासको आवश्यकता पर्न सक्छ।
चीन के गर्ला?
दक्षिण एसियामा हिस्सेदारी राख्ने अर्को विश्व शक्ति भनेको चीन हो।
बेइजिङको इस्लामाबादसँग घनिष्ठ आर्थिक र सैन्य सम्बन्ध छ। यसले व्यापार बढाउन चीन-पाकिस्तान आर्थिक करिडोरको भागको रूपमा पाकिस्तानमा ५० अर्ब डलरभन्दा बढी लगानी गरेको छ।
चीनको भारतसँग पनि नसुल्झिएका सीमा समस्याहरू छन् र दुई देशहरूबीच सन् २०२० मा हिमालय क्षेत्रमा सीमा झडप भएको थियो।
दुई देशबीच तनाव भए पनि चीन भारतको दोस्रो ठूलो व्यापारिक साझेदार हो।
"यदि अमेरिका [भारत-पाकिस्तानबीचको तनाव समाधान गर्न] अनिच्छुक भए संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् - पाँच स्थायी सदस्यहरू - यसमा संलग्न हुनुपर्छ यो उनीहरूको पनि जिम्मेवारी हो," साङ्घाईस्थित अन्तर्राष्ट्रिय मामिलाविज्ञ विई शेन डिङ्गलीले बीबीसीलाई भने।
भारतले गत महिना पर्यटकहरूमाथि घातक आक्रमण गर्ने कश्मीरी पृथकतावादी विद्रोहीहरूलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाउँदै गर्दा ती चिनियाँ प्राज्ञले भारतको चिन्तालाई सम्बोधन गर्न "पी-फाइभ सदस्यहरूले घटनाको विश्वसनीय अनुसन्धान सुरु गर्न सक्ने" बताएका छन्।
खाडी देशले गर्नसक्ने मध्यस्थता
दुवै देशसँग नजिकको सम्बन्ध भएका कतार, साउदी अरब र संयुक्त अरब एमिरेट्स (यूएई) जस्ता खाडी देशहरूले आफ्नो मध्यस्थता प्रयासलाई तीव्र पार्न सक्छन्।
भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको पृष्ठभूमिमा साउदी अरबका विदेश राज्यमन्त्री अदेल अल-जुबैर मे ७ तारिखमा दिल्ली आइपुगेका थिए।
त्यसलाई भारत र पाकिस्तानबीचको तनाव बढ्दै गएको अवस्थामा एक अप्रत्याशित भ्रमणको रूपमा हेरिएको थियो।
"अदेल अल-जुबैरसँगको भेटघाट राम्रो रह्यो," भारतका विदेश मन्त्री एस जयशङ्करले भने। उनले आफ्ना समकक्षीले "आतङ्कवादको दृढतापूर्वक प्रतिरोध गर्ने भारतको दृष्टिकोण साटेको" बताए।
ती साउदी मन्त्री पाकिस्तानका नेताहरूसँग वार्ता गर्न शुक्रवार इस्लामाबाद आइपुगेका थिए।
खाडीमा पाकिस्तानका करिब २६ लाख मानिसहरू बस्ने र काम गर्ने गर्छन्। रियादको पाकिस्तानमा उल्लेख्य प्रभाव रहेको छ।
पाकिस्तानलाई वर्षौँदेखिको आर्थिक सङ्कटको समयमा साउदी अरबले अर्बौँ डलर ऋण दिएको छ।
सङ्कटबाट निस्कने उपाय
वर्तमान सङ्कटबाट बाहिर निस्किने एउटा उपाय भनेको दुवै पक्षले आफ्ना मानिसहरूलाई सन्तुष्ट पार्न जीतको दाबी गर्न सक्ने अवस्था हुनसक्छ।
दिल्लीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरभित्रका सन्दिग्ध आतङ्कवादी लुकेका ठाउँहरूमा गरिएको क्षेप्यास्त्र हमला गत महिना पहलगाममा भएको आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई "जबाफदेही" बनाउने प्रतिबद्धताको हिस्सा भएको बताएको छ।
"भारतले पहिले नै आफ्नो उद्देश्य हासिल गरिसकेको बताएको छ। अब के गर्ने भन्ने कुरा पाकिस्तानको हातमा छ। यदि उनीहरूले बदला लिन चाहन्छन् भने भारतबाट कडा प्रतिक्रिया आउनेछ," अवकाशप्राप्त भारतीय लेफ्टिनेन्ट जेनरल डीए हूडाले भने।
पाकिस्तान र खासगरी त्यसको शक्तिशाली सेनाका लागि उसले जनताहरूलाई भारतविरुद्ध लड्नसक्ने देखाउन चाहन्छ।
आकाशमा विमानहरूबीच हुने झडपमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेर भारतलाई पाठ सिकाएको देखाउन सेनाले देखाउन चाहेको छ।
भारतले पछिल्ला हमलाका क्रममा कुनै पनि लडाकु विमान गुमाएको स्वीकार गरेको छैन।
तर पाकिस्तानी प्राज्ञ सिद्दिकाका अनुसार अहिलेको सङ्कट कसरी सकिन्छ भन्ने कुरा भारतको घोषित उद्देश्यहरूमा भर पर्छ।
"भारतले पाकिस्तानलाई सजाय दिने देखि लिएर थप केही हासिल गर्नेसम्म गर्दै दिनदिनै गोलपोष्ट फेर्दे आएको छ," उनले भनिन्।
तपाईको प्रतिक्रिया