स्वास्थ्यमा छलाङ मार्दै सुदूरपश्चिम

मेडिकल ‘हव’ बन्दै धनगढी

शनिबार असोज १६, २०७८/ Saturday 10-02-21
दीर्घराज उपाध्याय /बीर बहादुर सिंह/जनक धामी 

२०४४ साल जेठ १९ गते सेती अञ्चल अस्पतालमा मेडिकल अफिसरका रुपमा हाजिर हुदा डा. गणेश बहादुर सिंह एक्ला चिकित्सक थिए । मेडिकल सुपरीटेण्डेटको जिम्मेवारी पाएका शैलेश झा अस्पतालमा थिएनन ।  लोक सेवा पास भएपछि सरकारले सिंहको दरबन्दी सेती अञ्चल अस्पतालमा कायम गरेको थियो ।

त्यतिबेला सेती अञ्चल अस्पतालको निमित्त मेसु थिईन, स्टाफ नर्स बिष्णु शाह । स्टाफ नर्सको भरमा अस्पताल चलेको थियो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकको संख्या मुस्किलले २० थियो ।

डा. सिंह आएको केही समयपछि डा. बिमल ढकाल थपिए । त्यसपछि रुसबाट अध्ययन सकेर युरो सर्जन डा. विश्वास जोशी र उनकी पत्नी स्त्रीरोग बिशेषज्ञ डा. शान्ति जोशी थपिईन । त्यस लगत्तै ईटलीबाट पढाई पुरा गरेर हाजिर भए, डा. सुरेश चन्द्र रेग्मी र उनकी पत्नी डा. किरण रेग्मी । यो वि.स.२०४५ सालको कुरा हो । स्टाफ नर्सको भरमा चलेको अस्पतालमा एकै पटक छ जना चिकित्सक हाजिर भए 

करीव एक वर्ष डा. सिंह र ढकाल सहित तीन जना चिकित्सकले धानेको अस्पतालमा चिकित्सकको संख्या त दोब्बर भयो । तर सधन स्रोत र उपकरण भने केही थिएनन, डा. सिंह सम्झिन्छन्, वत्तीको ठेगान हुन्थेन । जनरेटेर थिएन । पंखा पनि थिएन । वत्ती गए टर्च बालेर अप्रेशन गथ्र्यो, गर्मी यस्तो हुन्थ्यो कि अप्रेशन गर्दा गर्दै पसिनाले भिजिसकेको हुन्थे ।

बेहोश गर्ने डाक्टर थिएन । आफै बेहोस गर्ने । आफै अप्रेशन गर्ने । बिरामीलाई बेहोस गर्न नाकमा ईथर सुघाउथ्यौ, ३३ वर्षअघिको सेती अञ्चल अस्पतालको अवस्था डा. सिंह अझै बिर्सिएका छैनन । भन्छन्, अप्रेशन नसकिदै ईथरको प्रभाव सकिन थालेपछि बिरामीको होस खुल्न थाल्थ्यो, फेरि ईथर सुघाएर बेहोस गरेर अप्रेसन पुरा गथ्र्यो ।

प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन ताका २०४७ मा सेती अञ्चल अस्पतालको मेडिकल सुपरीटेण्डेट रहेका डा. लक्ष्मीराज पाठकको सम्झना पनि डा. सिंह भन्दा फरक छैन ।२०४५ देखि २०५० सालसम्म ६ जना चिकित्सकले अस्पतालले धानेका थिए । त्यो पनि सबै चिकित्सकहरु हुन्थेनन । कोही काजमा त कोही बिदामा बाहिर हुन्थे ।हामी थोरै संख्यामा त थियौ, तर हामीले जनताको ज्यान जोगाउन हरसम्भव कोसिस गथ्र्यौ, डा. पाठक भन्छन्, अहिलेजस्तो रेफर गरेर अन्यत्र पठाउन पनि सहज थिएन ।

हाईड्रोसिल, हर्निया र एपण्डिसाईटको हामीले अप्रेशन गथ्र्यौ, अन्य जटिल अप्रेशनमा हामी निरुपाय हुन्थ्यौ, उनी सम्झिन्छन्, यहाँको ३० वर्ष पहिले र अहिलेको स्वास्थ्य क्षेत्रको अवस्थाको तुलना नै हुदैन । उनी भन्छन्, हामीले त्यही बेला नेपाल रेडक्रस सोसाईटीसंग मिलेर रक्त सञ्चार केन्द्र स्थापना ग¥यौ । साझा स्वास्थ्यको स्थापना पनि त्यही बेला भएको हो । अन्तरंग सेवाका सम्पूर्ण औषधीहरु निशुल्क पाईन्थ्यो ।अहिलेजस्तो पहिले विशेषज्ञ सेवा थिएन । बच्चा बिरामी भए डा. सिंह । प्रसुती सेवा दिनु प¥यो, डा. सिंह ।हात खुट्टा भाच्चिएका व्यक्ति आए त्यो जोड्ने काम पनि डा. सिंहले गर्थे ।

डाक्टरहरुको फि ३० रुपैया

५० को दशकतिर डाक्टरहरु अस्पताल बाहिर बिरामी हेर्दैनथे । डा. पाठकका अनुसार बिहान ९ बजे अस्पताल भित्र पसेका डाक्टरहरु ३ बजेपछि मात्र बाहिर निस्किन पाउथे । अस्पताल बाहिर तत्कालिन शाही नेपाली सेनाका डाक्टर ईन्द्र मेडिकलमा बिरामी जाँच्न आउथे ।  अस्पताल भित्र कुनै जटिल अप्रेशन गर्नु परे सेनाका चिकित्सकले समेत सघाउथ्ये । २०४४ सालमा सुदूरपश्चिममा तत्कालिन राजा बिरेन्द्रको सवारी हुदा साथमा चिकित्सकहरु पनि आएका थिए । जसले केही समय सुदूरपश्चिमका बिभिन्न जिल्लामा बिरामीको सेवा गरेका थिए । तर राजा फिर्ता भएको केही समयपछि डाक्टरहरु पनि फिर्ता भए ।

त्यतिबेला चिकित्सकहरुले बाहिर बिरामी जाँचे वाफत ३० रुपैया शुल्क लिन्थे, डा. सिंह भन्छन्, र, एउटै चिकित्सकले सबै खालका बिरामीहरु क्लिनिकमा जाँच्थे । किनकी अहिले जस्तो विशेषज्ञ सेवा ५० को दशकमा थिएन ।
भारतीय बजारमा नेपाली बिरामी
सुदूरपश्चिमका बिभिन्न जिल्लाका बिरामीहरु उपचारका लागि भारतका बिभिन्न शहर जाने गर्थे । हात खुट्टा भाँचिएका बिरामीहरुको जाने ठाउँ थियो, लखिमपुरस्थित डा. सलुजाको क्लिनिक । सलुजाले द्धन्दकालमा माओवादीका घाईतेहरुको समेत उपचार गर्थे । भनिन्छ, माओवादी र सलुजाबीच घाईते माओवादीहरुको उपचारका सम्बन्धमा सम्झौता नै भएको थियो ।

पलियामा डा. कपुर चर्चित थिए । उनी कहाँ बिहानै नेपाली बिरामीहरु उपचारका लागि पुग्थे । कपुरले पनि नेपाली बिरामीहरुलाई प्राथमिकता दिएर उपचार गर्ने गरेका थिए । डा. कपुरले निश्चित संख्यामा बिरामी हेर्थे । उनी कहाँ उपचार नपाउने भएपछि नेपाली बिरामीहरु डा. सक्सेन कहाँ जान्थे । कतिपय नेपाली बिरामीहरु गौरीफन्टामा समेत उपचार गराउन जान्थे ।पिलिभितमा डा. पीडी सिंह नेपाली बिरामीहरुमाझ चर्चित थिए । लखनउको मेडिकल कलेज र बरेलीमा पनि उपचारका लागि नेपालीहरु उत्तिकै जान्थे । सिंह भन्छन्, नेपालमा उपचार संभव नभएपछि भारत वा अन्यत्र जानु यहाँका बिरामीहरुको बाध्यता थियो ।

बंगाली डाक्टरको बिगबिगी

कैलालीमा ५० को दशकअघि बंगाली डाक्टरहरुको बिगबिगी थिए । बिरामी हेर्ने जति सबै डाक्टर । पढे लेखेको होस वा नहोस । कसैले सर्टिफिकेट हेर्थेनन् । धनगढीमै पनि सेतो पुल र भन्सारमा बंगाली डाक्टरहरु थिए । यद्दपि त्यतिबेला धनगढीमा नाम चलेका मेडिकल पसल पनि थिए । जोशी मेडिकल यहाँका बासिन्दाहरु माझ अत्यन्त विश्वसनीय थियो ।

डा. शिवदत्त जोशीले २० को दशकमा खोलेको जोशी मेडिकल अहिले पनि पार्क मोडमा छ । पार्क मोड र जोशी मेडिकलका नामबाट त्यो ठाउँ अहिले पनि चिनिन्छ । झण्डै ५७ वर्षदेखि जोशी मेडिकल जस्ताको त्यस्तै छ । घरको तला थपियो । कुनै समय धनगढीका बिरामीका लागि यही मेदान्ता थियो, यही बीर अस्पताल । डा. जोशीले अप्रेशन वा चिरफार गर्थेनन । उनले बिरामीको रोगको प्रकृति हेरेर औषधी दिन्थे । र जटिल बिरामीलाई उपचारका लागि राम्रो ठाउँमा लैजान सुझाव दिन्थे ।

धनगढीमा अर्को नाम चलेको मेडिकल थियो, सरोज मेडिकल ।यसका सञ्चालक थिए, कमल सिंह साहु ।

उनको मेडिकलमा पनि बिरामीहरुको घुईचो लाग्थ्यो । उनी कतिसम्म लोकप्रिय थिए भने काँग्रेसका तर्फबाट वडा नम्बर २ को अध्यक्षमा टिकट पाएका उनी भारी मतले चुनिएका थिए ।भन्सारमा थियो, रश्मी मेडिकल हल । जसका सञ्चालक थिए, गोरख श्रेष्ठ । उनी कहाँ कञ्चनपुरका पुनर्वास, बेलौरी, लालझाडी क्षेत्रका बिरामीहरु उपचारका लागि आउथे । ४० को दशकदेखि बिरामीको उपचारमा सक्रिय श्रेष्ठ झण्डै ३० दशकभन्दा लामो समय धनगढीका बिरामीमाझ चर्चामा थिए ।

धनगढीको अर्को पुरानो मेडिकलका रुपमा चिनिन्छ, ईन्द्र मेडिकल । यहाँ नेपाली सेनाका डाक्टर बिरामी जाँच्न आउथे । सेनाका डाक्टर प्रति यहाँका बासिन्दा निकै विश्वास गर्थे । 

स्वास्थ्यमा निजी क्षेत्रको लगानी बढ्दो

३० वर्षको अन्तरालमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रले ठूलो छलाङ मारेको छ । सरकारी क्षेत्रसंगै नीजि क्षेत्रले पनि लगानी र सेवा निरन्तर थपिरहेको छ । नव जीवन अस्पताल र पदमा अस्पताल यस क्षेत्रको पुराना निजी अस्पताल हुन । त्यसको केही समयपछि अत्तरीयामा सेवा नर्सिङ होम खुल्यो । अहिले अत्तरीया र धनगढी दुबै ठाउँमा सेवा नर्सिङ होमले सेवा दिईरहेको छ । धनगढीमै पनि झण्डै एक दर्जन निजी नर्सिङ होमले सेवा दिईरहेका छन् ।

धनगढीमा निजी क्षेत्रबाट सञ्चालित सीपी अस्पताल, निसर्ग अस्पताल, माया मेट्रो अस्पताल, कैलाली अस्पताल, नोभा हस्पिटल, केजी अस्पताल,सारथी र पदमा अस्पताल लगायतका अस्पतालले सेवा दिईरहेका छन् । निजी अस्पताल खुल्ने क्रम धनगढीसंगै सुदूरपश्चिमका हरेक जिल्लाका सदरमुकाम र ग्रामिण क्षेत्रमा पनि खुल्ने क्रम जारी छ । सीपी अस्पतालका सञ्चालक डा. सीपी पाण्डेय ३० वर्षको अन्तरालमा सुदूर पश्चिममा स्वास्थ्य क्षेत्रले फड्को मारेको बताउँछन् ।

हिजो सामान्य उपचार र अप्रेशनका लागि बाहिर जानु पथ्र्यो,डा. पाण्डेय भन्छन्, जटिल अप्रेशन र उपचार यही हुन थालेपछि बाहिर जानु पर्ने बाध्यता हटेको छ ।यद्दपि स्वास्थ्य क्षेत्रमा धेरै सुधार र सुबिधा थप्न आवश्यक भएको ठान्छन, डा पाण्डेय । भन्छन्, हृदयघात र मस्तिष्कघात हुदा अप्रेशन गर्ने व्यवस्था अझै भईसकेको छैन । न्युरो सर्जन र कार्डिओलोजिष्ट सहितको सुबिधा सम्पन्न अस्पताल अवको आवश्यकता हो।

गेटा मेडिकल कलेज सम्बन्धन लिने होईन, सम्बन्धन दिने मेडिकल युनिभर्सिटी बनाईनु पर्छ: डा. पन्त

गेटा मेडिकल कलेजको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म मेडिकल कलेजको निर्माण कार्यमा साढे तीन अर्व रुपैया सरकारले लगानी गरिसकेको छ । कैलालीको गोदावरी नगरपालिका–५ मा ५१ हेक्टर क्षेत्रफलमा फैलिएको गेटा मेडिकल कलेजको नामाकरणसंगै यसको प्रारुप कस्तो हुने भन्ने विषयमा यतिबेला तिब्र बहस भईरहेको छ । गेटा मेडिकल कलेजको निर्माण, प्रारुप र सञ्चालनसंग सम्बन्धित विषयमा केन्द्रित रहेर भए गेटा मेडिकल कलेज निर्माण विकास समितिका अध्यक्ष डा. चेतराज पन्तसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

गेटा मेडिकल कलेजको निर्माण कार्य कति प्रतिशत काम पुरा भयो ?
पहिलो चरण अन्तर्गत निर्माण गर्ने भनिएका साना र ठूला गरी २९ वटा भवन निर्माण भईरहेका छन् ।  कतिपय भवनको निर्माण कार्य पुरा भईसकेको छ । कतिपय भवन निर्माणाधीन अवस्थामा छन् । 
मेडिकल कलेजमा कहिलेदेखि सेवा शुरु हुन्छ ?अहिले बिजुली पानी ढल निकासको काम भईरहेको छ । ढल निकासलाई कसरी व्यवस्थित गर्ने भनेर तीन वर्षदेखि कन्सलट्याण्ट लागिरहेका छन् । कन्सलट्याण्टहरुले कम्तिमा थप तीन महिना ढल व्यवस्थापन गर्न समय लाग्ने बताएका छन् । ढल निकासको व्यवस्थापन भएको एक वर्षभित्रमा हामी सेवा शुरु गर्छौ । 
कति शैयाको अस्पताल सञ्चालन गर्न सक्ने गरी पूर्बाधार र तयारी भएको छ ?
हालसम्म निर्माण भएका संरचना र भवनहरुबाट ६ सय शैयाको अस्पताल सञ्चालन गर्न संभव छ । तर त्योभन्दा पहिला गेटा मेडिकल कलेजको प्रारुप कस्तो हुने त्यो टुंगो लाग्न भन्ने जरुरी छ । यस विषयमा सरकारसंग छलफल गरिरहेका छौ ।तपाई स्वास्थ्य क्षेत्रसंगै सम्बन्धित हुनुहुन्छ, देशका बिभिन्न भागमा सञ्चालन भएका मेडिकल कलेजको प्रारुप र तिनको अनुभवले के भन्छ, कुन प्रारुपमा चलाए मेडिकल कलेज प्रभावकारी हुन्छ ?
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान मार्फत सञ्चालन गर्नुभन्दा पनि यसलाई स्वायत्त मेडिकल युनिभर्सिटीका रुपमा सञ्चालन गर्नु यस क्षेत्रका जनताका लागि फाईदाजनक हुन्छ । यो कसैको मातहतमा राख्ने भन्दा पनि स्वायत्त संस्था बनाईनुपर्छ । प्रतिष्ठानहरुलाई पनि छाता संगठन मार्फत सञ्चालन गर्ने नीति बनिरहेको छ । गेटा मेडिकल कलेज प्रतिष्ठान मार्फत सञ्चालन भएमा त्यो नीतिभित्र बाधिने छ । त्यसले यसको दायरा र भूमिकालाई खुम्च्याउने छ । आफ्नो ढंगले सञ्चालन हुन पाउदैन ।

तपाईको भनाईको आशय, गेटा मेडिकल कलेज अरुसंग सम्बन्धन लिने होईन कि अरुलाई सम्बन्धन दिने प्रारुपमा स्वायत्त मेडिकल युनिभर्सिटीका रुपमा हुनुपर्छ भन्ने हो ?
हो, मेरो भनाईको आशय पनि यही हो ।  स्वायत्त मेडिकल युनिभर्सिटीका रुपमा गेटा मेडिकल कलेज कसैमा निर्भर हुने छैन । युनिभर्सिटी बनायौ भने यसको आफ्नै मर्यादा र प्रतिष्ठा हुन्छ । अन्तर्राष्ट्रियस्तरमा यसको छुट्टै छाप हुन्छ ।

गेटा मेडिकल कलेजलाई अस्पताल र एमवीवीएस पढाई हुने थलोमा सिमित राख्न हुदैन । यो स्वायत्त मेडिकल युनिभर्सिटी भयो भने एमवीवीएस पढाई संगै अन्य स्वास्थ्य प्राबिधिकहरु उत्पादन गर्ने थलो पनि बन्ने छ । मेडिकल युनिभर्सिटीले पहाडी जिल्लाहरुमा समेत बीएस्सी नर्सिङ कलेज र अन्य स्वास्थ्य प्राबिधिक कलेजहरु खोल्न सम्बन्धन दिन सक्छ । त्यसले रोजगारीका लागि पलायन हुने युवाशक्तिलाई रोक्न र रोजगारी सृजना गर्न पनि योगदान पुग्नेछ ।

त्यतिमात्र होईन गेटा मेडिकल कलेजले प्रत्यक्ष रुपमा चिकित्सक, स्वास्थ्यकर्मी समेत गरी एक हजार जना भन्दा बढिलाई रोजगारी दिनेछ । यतिठूलो संख्या रोजगारी सृजना गर्ने गेटा मेडिकल कलेज यस प्रदेशकै पहिलो संस्था हुनेछ ।

अति दुर्गम मानिने कर्णालीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सञ्चालनमा आईसक्यो । तर यही प्रकृया र गतिले गेटा मेडिकल कलेजको काम अघि बढ्ने हो भने अस्पताल सञ्चालन हुन एक वर्ष भन्दा बढि र एमवीवीएसको पढाईका लागि थप तीन वर्ष कुर्नुपर्ने देखिन्छ । अहिलेकै नीति अनुसार त तीन सय शैयाको अस्पताल सञ्चालनमा आएको तीन वर्षमात्र एमवीवीएसको पढाई सञ्चालन गर्न पाउने प्राबधान छ नि ?
हो, अहिलेकै नीति अनुसार एमवीवीएसको पढाई शुरु गर्न चार वर्ष कुर्नुपर्ने हुन्छ । तर त्यो पनि एक वर्षभित्र अस्पताल सञ्चालन आएको खण्डमा मात्र । तर गेटा मेडिकल कलेज स्वायत्त मेडिकल युनिभर्सिटी भयो भने फाष्ट ट्रयाकबाट तत्काल एमवीवीएसको पढाई शुरु गर्न सकिन्छ । 
के गेटा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिमका प्रदेशका नागरिकको उपचारका लागि भारत वा अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य हुनेछ ?
यहाँ नागरिकले उपचारका लागि भारत वा अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य हुने छ । सबै खालका रोग र समस्याको उपचार यही हुनेछ । त्यतिमात्र होईन, भारतीय बिरामीहरु समेत उपचारका लागि यहाँ आउनेछन् । किनकी गेटा मेडिकल कलेजले दिने सेवा सीमाक्षेत्रका भारतीय शहरमा समेत संभव छैन ।

के गेटा मेडिकल कलेज सञ्चालन आएमा मस्तिष्क घात(ब्रेन ह्यामरेज) र हृदयघात (हर्ट अट्याक) रोगको उपचार तथा अप्रेशन हुने छ ?
पक्कै पनि अहिलेसम्म सुदूर पश्चिमका जनताले समयमा उपचार नपाउदा मृत्युवरण गर्नु परेको मस्तिष्क घात र हृदयघात जस्ता तत्काल अप्रेशन तथा उपचार गर्नु पर्ने रोगको मात्र नभएर अन्य जटिल प्रकारका रोगहरुको पनि यही उपचार संभव हुनेछ ।


जागिर छोडेर स्वास्थ्य सेवामा समर्पित जोशी


 

पढाई पुरा गरेपछि धेरैको सोच हुन्छ, जागिर खाने । तर डोटी पुख्र्याैली घर भइ हाल धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोल बस्दै आएका जनकराज जोशी पनि अपवाद भएन । पढाई पुरा गरेपछि परिवार नियोजनमा जागीरे भए । १८ वर्ष लामो जागिरे जीवनपछि भने उनले फरक बाटो रोजे । जागीर छोडे । र, करिब २० लाखको लगानीमा धनगढीमा एउटा मेडिकल पसल खोले । त्यो मेडिकल दुई वर्ष चलाए । त्यतिमै उनी सन्तुष्ट भएनन । र त्यसैलाई स्तरोन्नति गर्दै २०७० सालमा अस्पताल खोल्ने निर्णय गरे । उनको निर्णयलाई केही व्यक्तिले साथ दिए । र, २०७१ सालमा त्यही मेडिकललाई कैलाली अस्पतालको नामबाट अगाडि बढाए । स्वास्थ्य क्षेत्रमै लामो अनुभव बटुलिसकेका जोशी अहिले आफ्नै भवनमा अस्पताल सञ्चालन गरिरहेका छन् । अव उनी त्यसलाई १४ कठ्ठा जमिनमा विस्तार गर्दैछन् । २० करोडको लगानीमा सुदूरपश्चिमकै अत्याधुनिक सेवा सुविधा सहितको अस्पतालमा बनाउने क्रममा जुटेका छन् ।  ‘धनगढीमा निजि अस्पतालको आवश्यकता थियो । तर लगानी गर्न कसैले आँट गर्न सकेका थिएनन । मैले त्यो बेला अस्पतालमा लगानी गरे ’ जोशी भन्छन्, ‘तर अहिले एक दर्जन अस्पताल सञ्चालनमा आइसकेका छन् ।’

धनगढीमा रहेको सरकारी अस्पतालमा सुरुसुरुमा डाक्टर अभावले सामान्य उपचारका लागि काठमाडौँ, नेपालगञ्ज, सीमावर्ती भारतीय सहरहरुमा जानुपर्ने अवस्था थियो । तर अहिले अधिकांश उपचार सेवा यहाँका निजि अस्पतालमा सुरु भइसकेको छ । निजि अस्पताल खुल्ने क्रम सुरु भएसँगै नागरिकलाई उपचार सेवामा सहज भएको जोशी बताउँछन् ।

कैलाली अस्पतालले प्रदेशमा मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध नभएको कुरालाई मध्यनजर गरी नेपाल मेडसिटी हस्पिटलसँगको सहकार्यमा उक्त सेवा पनि सञ्चालन गरिरहेको जोशीको भनाइ छ । हालसम्म अस्पतालले करिब ९० जनाको कम्मर भाँच्चिएको सफल शल्यक्रिया गरिसकेको जनाएको छ । 
 

प्रतिस्पर्धाभन्दा जनताको सेवामा केन्द्रित छौँ  : साउँद


 

स्थापनाको छोटो समयमै उपचार र गुणस्तीय सेवाका कारण ख्याति कमाएको अस्पताल हो, माया मेट्रो अस्पताल । सुदूरपश्चिममा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले स्थापित अत्याधुनिक सेवा सुविधा सहितको माया मेट्रो अस्पताल सञ्चालनमा आएसँगै यहाँको उपचार सेवामा आयाम थपिएको छ । अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद निजी क्षेत्रबाट पनि स्वास्थ्यमा केही योगदान दिनुपर्छ भन्ने सोँचका साथ सुरुमा १० करोडको लगानीबाट अस्पताल सञ्चालनमा ल्याएको बताउँछन् ।

‘विगतमा एउटा  मात्रै सेती अञ्चल अस्पताल थियो । त्यसले यहाँका बिरामीको चाप धान्न सक्ने अवस्था थिएन ।’ साउँद भन्छन्, ‘त्यो बेला बाहिरबाट यहाँ डाक्टर आउन मान्दैनथे, दक्ष जनशक्तिको अभाव थियो । तर अहिले अवस्था परिवर्तन भएको छ । हामी कहाँ काम गर्ने डाक्टरहरु सबै बाहिरबाट आएका छन् ।सरकारी अस्पतालहरुबाट बिरामीहरुको उपचार संभव नभएको देखेपछि हामीले अस्पताल सञ्चालनमा ल्याएका हौ, सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका सुदूरपश्चिमका जनताका जटिल भन्दा जटिल अप्रेशन हामीले यही गरेका छौ । जसका कारण उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको केही हदसम्म अन्त्य भएको छ ।

निमार्ण व्यवसायमा समेत संलग्न रहेका साँउदले सुदूरपश्चिमका जनतालाई सहज रूपमा सेवा दिने उद्देश्यले २०७५ सालबाट धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २५ शैयाको उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । अस्पतालमा चौबिसै घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे, सिटी स्क्यान सेवा, आइसीयु, एनआइसीयु, पीआइसीयु सेवा, वातानुकूलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्यचिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा–सुविधा उपलब्ध रहेको अस्पतालका अध्यक्ष साउँद बताउँछन् ।

अस्पतालमा उपचार सेवा सुुविधा थप गरेर यहाँका बिरामीलाई अन्य क्षेत्रमा जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ आफूहरू लागि परेको उनले बताए । पछिल्लो समय धनगढीमा निजी लगानीमा अस्पतालहरू खुल्ने क्रम बढ्दै गए पनि आफूहरू भने प्रतिस्पर्धाभन्दा पनि जनताको सेवामा केन्द्रित हुने साउँदको दावी छ । ‘विगतमा एउटा सरकारी अस्पताल रहेको धनगढीमा अहिले निजी अस्पतालको संख्या दर्जन बढि भएको छ । हामी कसैसँग प्रतिस्पर्धा गर्दैनौँ, उनी भन्छन्, हामी गुणस्तरीय सेवामा मार्फत जनताको सेवा गरिरहेका छौ ।

बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य गर्छौँ : पन्त


 

धनगढीमा छोटो समयमा बिरामीहरुका माझ परिचित नाम बनेको छ, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि. । करीव ५ करोड रुपैयाको लगानीमा २०७५ सालमा धनगढी उपमहानगरपालिका–५ हसनपुरमा सञ्चालनमा आएको निसर्ग हस्पिटल गुणस्तरीय सेवाका कारण बिरामीको मन जित्न सफल भएको अस्पतालका अध्यक्ष तिर्थ पन्त दावी गर्छन ।  २५ शैयाको निसर्ग हस्पिटलले जटिल भन्दा जटिल शल्यक्रिया गरेर बिरामीरुको ज्यान जोगाईरहेको पन्त बताउँछन् । सुदूरपश्चिममा सबैभन्दा बढी कन्सलटेन्ट डाक्टरहरू निसर्ग अस्पतालसंग रहेको पन्तको दावी छ । ‘यसअघि म पोलिक्लिनिक चलाउँथे ।’ उनले भन्छन, ‘ पोलीक्लिनिकबाट सबै सेवा दिन संभव थिएन । त्यसैले अस्पताल सञ्चालनमा ल्यायौ । अहिले निसर्ग निजी क्षेत्रको सबैभन्दा बढि अप्रेशन र उपचार गर्ने अस्पताल बनेको छ ।

तीन वर्षको अवधिमा अस्पतालले प्रदेशमै उत्कृष्ट सेवा दिन सफल भएको दावी गर्दै अझै सेवा र सुबिधा विस्तार गरिरहेको पन्त बताउँछन्। अहिले अस्पतालमा करिब १६ जना विषशज्ञ डाक्टरको टोलीले सेवा दिइरहेको छ । निजि क्षेत्रमा सञ्चालित अस्पतालहरू मध्ये सेन्ट्रल अक्सिजन सप्लायर, भ्याक्युम पाइपलाइन सुविधा पहिलो पटक यो अस्पतालमा रहेको सञ्चालकको दावी छ ।

अस्पतालले बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, जनरल मेडिसिन पेट, छाति, मुटु, सुगर, प्रेसर,  विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ लगायतका सेवाहरू प्रदान गरिरहेको छ । अस्पतालले ईमर्जेन्सी सेवामा विशेषज्ञ सेवा आवश्यक परेमा तत्काल डाक्टरको सहज उपलब्धता गराउने गरेको जनाएको छ । अस्पतालमा आइसीयु, एनआइसीयु, पीसीआइयुको व्यवस्था पनि छ ।
 

सुरुमा अस्पताल सञ्चालन गर्न निकै कठिन भयो : डा. पाण्डेय 


 

डडेल्धुरामा जन्मिएका चन्द्रप्रकाश(सीपी) पाण्डेयले प्राथमिक तहको शिक्षा धनगढीको ऐश्वर्य विद्या निकेतनबाट पुरा गरे । थप पढाईका लागि उनी काठमाण्डौंको सिद्धार्थ बनस्थली भर्ना भए । ६ कक्षामा सिद्धार्थ बनस्थली भर्ना भएका पाण्डेयले त्यहीबाट एसएलसी पास गरे । अमृत साईन्स कलेजबाट आईएस्सी पुरा गरे । एमवीवीएस र एम एसको पढाई भने महाराजगञ्जबाट पुरा गरे । नेपाल मेडिकल कलेज जोरपाटीमा काम गरेपछि डा. पाण्डेय कोहलपुर मेडिकल कलेज आईपुगे । जहाँ उनले साढे चार वर्ष सेवा गरे । र, त्यहाँबाट उनी पुगे, चितवन । अनि चितवन मेडिकल कलेजमा साढे चार वर्ष सेवा गरे ।

उनी डाक्टर भएपछि धनगढीमै फर्केर सेवा गर्न चाहन्थे । तर उनले आँट गर्न सकेका थिएनन । लामो समय चितवन मेडिकल कलेजमा काम गरेपछि भने उनको मनले त्यहाँ बसिरहन मानेन । उनी सेवा सुबिधा र अवसर सबै छोडेर धनगढी आए । र, यहाँ शुन्यबाट सेवा गरे । चितवनमा उनी काम गरे वाफत आकर्षक तलव पाउथे । त्यहाँ कामले मान, सम्मान र प्रतिष्ठा पनि कमाईसकेका थिए ।

यहाँ त उनी आफ्नै आगनमा नयाँ थिए । उनलाई धेरैले चिनेका थिएनन ।  उनले जोखिम उठाएरै २०७० सालमा धनगढीमा सीपी अस्पताल खोले । पहिले तलव खान्थे । यहाँ त महिना मरेपछि अरुलाई तलव खुवाउनु पर्ने दायित्व पनि थियो, उनीमाथि । उनी रातदिन नभनी खटे । त्यही खटाई र मिहिनेतले डा. सीपी पाण्डेय छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भए । र आज त्यही पहिचान र गुणस्तरीय स्वास्थ्य सेवाले सीपी अस्पताल चलेको छ । एक वर्षसम्म एक्लै अस्पताल चलाएका डा. पाण्डेयको साथमा यतिबेला आठ जना बिशेषज्ञ डाक्टर र दुई जना मेडिकल अफिसर छन् ।

‘एक दशकअघि सुदूरपश्चिममा बाहिरबाट डाक्टर आउन तयार हुदैनथे, डा. पाण्डे सम्झिन्छन्, ‘ एक वर्ष अस्पताल एक्लै चलाए । एक वर्षपछि काठमाण्डौंबाट एक जना फिजिसियन ल्याए । अहिले त सुदूरपश्चिम मेडिकल हव नै भएको छ । निजी अस्पतालमा सेवा गर्न बाहिरबाट डाक्टरहरु आउने क्रम तिब्र भएको छ ।
पाँच जनाको लगानीमा ८० लाख रुपैयाबाट शुरु भएको सीपी अस्पताल अव चटकपुरमा आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा जुटेको डा. पाण्डेयले बताए ।

सर्जरीबाट सेवा सुरु गरेको सीपी अस्पतालले अहिले अप्रेशन सेवा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्याथोलोजी तथा फार्मेसी सेवा, अल्ट्रासाउण्ड तथा एक्सरे सेवा, जनरल वार्ड तथा प्राइभेट क्याविन, भिडियो इन्डोस्कोपी र कोलोनोस्कोपी दैनिक ओपीडी सेवा, जनरल सर्जरी, फिजिसियन, हाडजोर्नी तथा नशा रोग, यूरो सर्जरी, मिर्गाैला तथा मुत्र रोग, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, फिजियोथेरापी सेवा दिइरहेको छ ।नकट भविष्यमा थप सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालको योजना रहेको छ ।  

८–१० जना बिरामी आउने अस्पतालमा अहिले डेढ–दुई सय पुग्छन्


 

२०६२ सालमा धनगढीमा कुनै पनि निजी अस्पताल थिएनन् । थिए त केवल पोलिक्लिनिक र औषधी पसलहरू । त्योबेला गम्भीर अवस्थाका बिरामी र जटिल उपचारका लागि नेपालगञ्ज, काठमाडौँ वा भारतीय सहरहरुमा जानुको विकल्प थिएन । त्यो समयमा यहाँ एउटै सरकारी अस्पताल थिया,े सेती अञ्चल अस्पताल । तर त्यो सरकारी अस्पतालमा पनि डाक्टर आउन मान्थेनन् । त्यो समस्यालाई मध्यनजर गर्दै २०६२ सालबाटै १५ शैयाको अस्पताल सुरु भयो, नवजीवन अस्पताललका रुपमा ।

अस्पतालका प्रशासन प्रमुख ऋषिराम अर्याल सम्झन्छन्, ‘त्योबेला विशेषज्ञ डाक्टर थिनन्, एमबीबीएस डाक्टरद्धारा सेवा दिनुपथ्र्याे, विशेषज्ञ डाक्टर आउन पनि मान्थेनन् । तर अहिले त्यो समस्या कम भएको छ ।’ आइसियु अभावमा भारत लगायतका अन्य ठाउँ जानु पर्ने बाध्यताको अन्त्य गर्न २०७६ सालमा अस्पतालले सघन उपचार कक्ष आइसीयु सेवा सञ्चालनमा ल्यायो ।

झण्डै दुई करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहित ६ वेडको आइसीयु सेवा समेत दिइरहेको छ । ‘सुरुवातमा उपचारका लागि दैनिक ८–१० दश जना आउने गर्थे भने दिनमा एक–दुई वटा अप्रेशन हुन्थ्यो ।’ अर्यालले भने, ‘तर आजको दिनमा स्थिति फेरिएको छ । अस्पतालमा दैनिक उपचारका लागि डेढ दुई सय जना बिरामी आउँछन् भने आठ दश वटा अप्रेशन हुन्छन् ।’ 

सानो, सीमित सेवा र न्यून जनशक्तिबाट सुरु गरिएको नवजीवन अस्पतालले डेढ दशक पार गर्दा सेवा सुधारमा मुहार फेरिसकेको छ । सानो अस्पताल ठूलो भएको छ । क्षमता विस्तार भएको छ । अत्याधुनिक सेवा थपिएको छ । स्वास्थ्य सेवाहरू विस्तृत भएका छन् । सयौँ जनशक्ति छन्, सुविधा सम्पन्न पूर्वाधार बनेका छन् । दर्जनौँ विशेषज्ञ सेवाहरू थपिएका छन् । नवजीवन अस्पतालले पनि आफ्नै भवनबाट सेवा सञ्चालनको तयारी गरिरहेको छ । निकट भविष्यमै आफ्नै सुविधा सम्पन्न अस्पताल निर्माणका लागि धनगढीको राजपुरमा १७ कट्टा जग्गा खरीद गरी सकेको छ । झण्डै २० करोडको लगानीमा सुविधा सम्पन्न पूर्वाधार निर्माणका लागि वातावरणीय प्रभाव मुल्याकंन भइरहेको अस्पतालले जनाएको छ ।  

विशेषज्ञ सेवासहित धनगढीको चौराहामा केजी अस्पताल 


 

कैलालीको धनगढीमा एकपछि अर्को गर्दै अस्पतालहरु थपिदै छन् । धनगढीको चौराहामा फरक विशेषज्ञ सेवासहित केजी अस्पताल पनि सञ्चालनमा आएको छ । निजी लगानीमा विशेषज्ञ सेवासहित २०७७ सालबाट केजी अस्पताल सञ्चालनमा आएको हो । विशेषज्ञ र दक्ष चिकित्सकहरुले सेवा दिईरहेको बताउने अस्पतालका अध्यक्ष दिलबहादुर कठायत गुणस्तरीय सेवाका कारण छोटो समयमा बिरामीहरुको मन जित्न सफल भएको दावी गर्छन । अस्पतालका अध्यक्ष कठायत केजी अस्पतालले मुनाफा भन्दा पनि गुणस्तरलाई प्राथमिकता दिएको बताउँछन् । उनी धनगढीमा निजी अस्पतालहरुको संख्या थपिएसंगै यहाँका नागरिकले गुणस्तर र बिशेषज्ञ पाउन थालेको सुनाउँछन् ।

अस्पतालले स्त्रीरोग तथा प्रसूति विशेषज्ञ सेवा, हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ सेवा दिइरहेको छ ।
यस्तै नवजात शिशु, बाल रोग विशेषज्ञ सेवा, मानसिक तथा नसा रोग सेवा, जनरल सर्जरी सेवा, छाला, यौन रोग तथा सौन्दर्य सेवा र रेडियो डाइग्नोसिस तथा इमेजिङ सेवा केजी अस्पतालमा उपलब्ध रहेको अध्यक्ष कठायतले जानकारी दिए । यस्तै विद्युतीय प्रणालीबाट टाउकोको पनि उपचार गरिने उनले बताए । 

खाद्यको गोदामबाट सेवा दिँदै सारथी


 

धनगढीमै १५ शैयाको सारथी अस्पताल पनि सञ्चालनमा छ, जसमा उपलब्ध सेवा पनि यो क्षेत्रका लागि महत्वपूर्ण छ । धनगढीस्थित खाद्य संस्थानको गोदाम दुई वर्षका लागि भाडामा लिएर अस्पतालले सेवा दिइरहेको हो । अस्पतालका प्रबन्धक वेदप्रकाश जोशीसहित पाँच जनाको लगानीमा सो अस्पताल सञ्चालनमा आएको हो । १५ शय्यासहितको सो अस्पतालमा थारु समुदायमा देखिने सिकलसेल रोगको पनि उपचार सुविधा छ । जुन यहाँका अस्पतालले दिने सेवाभन्दा पृथक रहेको सञ्चालक बताउँछन् ।

उपचार सहितको कृत्रिम गर्भाधान, क्यान्सरलगायत धेरै प्रकारको विशेष सेवा सुविधा दिने लक्ष्य सहित अस्पताल सञ्चालनमा आएको प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले बताए । झन्डै पाँच करोड रुपैयाँ बढी लगानी सञ्चालनमा आएको अस्पतालमा अहिले इमर्जेन्सी कक्ष, रिसेप्सन, प्रयोगशाला लगायतको तयारी भइसकेको र अप्रेसन कक्ष, एक्सरे मेसिन लगायतका आवश्यक सेवाहरू दिइरहेको छ ।  

कसैलाई पनि सेवाबाट वञ्चित गराउँदैनौँ  : डा. सुमन भट्ट


 

धनगढीको सेती अञ्चल अस्पताल लाइनमा २०७५ सालदेखि नोभा अस्पतालले पनि यहाँका बिरामीहरूलाई सेवा दिइरहेको छ । सुदूरपश्चिम प्रदेशका जनतालाई उपचार सेवा दिने उद्देश्यले दुई करोड रुपैयाँको लगानीमा अनुभवी विशेषज्ञहरूबाट सेवा सुरु गरेको हो । सुरुमा पेट, छाती, मुटु, हाडजोर्नी, नाक, कानलगायतको सेवा सुविधा दिएको अस्पतालमा कार्यरत डा. सुमन भट्टले बताइन् ।

अस्पतालमा उपचार गर्न आएका एकदमै गरिब भए त्यस्तो बिरामीलाई अस्पतालले छुट दिर्दै आइरहेको भट्टले बताइन् । अस्पतालले अन्य बिरामीको आर्थिक अवस्था हेरेर केही सहयोग गर्दै आइरहेको छ । 

दुई करोडको लगानीमा सञ्चालन भएको नोभा अस्पतालमा अहिले मेडिसिन पेट, छाती र मुटु सम्बन्धी डाक्टर रामचन्द्र पौडेल, अर्थाेपेडिक्स हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर गोकुल काफ्ले, बालरोग विशेषज्ञ डाक्टर दिलीप प्रसाद न्यौपाने, रेडियोलोजी अन्तर्गत डाक्टर प्रज्वलन दाहाल र प्रसुती सेवा डाक्टर अनिशाा अग्रवालले बिरामीको सेवा दिइरहेकी छन् ।

निजी अस्पताल : नियमन र अनुगमनको खाँचो
एक दशयकता धनगढीमा करीव एक दर्जन निजी अस्पतालहरु खुलेका छन् । खुल्ने क्रम अझै जारी छ । निजी अस्पतालको सञ्चालनसंगै बिरामीहरुले बिशेषज्ञ सेवा पाउन थालेका छन् । सामान्य उपचारका लागि भारत तथा प्रदेश बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको छ । जटिल अप्रेशनहरु पनि धनगढीमै हुन थालेका छन् । सेती प्रादेशिक अस्पताल ४० को दशकमा स्टाफ नर्सले निमित्त मेसुका रुपमा काम गरेको ईतिहास छ । त्यही सेती प्रादेशिक अस्पतालमा अहिले ६० जनाभन्दा बढि डाक्टरहरु र सयौ नर्स र स्वास्थ्यकर्मीहरु छन् । पुरानो एक्सरे मेसिनले सेवा दिने सेती प्रादेशिक अस्पताल सिटी स्क्यान र एमआरआई सेवा केही समयभित्र थप्ने तयारीमा रहेको मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेय बताउँछन् ।

५० को दशकसम्म मेडिकल अफिसरले सबै रोगको उपचार गर्थे । हात दाँत, नाका, कान, घाटीको बिशेषज्ञ चिकित्सिकको त कसैले कल्पना पनि गर्दैनथे । तर धनगढीमा एक दशक यता दाँतको अस्पताल मात्र आधा दर्जनभन्दा बढि खुलेका छन् ।

६० को दशकसम्म प्रसुती सेवा पुरुष डाक्टरले दिन्थ्ये । महिलाहरुले आफ्ना समस्या नचाहेर पनि पुरुष डाक्टरलाई देखाउनु पथ्र्यो । तर अहिले त्यही सेती प्रादेशिक अस्पतालमा महिला डाक्टरहरु थुप्रै संख्यामा छन् ।  प्रसुती बिभागमा ६ जना चिकित्सक छौ, जसमध्ये तीन जना महिला छौ, प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. प्रतिक्षा सिंह राठौर भन्छन्, सेती प्रादेशिक अस्पतालले दैनिक २० देखि ३० महिलालाई प्रसुती सेवा दिईरहेको छ ।

४० को दशकसम्म सुदूरपश्चिममा नियमित रुपमा एक जना डाक्टर हुदैनथे,डा. सिंह भन्छन्, अहिले धनगढीमै मात्र झण्डै दुई सय डाक्टर छन् । सुदूरपश्चिमका सबैजिल्लाहरुमा समेत गरी डाक्टरहरुको संख्या अढाई सयको हाराहारी छ । सुदूरपश्चिमका नागरिकका लागि यो खुशीको कुरा हो ।  

तर सबै सेवा र सुबिधा भने अझै यस क्षेत्रका नागरिकले पाउन सकेका छैनन,सिंह भन्छन्, गेटा मेडिकल कलेज सञ्चालनमा आए कुनै पनि समस्याको उपचारका लागि बाहिर जानु पर्ने छैन । बरिष्ठ सर्जन डा. बीएस बोहरा चिकित्सकहरु सेवामुखी भन्दा पनि मुनाफा मुखी भएकोमा चिन्ता व्यक्त गर्छन । स्वास्थ्य सेवा बिशुद्ध सेवामुलक सेवा हो, डा. बोहरा भन्छन्, तर पछिल्लो समय यो पेशा मुनाफामुखी मात्र हुन थालेको त होईन भन्ने प्रश्न उठ्न थालेको छ ।

निजी अस्पतालहरु जति धेरै खुले, यहाँका नागरिकले त्यतिधेरै सेवा सुबिधा पाईरहेका छन् । यद्दपि निजी अस्पतालहरुबीच बढ्दो अस्वस्थ प्रतिस्पर्धा र बिशेषज्ञ सेवाका नाममा लुट्ने क्रम पनि बढेको छ, नाम नबताउने शर्तमा एक जना चिकित्सक भन्छन्, निजी अस्पतालहरुको बढाई चढाई प्रचार त हुन्छ । तर तिनका बिकृति अनुगमन र नियमन गर्ने निकाय नै छैन ।

मनोमानी शुल्क लिने, बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने, क्षमताभन्दा बढि बिरामी भर्ना गर्ने, हुदै नभएको सेवा र बिशेषज्ञ सेवाको प्रचार गर्न निजी क्षेत्रका अस्पतालहरु माझ होडबाजी नै चलेको छ, ती चिकित्सक भन्छन्, २५ शैयाका अस्पतालले कति बिरामी भर्ना गर्न पाउने ? हामीले हजारौ बिरामीको उपचार ग¥यौ भनेर अस्पतालले आफैले प्रचार गरिरहेका छन् ।

अस्पताल सञ्चालनका लागि भवनको मापदण्ड पुगेको छ कि छैन, अस्पताल सञ्चालन गर्दा उल्लेख गरिएको मापदण्ड अनुसार अस्पताल सञ्चालनमा छ कि छैन ? त्यो अनुमगन र नियमन गर्ने निकाय नहुदा निजी अस्पतालहरु मनोमानी ढंगले सञ्चालन भईरहेका छन् ।