जागिर छोडेर स्वास्थ्य सेवामा समर्पित जोशी

आइतबार असोज १७, २०७८/ Sunday 10-03-21
Paschim Today

धनगढी,१७ असोज । पढाई पुरा गरेपछि धेरैको सोच हुन्छ, जागिर खाने । तर डोटी पुख्र्यौली घर भइ हाल धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोल बस्दै आएका जनकराज जोशी पनि अपवाद भएन । पढाई पुरा गरेपछि परिवार नियोजनमा जागीरे भए ।

१८ वर्ष लामो जागिरे जीवनपछि भने उनले फरक बाटो रोजे । जागीर छोडे । र, करिब २० लाखको लगानीमा धनगढीमा एउटा मेडिकल पसल खोले । त्यो मेडिकल दुई वर्ष चलाए । त्यतिमै उनी सन्तुष्ट भएनन । र त्यसैलाई स्तरोन्नति गर्दै २०७० सालमा अस्पताल खोल्ने निर्णय गरे । उनको निर्णयलाई केही व्यक्तिले साथ दिए । र, २०७१ सालमा त्यही मेडिकललाई कैलाली अस्पतालको नामबाट अगाडि बढाए ।

स्वास्थ्य क्षेत्रमै लामो अनुभव बटुलिसकेका जोशी अहिले आफ्नै भवनमा अस्पताल सञ्चालन गरिरहेका छन्। अब उनी त्यसलाई १४ कठ्ठा जमिनमा विस्तार गर्दैछन् । २० करोडको लगानीमा सुदूरपश्चिमकै अत्याधुनिक सेवा सुविधा सहितको अस्पतालमा बनाउने क्रममा जुटेका छन् ।‘धनगढीमा निजि अस्पतालको आवश्यकता थियो । तर लगानी गर्न कसैले आँट गर्न सकेका थिएनन । मैले त्यो बेला अस्पतालमा लगानी गरे ’ जोशी भन्छन्, ‘तर अहिले एक दर्जन अस्पताल सञ्चालनमा आइसकेका छन् ।’

धनगढीमा रहेको सरकारी अस्पतालमा सुरुसुरुमा डाक्टर अभावले सामान्य उपचारका लागि काठमाडौँ, नेपालगञ्ज, सीमावर्ती भारतीय सहरहरुमा जानुपर्ने अवस्था थियो । तर अहिले अधिकांश उपचार सेवा यहाँका निजि अस्पतालमा सुरु भइसकेको छ । निजि अस्पताल खुल्ने क्रम सुरु भएसँगै नागरिकलाई उपचार सेवामा सहज भएको जोशी बताउँछन् ।

कैलाली अस्पतालले प्रदेशमा मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध नभएको कुरालाई मध्यनजर गरी नेपाल मेडसिटी हस्पिटलसँगको सहकार्यमा उक्त सेवा पनि सञ्चालन गरिरहेको जोशीको भनाइ छ । हालसम्म अस्पतालले करिब ९० जनाको कम्मर भाँच्चिएको सफल शल्यक्रिया गरिसकेको जनाएको छ ।