Close This

कान्छा अभियानको परिपक्व उडान

सोमबार असोज २५, २०७८/ Monday 10-11-21
Paschim Today

दीर्घराज उपाध्याय ।

अभियान खड्का धनगढीमा अटोमोवाईल्सको व्यापारमा सबैभन्दा कान्छा हुन् । तर उनको आँट, सोच र भिजन हेर्दा उनी कान्छा लाग्दैनन, लाग्छ उनी परिपक्व भई सके । गाडीको फिचर र ग्राहकको मुड दुईटै बुझेका । यस्तो लाग्छ, कसलाई कुन गाडी कसरी बिक्री गर्ने उनलाई त्यसको मनोबिज्ञान राम्रैसंग थाह छ ।

र त, उनले डिल गरेका ग्राहक सकभर खाली हात फिर्ता जादैनन । गाडी चढेरै फिर्ता जान्छन । जतिबेला गाडीको व्यापारमा उनको ईन्ट्रि भयो, त्यतिबेला उनी २५ वर्षका थिए । उनका व्यवसायिक साझेदार थिए, साथी धर्मेन्द्र सिंह । काठमाण्डौंबाट पढाई सकेर ८ वर्षअघि धनगढी फर्किदा उनका हातमा दुईटा कुरा थिए, एउटा पढाईको सर्टिफिकेट, अर्को ड्याट्सन गाडीको डिलर । न गाडी बेचेका । न उनको त्यो पुस्तैनी पेशा ।

हो, उनले गाडी बुझेका थिए । गाडी चढ्नु उनको सोख थियो, त्यही सोखलाई व्यापार बनाई दिए । भन्छन्, गाडी चढ्ने सोख थियो, गाडीकै व्यवसाय शुरु गरे । शुरुमा उनलाई धेरैले चिनेका पनि थिएनन । धनगढीमै जन्मे पनि उनी यहाँका लागि नयाँ अनुहार जस्तै थिए । कतिपयले सोध्थे–घर कहाँ हो ? उनी भन्थे–धनगढी । त्यतिले पनि चित्त नबुझेपछि फेरि प्रश्न तेस्र्याउथे–कस्को छोरा हो ? उनी भन्थे–रुप बहादुर खड्काको छोरा । त्यसपछि भने धेरैले चिनेको झै व्यवहार गर्थे ।

यसरी धेरै पटक उनले आफूलाई रुप बहादुर खड्काको छोराका रुपमा चिनाउनु पथ्र्यो । पछिल्लो ८ वर्षमा अटोमोवाईल बिजनसमा उनले दाम त कमाए । संगसंगै पहिचान पनि बनाए । नाम पनि कमाए । डेढ वर्ष ड्याट्सन बिक्री गरेका अभियानले त्यसपछि भने भक्सवागनमा हात हाले । र, त्यसको केही समयपछि महंगो मानिने मोटरसाईकल केटिएम डुक भित्र्याए । अटोमोवाईल्ससंगै ईटा भट्टामा हात हाले ।

माछा पालनलाई व्यवसाय बनाए । यो ब्राण्डले पनि बजार ले ला र भनेर अरुले आशंका गरिरहदा उनको त्यही ब्राण्डले बजारले लिईसकेको हुन्थ्यो । यही नै उनको विशेषता हो । र त, केटिएम डुक जस्तो महंगो मोटरसाईकल धनगढीमा नपत्याउदो किसिमले बेचिरहेका छन् ।

र भक्सवागनको अवस्था पनि त्यस्तै छ । उनको सकारात्मक सोच, अग्रजलाई गर्ने सम्मान र ग्राहकसंग गर्ने व्यवहारले पहिलो पटक भेट्नेहरु पनि उनीसंग प्रभावित हुन्छन । व्यापार होस वा सम्बन्ध त्यो लामो समय चल्ने भनेकै व्यबहारले हो, यही कारण सबैले माया गर्छन, अभियान भन्छन्, यही नै मेरो सफलताको आधार हो । बुवा रुप बहादुर खड्का पनि अभियानको प्रगति देखेर दंग पर्छन ।

तर फुर्किने डरले हतपती तारिफ भने गरिहाल्दैनन । भन्छन्, जे जति व्यवसाय र प्रगती गरिरहेको छ, आफ्नै बलबुतामा गरिरहेको छ । न मैले हस्तक्षेप गरेको छु । न त सहयोग । डुंगामा मान्छे तार्दै गरेको माझीलाई किनारबाट नियालिरहेको पर्यबेक्षक झै लाग्छन्, बुवा रुप बहादुर । अभियान भने माझी जस्तै । माझी प्रति पर्यबेक्षकको आशंका वा अविश्वास भने होईन । फेरि एकटकले हेरिरहनु निगरानी मानिन्छ, रुप बहादुरले भने निगरानी गरेका पनि होईनन ।

उनी त अभियानलाई लिएर त विश्वास गर्छन । र गर्व पनि । प्रिय मान्छेका गतिबिधि उसले थाह नपाउने गरी हेरिरहन मन लाग्छ । त्यसैगरी हेरिरहन्छन, रुप बहादुर, अभियानका सबै गतिबिधि र कार्यहरु । अभियानले बाटो र संगत दुईटै बिराउदैन– रुप बहादुरको यतिधेरै विश्वास छ । अभियानसंग संगत भएका आफ्ना निकटका व्यक्तिलाई कहिले काही रुप बहादुरले सोध्छन्, त्यसले कस्तो गरेको छ ह ?

प्रतिक्रिया आउछ–राम्रो गरेको छ । तव रुप बहादुर मनमनै फुरुंग हुन्छन । जुन उमेरमा युवाहरु अव के गर्ने होला ? भनेर अलमलमा हुन्छन्, वा जिन्दगीका भावी योजना बनाउन तल्लिन हुन्छन । त्यो बेला उनले व्यापारलाई जिन्दगीको क्यारियर बनाईसकेका थिए । र त, अहिले धनगढीका धेरै युवाहरुका लागि अभियान रोल मोडल बनेका छन् ।