Close This

एनआरएनए महाधिवशेन छ महिनाभित्रै सम्पन्न गरिने  

मंगलबार असोज २६, २०७८/ Tuesday 10-12-21
रासस

काठमाडौँ,२६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने  भएको छ ।  पदाधिकारीहरूको बैठकले स्थगित महाधिवेशन छ महिनाभित्रै गर्नेगरी पहल थालिएको अध्यक्ष कुमार पन्तले बताए  ।  

उक्त संस्थाकोे अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार सम्पन्न भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष पन्तले स्थगित महाधिवेशन र सम्मेलन छिट्टै सम्पन्न गर्नेगरी पहल भइरहेको जानकारी दिए । उनले संस्थालाई नेतृत्व प्रदान गरी नेपालको आर्थिक विकास र समृद्धिसँग जोडिएका विषयलाई प्रभावकारी ढङ्गले अघि बढाइउने बताए ।

परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको थियो । कानूनविद् र अन्य सम्बन्धित पदाधिकारीसँग परामर्श गरी यथाशीघ्र  महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले रासससँगको कुराकानीमा आम सहमतिका साथ छ महिनाभित्र महाधिवेशन सक्नेगरी यथाशीघ्र मिति घोषणा गरिने जानकारी दिए ।

एनआरएनएलाई प्रवासी नेपालीको साझा चौतारीको रुपमा विकास गरी नेपालमा लगानी प्रवद्र्धनको वातावरण सिर्जना गर्न सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए ।  अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बस्ने र यस्मा विशेष परिस्थितिका सम्बन्धमा छलफल गरी थप निर्णय गरिने जनाइएको छ ।

नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदका लागि कूल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।