Close This

दार्चुला तुइन प्रकरणमा भारतीय पक्षले सम्बोधन गर्ने

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय पक्षले अनुसन्धान गर्ने र त्यसको रिपोर्टको आधारमा नेपाली पक्षको चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाँच दिनको भारत भ्रमण सकेर सोमबार साँझ नेपाल फर्किएका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री प्रकासशरण महत नेतृत्वको टोलीसँग सत्तारुढ भारतीय जनता पार्टीका पदाधिकारी र सरकारका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएको महतले बताए ।

महतका अनुसार तुइन प्रकरणमा भारतले नेपालले पठाएको कुटनीतिक नोटको अध्ययन गर्ने र आफ्नो पक्षबाट अनुसन्धनान गरी नेपाली पक्षको चासो सम्बोधन गर्न तयार भएको बचन दिएको छ ।

गत साउन १५ गते भारतीय सशस्त्र बल एसएसबीले तुइनको तार काटिदिँदा नेपाली युवा धामी नदीमा खसेर बेपत्ता छन् । यस विषयमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको समितिले एसएसबीलाई दोषी देखाउँदै कारवाहीको सिफारिस गरेको थियो । समितिको रिपोर्ट आएको लामो समयपछि सरकारले भारतस्थित नेपाली दूतावासमार्फत् कुटनीति नोट पठाएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि कांग्रेसले पहिलोपटक भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने पहल थालेको हो । गत भदौ पहिलो साता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भ्रमण गरेको डेढ महिनामा महतको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य अजय चौरसिया र उदयसमशेर राणा सहभागी थिए ।

महतले भ्रमणको मुख्य उद्देश्य ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्ने भए पनि दुवै देशका सत्तारुढ दलका नेताहरुको संवादमा सरकारको विषय, प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको बताए । दुई देशले तयारी पूरा गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि हुने महतले बताएका छन् ।