असंलग्न मुलुकहरूको वैठकमा सहभागि भएर फर्किए परराष्ट्रमन्त्री खड्का

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

काठमाडौँ,२७ असोज । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किएका छन् । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए ।

बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा खड्काले बताए ।

असंलल्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा खड्काले असोज २५ गते सम्वोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिए । वैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको बताए ।