भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
धनगढी । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा प्रहरीले सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका बेला आवतजावत र भीड बढ्ने भएकाले चोरी, लुटपाट, ठगी, झैझगडा, लागूऔषध कारोबार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत प्रदेशभर ४ हजार ५ सय ५ जना प्रहरी परिचालन गरिनेछ। सम्भावित जोखिम, जनघनत्व र आपराधिक गतिविधिको अवस्थाका आधारमा प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले चाडपर्वका बेला नागरिकको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राखेर सुरक्षा योजना तयार गरिएको बताए।
‘चाडपर्वमा हुन सक्ने सम्भावित घटना रोक्न जोखिमका आधारमा प्रहरी परिचालन गरेका छौँ। बजार, राजमार्ग, सार्वजनिक स्थल, यातायातका केन्द्र र सीमा क्षेत्रमा निगरानी बढाइएको छ,’ उनले भने।
प्रहरीका अनुसार प्रदेशभर १ हजार १ सय ५१ स्थानमा ड्युटीको व्यवस्था मिलाइनेछ। मुख्य बजार, सार्वजनिक स्थल, बसपार्क, राजमार्ग, सीमा नाका र बढी भीड हुने क्षेत्रमा नियमित गस्ती तथा आकस्मिक चेकजाँच गरिनेछ।
यसका लागि सर्च अप्रेसन, कमान्ड पोस्ट र यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सवारीसाधन तथा यात्रुको जाँच गर्नेछन्।
दसैँका बेला घर फर्किने यात्रुको संख्या बढ्ने भएकाले बसपार्क र मुख्य सडकमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने कार्य नियन्त्रणमा पनि प्रहरीले ध्यान दिएको छ।
चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने चोरी, तस्करी तथा अन्य अवैध गतिविधि रोक्न निगरानी बढाइएको छ। तराईका जिल्लाका सीमा नाकामा कुकुरसहितको चेकजाँचसमेत सुरु गरिएको छ।
भारतबाट नेपाल फर्किने नेपालीको चाप बढ्ने भएकाले सीमा नाकामा यात्रुको आवागमन व्यवस्थित गर्ने र शंकास्पद गतिविधिमाथि निगरानी राख्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी बजार, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र र सार्वजनिक स्थलमा नियमित तथा आकस्मिक गस्ती बढाइएको छ। चाडपर्वमा आर्थिक कारोबार बढ्ने र मानिसहरू किनमेलमा व्यस्त हुने भएकाले चोरी, लुटपाट तथा ठगीको जोखिमलाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइएको हो।
आवश्यकताअनुसार सादा पोसाकका प्रहरी, मोबाइल गस्ती तथा आकस्मिक प्रहरी टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ।
प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका लागि १ हजार १ सय ४६ जना प्रहरी परिचालन गरिएको छ।
कैलालीका प्रमुख बजार, राजमार्ग, बसपार्क, सीमा नाका, बैंक तथा वित्तीय संस्था र बढी भीड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीमा मोबाइल तथा पैदल गस्तीका साथै सादा पोसाकका प्रहरी, क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ टोली र रिजर्भ टोली परिचालन गरिनेछ। कुनै घटना भएमा तत्काल प्रहरी परिचालन गर्न सकिने गरी टोलीलाई तयारी अवस्थामा राखिनेछ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको बताए।
‘जोखिम भएका ठाउँ पहिचान गरेर निगरानी बढाएका छौँ। कुनै घटना वा शंकास्पद गतिविधिबारे सूचना आएमा तत्काल प्रहरी परिचालन हुने व्यवस्था मिलाएका छौँ,’ उनले भने।
चाडपर्वको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले स्थानीय तह, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलगायत सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। सूचना आदानप्रदान तथा संयुक्त सुरक्षा गतिविधिमार्फत सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रहरीको योजना छ।
प्रहरीले चाडपर्वका बेला नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ। दसैँ, तिहार र छठका बेला धेरै मानिस गाउँघर जाने भएकाले घर तथा पसल लामो समय खाली हुन सक्छन्। त्यसैले बाहिर जाँदा घरका ढोका–झ्याल राम्रोसँग बन्द गर्न, छिमेकीलाई जानकारी दिन र नगद तथा बहुमूल्य सामान सुरक्षित राख्न प्रहरीले अनुरोध गरेको छ।
अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न, अनलाइन तथा फोनमार्फत हुने ठगीबाट सचेत रहन र यात्रा गर्दा आफ्ना सामानको सुरक्षा गर्न पनि प्रहरीले आग्रह गरेको छ।
कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा ट्राफिक नियम पालना गर्न प्रहरीले अनुरोध गरेको छ।
चाडपर्वलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा योजना लागू गरिएको प्रवक्ता विष्टले बताए। उनले प्रहरीको सुरक्षा व्यवस्थासँगै नागरिकको सतर्कता र सहयोग पनि आवश्यक रहेको बताए।






तपाईको प्रतिक्रिया