बैंक लुट प्रकरण : २१ लाख बढी लुटपाट, ३ जना आरोपित सार्वजनिक 

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

मोरङको कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा विराटनगर ८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र गोराहा ४ का ३० वर्षीय विजय सहनी रहेका छन् । 

उनीहरूले बैंकका सुरक्षागार्डमाथि गोली प्रहार गरेर लुटपाट गरेका थिए । बैंक लुटपाट गरेर भाग्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट को२५प ३८९९ नम्बरको मोटरसाईकल र कटुवा पेस्तोल समेत बरामद गरेको छ । तिनै जनालाई धनपालथान–२ खयरबना चोक नजिकबाट पक्राउ गरेको थियो । 

उनीहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली प्रहार गरेको थियो । सहनीको बाँया तिघ्रामा गोली लागेर घाइते भएका थिए । घाइते अवस्थामा पनि उनी भारततर्फ भाग्न खोजेका थिए । त्यही क्रममा उनलाई नियन्त्रणमा लिएको हो । रंगेली अस्पतालमा उपचारपछि उनलाई विराटनगर ल्याइएको थियो । 

सुरक्षागार्डले उनीहरूलाई रोक्न खोज्दा लुटेरा समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।लुटेरासमूहको गोली लागेर घाइते भएका सुरक्षागार्ड रङ्गेली नगरपालिका–२ का ४० वर्षीय सितल कुमालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  गार्डमाथि नै गोली लागेपछि बैंकका कर्मचारी काउन्टर छोडेर भागेपछि उनीहरूले सहज रूपमा पैसा लगेर भागेका थिए ।

उनीहरूले बैंकबाट २१ लाख ७० हजार रूपैयाँ लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।