Close This

पहिलेको दशैं र अहिलेको दशैं

शुक्रबार असोज २९, २०७८/ Friday 10-15-21
प्रमिला लम्साल

सोह्र श्राद्ध सकिए लगत्तै हाम्रो घरको ढिकी खाली हुन्थेन । तिनताक हसुलिया (हाल कैलारी गाउँपालिका १) हुँदा सोह्र श्राद्ध सकिने औशी लगतै ढिकीकै ढिकीच्याउँले दसैँ आको आभास दिलाउँथ्यो। च्युरा, चामलको पिठो, मासुमा हाल्ने गरम मसला सबै ढिकीमै कुट्ने, पिस्ने हुन्थ्यो।

नौरथा लाग्ने बित्तिकै दशैको तयारी धूमधामले गरिन्थ्यो। हजुरआमाको आदेश कडा रूपमा प्रस्तुत हुने गर्थ्योुमेरो नाति भोलि आउँदैछ यो गर त्यो गर, दाजु होस्टेल बसेर पढ्ने गर्थ्यो डोटीमा। त्यो बेलामा अहिलेको भन्दा तुलनात्मक रूपमा हाम्रो परिवार ठुलो नै थियो।

परिवार भन्दा पनि हजुरआमाको व्यवहार घरका अनि परकालाई सदैव एकमेसको हुन्थ्यो। हामी र टोलभरिका केटाकेटी समान हुन्थे आमैका नजरमा। आफ्ना छोरा छोरी भन्दा बेसी छिमेकीका छोराछोरीलाई माया गर्नु हुन्थ्यो। त्यसैले पनि होला दसैँ मात्र होइन हाम्रो घरको रौनकै बेग्लै हुन्थ्यो अरुबेला पनि । सबैलाई एउटै किसिमको अदब र मान मनितो गर्ने व्यवहार हामीमा पनि छ। सायद हजुरआमाले गरेको व्यवहार देखेर नै त होला।

हजुरबुवा जागिरको सिलसिलामा पूर्वी नेपालको खोटाङबाट कैलाली जिल्ला सम्म आई पुग्नु भएको थ्यो रे। दाजु बैनी र मैले हजुरबुवालाई देखेनौ। तर हजुरबुवाका पनि रमाइला कथा र गाथा उहाँसँग जुनियर भएर काम गरेका सहकर्मी र हजुरआमा बाट यदाकदा सुनेको मात्र हो। घरको भित्तामा एउटा फोटो मात्र छ हजुरबुवाको। हजुरबुवा कैलालीबाट खोटाङ फर्किनु भएन उल्टै आफ्ना भाइ र छोरा छोरी समेत यतै कैलाली ल्याएर बसोबास गराउनु भयो ।

खोटाङबाट जति पनि कैलाली जिल्लामा बस्नु हुन्छ धेरै जसो हजुरबुवाकै साथ लागेर आउनु भएको रे। अहिले सम्म पनि हाम्रो आउने जाने सम्बन्ध छ। हाम्रो परिवार कैलालीकै रैथाने भएर चौथो पुस्तामा छौ। चार जना फुपूहरू हुनुन्थ्यो। ठुलो बुवा हामीले अलि अलि थाह पाउँदै विराटनगर बसाइ सर्नुभयो। हजुरबुवाको कान्छो भाइको परिवार पनि यही धनगढीमा चौथो पुस्तामा हिड्दैछ। चाडबाड आएसी हाम्रो घरको रौनक नै बेग्लै हुन्थ्यो।

फुपूहरू आउने सुनेपछि हामी दुई बैनीको भुईँमा खुट्टा हुन्थ्यो। अहिले पनि हुन्छ। दाजु होस्टेल बसेर पढ्थ्यो, उ पनि दसैँ लागेपछि मात्र घर अ‍ैपुग्थ्यो। भान दाजु र दिदीका धनी हामीलाई सबैले माया गर्ने ,, बुवा कान्छो हुनाले फुपूहरूको बुवाको लागि परीकार पकाउन पनि प्रतिस्पर्धा हुन्थ्यो। ३ वटा पुस्ताका ५ परिवार । दसैँमा एक किसिमको बेग्लै रमाइलो।

हजुरआमा वैष्णव धर्म सम्प्रदायमा हुनुहुन्थ्यो। तर माछा मासु खानेलाई विरोध कहिल्यै पनि गर्नु भएन, अलग्गै बसेर पकाउनेलाई सिकाइरहनु हुन्थ्यो। हजुरबुवा मासु खान एकदमै सौकिन। हजुरबुवालाई पकाएर खुवाएकी आमैलाई अरूले पकाएको भान्सा खासै मनै पर्दैनथ्यो। पहाडमा पनि हजुरआमाको जिम्मा भान्सा कै थ्यो रे उहाँकै मुखबाट सुनेको।

थरी थरिका मासुका परीकार पकाउन सिकाउनु हुन्थ्यो मासु पकाउने भान्सेलाई। हाम्रो घरमा मासु पकाउने कोठा र नौरथामा दुर्गा पूजा गर्ने कोठा बेग्लै हुन्थ्यो। गाउँभरिका लाई डाकेर आँफै पस्केर खुवाउनु हुन्थ्यो, फूलपाती देखी दशैको दिन सम्म त झन् कसैको टुसुक्क बस्ने फुर्सद हुन्थेन। बुवाहरूको आफ्नै काम , आमाहरूको आफ्नै काम , काम गर्ने दाइ दिदिहरुको झन् धेरै काम। अष्टमीमा बोका बली दिने र नवमीमा खसी मार हान्ने गरिन्थ्यो। अष्टमीको पूजा महिलाले हेर्न पाइँदैनथ्यो हाम्रो घरमा,,अहिले पनि पाइन्न।

हजुरआमाले नै छोरी मान्छेले चण्डी पाठ गर्न हुन्छ भनेर हामीलाई पढ्न दिनु भएको। अहिले पनि दसैँमा म चण्डी पढ्छु,, अष्टमीको दिन र नवमीको दिन पूजा कोठा बाहिर नै बसेर पढ्ने गर्छु । दशैको दिनको चटारो बेग्लै फेरी ठुलालाई। हामीलाई त नयाँ लुगा लायो गाउँभरि देखाउन हिँड्यो । पूर्वी कैलाली कर्णालीको छेउ बल्चौरमा बुवाको जागिर,, कटासेबाट नयाँ लुगा आउँथ्यो ।

 धनगढी तेतिबेला सदरमुकामे काम बाहेक आउँदैनथे हाम्रा घरका, भारतको पलिया चन्दन चौकीबाट खरिदरी हुन्थ्यो, लुगा देखी दक्षिणा समेत काम गर्ने दाइ दिदी देखी हामी सम्मलाई बराबर हुन्थ्यो, सबैलाई एउटै भाँडोमा पाक्थ्यो खाना,, उभ्रेको खानेकुरा काम गर्नेलाई मात्रा खुवाउनु पर्छ भन्ने कुरा हाम्रो घरमा थिएन। अहिले पनि छैन, त्यो बेलाको चलन अहिले सम्म पनि कायम छ, हजुरआमासँग आशीर्वाद लिन टिकापुर, भजनी, धनगढीबाट आफन्तहरू जानु हुन्थ्यो,पूर्वतिरबाट पनि हजुरआमालाई भेट्नै भनेर दशैको बेला आई पुग्नु हुन्थ्यो आफन्तहरू, तेस्बेला आशीर्वादको विशेष महत्त्व हुने गर्थ्यो।

घर पुरै रमाइलो हुन्थ्यो। टीकाको दिनदेखी पूर्णिमाको दिन सम्म हजुर आमासँग आशीर्वाद लिन ओइरो लाग्थ्यो घरमा , धनगढी बसाइँमा पनि हजुरआमा हुन्जेलको दसैँ यस्तरी नै बित्यो,, अहिले हजुरआमा हुनुहुन्न, उहाँ हुँदाको दसैँ र अहिलेको दसैँमा निकै फरक छ। हजुरआमालाई सम्झन मन लाग्यो यो दसैँमा,, चाडबाडमा कामको धमाधम भए पनि केही शब्द हजुरआमाका लागि लेखम भनेर उहाँलाई सम्झेको मैले, उहाँ वैकुण्ठ बास भए पछि घरका काममा उहाँलाई नसम्झेको दिन हाम्रो शायदै होला।

हजुरआमा हाम्रो घरकी अलिखित दस्ताबेज थिइन,,चाडपर्व उही भए पनि समयले सबैलाई टाढा बनाइदिएको छ, अहिलेको समय कामकाजीको हो। सबै आफ्नै कार्यमा व्यस्त छन्, मान्छेहरू बेफुर्सदिला छन्, बिदामा घुमेर रमाउन चाहन्छन्, कुल मिलाएर भन्नु पर्दा दसैँ पुरा मिनिमाईज भइसकेको छ। बिस्तारै आफन्तहरू एक अर्कामा टाढिँदै गएका छन्। दसैँमा आफू भन्दा ठुलाबडाबाट टीका लगाउने र सम्मान गर्ने कुरामा पनि कमी आएको छ। सायद बदलिँदो समयको माग पन हुन सक्छ मेरो बिचारमा।