Close This

नेपाली अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजार नपाउनुका तीन कारण

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

वर्षौँदेखि चिया उत्पादनमा सरकारी लगानी रहे पनि नेपालमा उत्पादित अर्थोडक्स चियाले तेस्रा मुलुकका बजारहरूमा सन्तोषजनक स्थान पाउन सकेको छैन।

नेपालमा वार्षिक ६० लाख केजीभन्दा बढी परिमाणमा अर्थोडक्स चिया उत्पादन हुन्छ।

उक्त परिमाणको करिब १० प्रतिशत मात्र तेस्रा मुलुकहरूमा निर्यात हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू बताउँछन्।

नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने जिल्लाहरूमा इलाम, पाँचथर र धनकुटा मुख्य छन्।

नेपाली अर्थोडक्स चियाको तेस्रा मुलुकहरूमा बजार बिस्तार नहुनुका मुख्य तीन कारण यस्ता छन्:

१. 'अर्ग्यानिक' उत्पादनमा जोड नदिइनु

नेपाल चिया विकास निगम लिमिटेडले विगतमा प्रत्यक्ष व्यवस्थापन गर्दाको बेलामा सरकारी लगानीमा चिया उत्पादन हुने गर्थ्यो।

तर अहिले नेपालको चिया क्षेत्र पूर्ण रूपमा निजी क्षेत्रले व्यवस्थापन गरिरहेको छ।

हाल नेपालमा चिया उत्पादन गर्ने किसानको सङ्ख्या पनि ह्वात्तै बढेको छ। तर अन्तर्राष्ट्रिय बजारमा खपत हुने गुणस्तरको चिया उत्पादनका प्रयास र प्रविधि किसानसम्म पुग्न नसकेको चिया उद्योगी बताउँछन्।

नेपालमा र विदेशका मानिसहरूको चिया पिउने आनीबानीमा धेरै फरक रहेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राई बताउँछन्।

उनले भने, "विदेशमा अर्ग्यानिक नै खोज्छन्। चियाको गुणस्तर खोज्छन्। उनीहरूले खोजेको गुणस्तरको प्रमाण पेस गर्न नसक्दा नेपालको चिया बाहिर पठाउन सकिएको छैन।"

उनका अनुसार रासायनिक मल तथा विषादीरहित उत्पादन गरे पनि नेपालको 'अर्ग्यानिक' प्रमाणीकरण विदेशीहरूले मान्ने गरेका छैनन्।

राईले भने, "विदेशी प्रमाणीकरण नेपाली किसानको पहुँचमै छैन। ठूला उद्योगले प्रमाण जुटाउँछन्। सानाको पहुँच पुग्दैन।"

२. गुणस्तरीय उत्पादनको शिक्षा किसानसम्म नपुग्नु

नेपालको चियाको भारतीय बजारले मात्र नपुगेर अब तेस्रा मुलुकहरूमा बजार विस्तार अनिवार्य भइसकेको इलामको गोर्खा टि स्टेटका सञ्चालक उदय चापागाईंको भनाइ छ।

तर त्यसका लागि चियाको बोटमा हालिने मल र विषादी रासायनिक हुन नहुने उनले बताए।

उनी भन्छन्, "यी सबै कुराको ज्ञान सबै किसानसम्म पुग्नु पर्छ।"

"किसानलाई नै जैविक उत्पादनमा प्रोत्साहित गरिएन र उत्पादन जैविक भएन भने विदेश पठाएका चिया फिर्ता आउँछ।'

केन्द्रीय चिया सहकारी सङ्घका महासचिव राईका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको नेतृत्वमा चियाको उत्पादन गुणस्तर बढाउनका लागि चिया क्षेत्र अग्रसर हुन जरुरी छ।

३. 'ब्रान्डिङ' तथा 'मार्केटिङ' नहुनु

नेपालको अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारतीय बजारका मन्डीहरूमा लगेर बेच्ने गरिएको छ।

भारतीय बजारबाट नेपाली चिया भारतकै 'ब्रान्ड'मा बजारमा बेच्ने गरिएको चिया उद्योगी उदय चापागाईं बताउँछन्।

तेस्रो बजारहरूमा अहिलेसम्मको बजार विस्तार चिया उद्योगीहरूले गर्दै आएका हुन्।

अहिले भने राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अगुवाइमा नेपालको आफ्नै ब्रान्ड लोगो 'नेपाल टीः क्वालिटी फ्रम द हिमालयज' दर्ता भइसकेर २४ वटा चिया उद्योगले उक्त लोगो पाएका छन्।

उक्त लोगो प्राप्त गर्न अन्तर्राष्ट्रिय बजारमा खपत हुने गुणस्तरको चिया उत्पादन हुनुपर्छ।

तर लोगो पाएर मात्र नभएर उक्त लोगो विभिन्न देशहरूमा दर्ता गराएर बजारीकरण नगरेसम्म नेपालको अर्थोडक्स चिया विदेश निर्यात गर्न नसकिने केन्द्रीय चिया सहकारीका महासचिव राई बताउँछन्।