Close This

सल्यानका दर्जनभन्दा बढी पसल र घरमा चोरी

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

सल्यान,३० असोज । सल्यानमा दर्जन बढी पसल, घर र विद्यालयमा चोरी भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बजारका ८ पसल, घर र विद्यालयमा शुक्रबार राति अज्ञात समूहले एकैसाथ चोरी गरेको हो। दसैंको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीका तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले चोरी भएको प्रहरीले जनाएको छ।

पसल तथा घरमा लगाएको ताला फोडी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद ,सुनका गहना, रिचार्ज कार्डलगायत अन्य सामग्री चोरेर लगेका छन्। चोरले दमाचौर बजारका चूडामणि बस्नेतको मेडिकलको ताला फोडेर नगद ५० हजार, केशव केसीको पसलबाट ४ हजारको रिचार्ज कार्ड, छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका वडाध्यक्ष नेबबहादुर शाहको घरबाट १ लाख २० हजार बराबरको अढाई तोला सुन, चित्रजंग शाहको मेडिकलबाट ७९ हजार नगद र १ लाख २० हजार बराबरको अढाई तोला सुन चोरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

उनका अनुसार यमलाल जैसीको पसलबाट ५ हजार नगद, भारतीकुमारी बिकको घरबाट १२ हजार नगद, दिनेश बुढाथोकीको मोबाइल पसलबाट ४० हजार बराबरको तीन थान मोबाइल चोरेर लगेका छन्। सामूहिक रुपमा ८ पसल, मेडिकल र व्यक्तिको घरमा चोरी गरेको समूहले स्थानीय भानुभक्त माविको तालासमेत फोरेको उनले जानकारी गराए।

चाडपर्वको समयमा जुवा खेल्नेले पसल तथा व्यक्तिका घरमा चोरेको हुनसक्ने भन्दै घटनाबारे प्रहरीले अनुसन्धान बढाएको जनाएको छ। प्रहरी निरीक्षक पौडेलका अनुसार अहिले घटनास्थलमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। शंकास्पद व्यक्तिलाई सोधपुछसमेत भइरहेको उनले बताए। यस्तै बागचौर नगरपालिका–८ मा रहेको कालिका माविमा पनि अज्ञात समूहले चोरी गरेको छ।