भोटेकोशी विपत्ति : हालसम्म फेला परेका शवको संख्या : १,२०४ , उद्धार गरिएको संख्या : ११,९९३

बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
Paschim Today

काठमाडौं १८ भाद्र ।  भोटेकोशी विपत्तिको नवौं दिन । रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला परिरहेका छन् । अचानक बाढी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा छन् । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन् । अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन् ।

यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्कबाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन । सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ । त्यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म २१ हजार ३ सय १४ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार २ सय १६ जनाको खोजी कार्य भइरहेको छ ।

हालसम्म फेला परेका शवको संख्या : १,२०४

हालसम्म उद्धार गरिएको संख्या : ११,९९३

सम्पर्कविहीनको संख्या : ४,२१६

हालसम्म घाइते संख्या : ३०१

सनाखत भई बुझिलिएको शव संख्या : ९५

हालसम्म परिचालित सुरक्षाकर्मीको संख्या : २१,३१४

होल्डिङ सेन्टरमा रहेकाहरूको संख्या : ३,४५३

- स्रोत: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (बुधबार साँझ ६ बजेसम्मको अद्यावधिक सूचना )