Close This

घोडाघोडीमा आगन्तुक चराको चहलपहल बढ्यो

बुधबार मङ्सिर १, २०७८/ Wednesday 11-17-21
Paschim Today

कैलाली,१ मंसिर । कैलालीमा रहेको प्रसिद्ध घोडाघोडी तालमा आगन्तुक चराको चहलपहल बढेको छ । हिउँद सुरु भएसंगै घोडाघोडीमा आगन्तुक चराको चहलपहल बढेको हो । जाडो छल्नका लागि विभिन्न देशबाट जलपक्षी यहाँ आइ पुगेका छन् ।

यो प्रदेशको प्रसिद्ध घोडाघोडी तालसहित विभिन्न ताल र यहाँ रहेका ठूला नदीहरुमा केही पाहुना चरा बसाइँ सरेर आइपुगेको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिए ।सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रहेका तालतलैया र नदीमा पाहुना चरा आउनेक्रम सुरु भएको उनले बताए ।

डङ्गौराका अनुसार खरखरे हाँस, सिन्दुरे हाँस, ठूलो जलेवा, मालक हाँस र कल हाँस जस्ता जलपक्षी बसाइँ सरेर विभिन्न मुलुकबाट यहाँ आइपुगेका छन् । ‘जाडो छल्न बसाइँ सरी आउने चरा अक्टोबर अन्तिमबाट यहाँको तालतलैयामा आउन सुरु भएको हो’, उनले भने ‘चराहरु आउनेक्रम मङ्सिर १५ सम्म चलिरहन्छ । यहाँ आउने पाहुना चराको सङ्ख्या अझै बढ्छ ।’ 

चिसो बढ्नुभन्दा अगाडि नै पाहुना चराहरु बसाइँ सरेर आइपुग्ने गरेको बताइएको छ । यो प्रदेशको विभिन्न सिमसार र नदीनालामा मङ्गोलिया, साइबेरिया, रुसको केही स्थान, किर्गिस्तान र ताजिकिस्तानबाट चराहरु जाडो छल्नका लागि अस्थायी रुपमा यहाँ आउने गरेका छन् । बसाइँ सरेर आउनेमा जलपक्षी बढी र केही सिकारी चराहरु रहने गरेको नेपाल पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) का प्रतिनिधिसमेत रहेका डङ्गौराले बताए ।

विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा ६४ प्रजातिका जलपङ्क्षी पाइने गरेको अभिलेख छ। जसमध्ये २९ देखि ३२ प्रजातिका जलपक्षी नियमित रुपमा देखिन्छन् । करिब २९ प्रजाति भने पाहुनाको रुपमा आउने गरेको जनाइएको छ ।

यहाँका तालतलैयामा कैलेटाउके हाँस, श्वेताँखीभौ, खरखरे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँरे टिमटिमा लगायतका चरा आउने गरेका छन् । बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख रहेको प्रजाति हो ।‘यो बेला मङ्गोलिया, साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डङ्गौरा भन्छन्–‘त्यहाँ अत्यधिक जाडो सुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै हाम्रो देशको घोडाघोडी लगायतका तालतलैयामा पुग्ने गर्दछन् ।’

यहाँ आएका आगन्तुक जलपङ्क्षी फागुन मसान्त (मार्च पहिलो दोस्रो साता) सम्म रहने गरेको बताइएको छ। गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरि पहिलेकै ठाउँतिर लाग्ने गरेका छन् । पाहुना चराहरु आएसंगै जलासयहरुमा चराको चहलपहल बढेको छ । चराहरु पानीमा खेलेको, उडेको दृश्यले मनै लोभ्याउने गरेको छ । नेपालमा २०० प्रजातिका जलपक्षी पाइन्छन् । जसमध्ये, ५२/५३ प्रजाति बसाइँ सरेर आउने गरेको जनाइएको छ । 

कैलालीको राखौना, चम्रहिया, घोडताल, सोनियाँ रुपिया, महदेवा, कोइलही, कमल पोखरी, नैनी ताल र कर्णाली, मोहना नदी तथा डल्फिन क्षेत्रमा हिउँदे आगन्तुक चरा देखिने गर्दछन् । यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थित कालीकिच, रानी, सिकारी ताल र संरक्षित क्षेत्र बाहिर रहेको बन्दा ताल, पुरैनी ताल, महाकाली नदी, चौधर नदीमा पाहुना चरा देखा पर्ने गरेको डङ्गौराको भनाइ छ ।

तालतलैयाको संरक्षण नहुनु, तालमा मिचाहा प्रजाति बढ्नु, चोरी सिकार लगायतका कारणले जलपक्षी सरक्षणमा चुनौती पनि थपिदैं गएको छ । सिमसार क्षेत्रमा मिचाहा प्रजाति बढेर चराको बासस्थान नै बिग्रिने गरेको छ । बासस्थान बिग्रेपछि चराहरु कम देखिने गरेको चराविज्ञ डङ्गौराले बताए ।