Close This

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

स्टार खेलाडीले भरिएको पेरिस सेण्ट जर्मेनलाई पराजित गर्दै म्यानचेष्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । बुधबार राति सिटीले घरेलु मैदान एतिहादमा पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

भ्रमणकारी टोली पिएसजीका केलियन एमबाप्पेले खेलको ५०औँ मिनेटमा टोलीको लागि अग्रता लिएका थिए । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा बराबरी गोल गरे भने ग्रावियल जेसुसले ७६ मिनेटमा २–१ को अग्रता बनाए ।स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिएपनि सफल भएनन् ।

यस समूहबाट सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनायो । समुह ए को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५–० ले पराजित गर्‍यो । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्‍यो । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ ।