सुदूरपश्चिम सरकारले दिएको आइसीयु अस्पतालमै थन्कियो

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today
फाइल तस्विर

धनगढी,९ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको विभिन्न अस्पतालमा जडान गरेको आइसीयु अस्पतालमै थन्किएको छ ।

अस्पतालहरुमा दक्ष जनशक्ति नभएका कारणले प्रदेश सरकारले दिएको आइसीयु सञ्चालनमा नआइ अस्पतालमै थन्किएको हो । कोरोना महामारी सुरु भएपछि गतवर्ष प्रदेश सरकारले प्रदेशका विभिन्न अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु स्थापना गरेको थियो । तर, दक्ष जनशक्ति नभएका अस्पतालमा एक वर्षदेखि आइसीयु थन्किएको छ ।

जिल्ला अस्पताल दार्चुला, बैतडीमा स्थापना गरिएको आइसीयु सञ्चालनमा आउन नसकेको हो । कोरोना सङ्क्रमितको उपचारमा सहज होस भनेर प्रदेश सरकारले आइसीयु सहयोग गरेको थियो । प्रदेश सरकारले आइइसीयु दिए पनि जनशक्ति नपठाउँदा सञ्चालन नभएको दार्चुला अस्पतालका प्रशासन अधिकृत आनसिंह डागाले बताए । उनले जनशक्ति बिना आइसीयु थन्किएको उल्लेख गरे ।

कोरोना महामारीको दोस्रो चरण सुरु हुने चर्चा भएपछि गत मङ्सिरमा प्रदेश सरकारले अस्पतालहरुलाई आइसीयु दिएको थियो । तर, जडान भएको एक वर्ष पुगिसक्दा पनि जनशक्ति नपठाइएका कारण आइसीयु सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोशीले जानकारी दिए।

उनले अस्पतालमा विरामीको चाप पनि धेरै नरहेको उल्लेख गरे ।प्रदेशको विभिन्न जिल्लाका जिल्ला अस्पतालाई दिइएको आइसीयु सञ्चालनका लागि प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको तयारी गरिरहेको जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिले १० जना डाक्टर र १० जना नर्स गरी २० जनालाई भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि नेपालगञ्ज मेडिककल कलेजमा तालिममा पठाइएको छ । सामाजिक विकासमन्त्री लालबहादुर खड्काले एक महिनाभित्र सबै अस्पतालमा आइसीयु सञ्चालन हुने बताए ।

पहाडी जिल्लामा उपचारमा सहज होस भनेर प्रदेश सरकारले आइसीयु दिइएको उल्लेख गरे । प्रदेश सरकारले सबै जिल्लाका अस्पतालहरुमा आइसीयु स्थापना गरेको थियो । केही अस्पतालमा आइसीयु सञ्चालनमा आइसकेका छन् ।