Close This

सबैभन्दा बढी स्वेतमाथा कलहाँस कैलालीमा फेला

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today
कर्णाली नदी र मोहना नदीको दोभानमा देखिएका स्वेतमाथा कलहाँस । तस्बिर : हिरुलाल डङ्गौरा

कैलाली,९ मंसिर । फिरन्ते प्रजातिका रुपमा चिनिने स्वेतमाथा कलहाँस कैलालीमा पहिलो पटक देखा परेका छन् ।टीकापुर नगरपालिकास्थित श्रीलङ्का टापु भनेर चिनिने कर्णाली र मोहना नदीको दोभानमा स्वेतमाथा कलहाँस पहिलो पटक देखा परेका हुन । यसअघि, चितवनभन्दा पश्चिमतिर यो प्रजातिको चरा देखिएका थिएनन् ।

केही दिन अगाडि सो टापुमा छ वटा स्वेतमाथा कलहाँस आफूले अभिलेख गरेको चरा संरक्षणकर्मीसमेत रहेका चराविद हिरुलाल डङ्गौराले जानकारी दिए । यो संख्या नेपालमा देखिएको स्वेतमाथा कलहाँसको सबैभन्दा बढी हो ।

यसअघि, सबैभन्दा बढी चार वटा चितवनमा यो चरा देखिएका थिए । सन २०१८ मा चितवनस्थित राप्ती नदीको दोभानमा अभिलेख गरिएको सो संख्या नेपालमा सबैभन्दा बढी थियो । चितवनभन्दा पश्चिमतिर पहिलो पटक यहाँ देखिएको स्वेतमाथा कल हाँसको सङ्ख्या नै अब नेपालका लागि सबैभन्दा बढी रहेको डङ्गौराले उल्लेख गरे ।

नेपालका लागि फिरन्ते प्रजाति मानिने यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रातो सूचीमा सामान्य अवस्थामा छ । तर, हाम्रो मुलुकमा अत्यन्त थोरै ठाउँमा र थोरै सङ्ख्यामा देखिने गरेको डङ्गौराले उल्लेख गरे । 

हाम्रो मुलुकमा श्वेतामाथा कलहाँस पहिलो पटक सन २००४ मार्च २४ मा कोशी टप्पुमा अभिलेख गरिएको थियो । त्यो बेला जम्मा एउटा स्वेतमाथा कलहाँस देखिएको थियो । त्यसपछि सन २००५ मा कोशी टप्पुमै सो चरा प्रजाति देखिएको थियो ।  सन २०१७ को डिसेम्बर ९ मा ऋषी बरामले सोही चरा प्रजातिलाई पोखरामा अभिलेख गरेका थिए ।

यो चरा प्रजाति चीन, ओमान, कतार, साउदी अरेबिया, पाकिस्तान, म्यानमार, भारत, कोरिया, जापान, फ्रान्स, जर्मनी, इजरायल, रोमानिया लगायत विश्वका विभिन्न मुलुकमा पाइने गरेको वर्ड लाइफ इन्टरनेशनलमा उल्लेख छ ।

स्वेतमाथा कलहाँस नेपालमा बसाइँ सरेर आउने चरा प्रजाति हो । हिउँद लागेपछि अहिले कैलालीको तालतलैया, नदीनालामा संयौ माइल टाढाबाट बसाइँ सरेर आउने जलपक्षीको चहलपहल बढेको छ ।