सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने अशोक र अस्मितालाई एसपिए कलेजको पूर्ण छात्रवृत्ति

शनिबार असार २१, २०८२/ Saturday 07-05-25
Paschim Today

धनगढी: एकातर्फ आमाको असामयिक मृत्युको पीडा, अर्कातर्फ एसईईमा उच्चतम सफलता।

 यस्तै विषम परिस्थितिमा पनि आफूलाई सम्हालेर थप शैक्षिक उत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ अशोक र उनकी बहिनी अस्मिता धनगढीको एसपिए कलेजमा भर्ना भएका छन्।

 धनगढी-१३ बोराडाँडीका अशोक अवस्थीले त्रिभुवन माध्यमिक विद्यालयबाट एसईईमा ४.० जिपिए ल्याएका हुन्। अशोक र उनकी जुम्ल्याहा बहिनी अस्मितालाई एसपिए कलेजले विज्ञान संकायमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।

गत जेठ २९ गते अशोककी आमा पार्वती अवस्थीलाई सर्पले टोक्दा निधन भएको थियो। उनी गोदावरी नगरपालिका–११ स्थित शारदा माध्यमिक विद्यालयमा शिक्षिका थिइन्। आमाको मृत्युको गहिरो पीडाबीच एसईईको नतिजा सार्वजनिक भएको थियो।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत अशोक अंग्रेजी माध्यमका विद्यार्थी हुन्। अशोकले २०७९ मा कक्षा ८ मा ३.६८ जिपिए ल्याएर नगर टप गरेका थिए। कक्षा ८ को नतिजाले नै अशोकलाई थप गम्भीर भएर पढ्न प्रेरित गरेको अशोक स्वयंले बताएका छन्। पढाइमा अझै गम्भीर ध्यान दिएर एसईईमा ४ जिपिए ल्याउने सपनाको सुरूवात कक्षा ८ को नतिजाबाट भएको अशोकले बताउने गरेका छन्।

अशोककी जुम्ल्याहा बहिनी अस्मिता अवस्थीले पनि एसईईमा ३.६१ जिपिए हासिल गरेकी छिन्। दुबैजनाको शैक्षिक उत्साह देखेर एसपिए कलेजले पूर्ण छात्रवृत्ति प्रदान गरेको क्याम्पस प्रमुख योगराज गौतमले बताए।

क्याम्पस प्रमुख गौतमले काठमाडौंकै जस्तो शैक्षिक वातावरण प्रदान गरेर र विद्यार्थीहरूलाई उच्चतम उपलब्धि हासिल गराउन एसपिए कलेज प्रतिबद्ध रहेको बताए।

एसपिए कलेज विगतदेखि नै सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको संस्था हो। कलेजका अनुसार अशोक र अस्मिताको संघर्ष, लगनशीलता र क्षमताले समाजलाई सकारात्मक सन्देश दिएकाले पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका प्रवन्ध निर्देशक सुभाष शाहीले बताए।

अशोक र अस्मिताका हजुरबुबा लोगराज अवस्थीले नाति- नातिनी आफैंले एसपिएमा पढ्ने मनस्थिति बनाएको बताए। उनले भने, "दुबैले एसपिएमा पढ्ने इच्छा गरे, हामीले उनीहरूलाई स्वतन्त्र निर्णय गर्न दिएका हौँ। दुबैले एसपिएमा पढ्ने भनेपछि हामीले पनि सहमति जनाएका हौँ।"