Close This

नाकाबाटै सम्पर्कविहीन हुन्छन् संक्रमित

मंगलबार माघ ४, २०७८/ Tuesday 01-18-22
Paschim Today

धनगढी,४ माघ । कोरोना पोजेटिभ देखिएकाहरु सीमा नाकाबाटै भाग्न थालेका छन् । त्रिनगर भन्सार नाकामा एण्टीजेन परिक्षण गर्दा पोजेटिभ देखिएकाहरु सम्पर्कविहीन हुने संख्या बढ्दो छ । एण्टीजेन पोजेटिभ देखिएका १५–२० जना दैनिक सम्पर्कविहीन हुने गरेका स्वास्थ्य परिक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

भारतबाट फर्केनेको संख्या बढेसँगै संक्रमण फेला पर्ने दर पनि केही दिनयता तीव्र रुपमा बढीरहेकाको छ । भीड बढेका बेला संक्रमण देखिएकाहरु सम्पर्कविहीन हुने गरेका त्रिनगनर नाकाको हेल्थ डेस्कका इन्चार्ज अहेब गणेश साउँदले बताए ।

 ‘दैनिक १५–२० जना संक्रमित सम्पर्कविहीन हुन्छन् । भीडभाड धेरै हुन्छ, यत्रो भीडमा को कतिबेला छलेर जान्छ थाहै हुँदैन ।’ अहेब साउँदले भने, ‘त्यसरी जानेहरु सार्वजनिक यातायातमै घर जान्छन् होला, यसले संक्रमण फैलने जोखिम बढेको छ ।’ कतिपय रिपोर्ट आउनुअघिनै र कतिपय रिपोर्ट लिएर सम्पर्कविहीन हुने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

एण्टीजेन जाँच गर्ने स्थान नजिकै पोजेटिभ देखिएकालाई तत्काल राख्न त्रिपालको टेण्टभित्र बस्ने व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको भीड बढेका बेला टेण्टको छेउसम्मै परिक्षण गर्नेहरुको लाइन लाग्छ । भीड बढ्न थालेसँगै संक्रमितहरु बेपत्ता हुने क्रम बढेको हो ।

भारतबाट फर्कनेको घुँइचोले नाकामा व्यवस्थापन अस्तव्यस्त छ । भीडमा परिक्षण नगरेर जानेको संख्या पनि उत्तीकै छ । नाकामा सुरक्षाकर्मीको संख्या कम हुँदा भीड व्यवस्थापन गर्न र संक्रमितलाई रोकेर राख्न हम्मेहम्मे भइरहेको देखिन्छ । त्रिनगर नाकामा सडकभन्दा केही तल त्रिपालको टेण्ट बनाएर एण्टीजेन परिक्षण गर्न हेल्थ डेस्क राखिएको छ । कतिपय व्यक्ति परिक्षण नगरेरै गइरहेका छन् ।

डेस्कमा भीड व्यवस्थापनमा दुई जनामात्रै सुरक्षाकर्मी खटिने गरेकाले व्यवस्थापनमा समस्या भइरहेको अहेब साउँदले बताए । ‘दुई जनाले भारतबाट आउनेको लाइन व्यवस्थापन गर्ने कि पोजेटिभ देखिएकालाई रोकेर राख्ने ?’ उनले भने, ‘लाइन व्यवस्थापनमा रेडक्रसका स्वयम् सेवक पनि खटिएका छन् तर धेरैले प्रहरीबाहेक अरुलाई टेर्दैनन् ।’ यात्रु पाउने आशमा नाकासम्मै पुग्ने रिक्सा चालकले पनि संक्रमितलाई भगाउन मद्दत गर्ने गरेका उनले बताए । नाकामा केहीदिनयता परिक्षण दर भने बढाइएको छ ।

नाकामा एण्टीजेन पोजेटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका–१५, कनरीस्थित आइसोलेसनमा लग्ने व्यवस्था गरिएको छ । संक्रमित बोक्न एउटा एम्बुलेन्स खटाइएको छ तर उक्त आइसोलेसनमा जानेको संख्या न्यून छ । कतिपय घरमै आइसोलेसनमा बस्ने भनेर जाने गर्छन् ।

कैलाली, कञ्चनपुर घर भएका संक्रमितलाई सम्बन्धित वडाको सिफारिसमा घर पठाउने गरिएको छ । त्यसरी जान चाहनेलाई निजि गाडीमा मात्र जान दिने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । तर उनीहरु कसरी गए र घरमा आइसोलेसनमा बसे÷बसेनन् त्यसको जानकारी कुनै निकायमा छैन । नाकामा भइरहेको लापरबाहीले समुदायमा पनि संक्रमण फैलने जोखिम बढेको छ ।