Close This

रापती नदीले 'गाउँ छाडेर नजा' भनिरहेकाे थियाे, मलाई समुद्रपारि पुग्नु थियाे

सोमबार माघ २४, २०७८/ Monday 02-07-22
जीवा लामिछाने

२० सेप्टेम्बर, १९८६

रातभरि वर्षा पिएर रापती नदी बढेर मात्तिएको थियो । मानौँ, वर्षा र रापतीलाई म सोभियत संघ जाँदै छु भन्ने थाहा छ र उनीहरूलाई मेरो बाटो छेक्नु छ । रापती मलाई गाउँ छोडेर नजा भनिरहेछ ।

मेरो बढ्दो उमेर थियो । कलिलो अनुहारमा दाह्रीजुँगा दिनदिनै बढ्दै र बाक्लिँदै थिए । मेरा सपना र कल्पना पनि बढ्दै र बाक्लिँदै थिए । बाक्लिँदै गएको सपनालाई अग्लो पनि बनाउन म विदेश पढ्न जाँदै थिएँ । त्यो पनि संसारको सबैभन्दा ठूलो देशमा ।

त्यो बेलाको शक्तिशाली देश सोभियत संघमा उच्च शिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा दिएको छात्रवृत्तिको आवेदन स्वीकृत भइसकेको थियो । इन्जिनियरिङ पढिरहेको एक युवालाई त्यही विषयमा विदेशमा उच्च शिक्षा पाउनु, त्यो पनि महाशक्ति राष्ट्रको कुनै विश्वविद्यालयमा– त्यहाँभन्दा खुसीको कुरा के हुन सक्छ एक गाउँले किसानको छोरालाई ? यही खुसी बोकेर म दुई दिनअघि घर आएको थिएँ । मैले रुसमा छात्रवृत्ति पाएको खबर सुनेर घर गुलजार भयो । आफन्त र छिमेकी पनि छक्क परे । दुई दिनमै जाने कुराले आमाका आँखा रसाए । तर, त्यो आँसु मेरो सपनाले सुकाउन खोज्दै थियो ।

दुई दिनअघिको सामान्य रापती कसरी असामान्य भयो ? असमयमा परेको पानीले असमेल बाढी ल्याइदियो । किनारमा बसेर बाढी हेर्दै गाउँलेहरू छक्क पर्दै थिए । बुढापाकाहरू भन्न थाले, 'रापती यसरी कहिल्यै बहुलाएको थिएन ।'

जतिजति रापती बहुलाउँदै थियो, उति मेरो सपना बाढीझैँ धमिलिँदै थियो । रापतीको पानी त एक दिन सङ्लिन्छ तर मेरो सपना सङ्लिन्छ कि सङ्लिँदैन, मलाई थाहा थिएन ।

तीनतिर राष्ट्रिय निकुञ्ज र उत्तरतर्फ रापतीले घेरिएको हाम्रो गाउँ पदमपुरबाट निस्कने बाटो रापती तरेपछि मात्र सुरु हुन्थ्यो । रापती बढेको बेला हामी सबै गाउँमै बन्दी हुन्थ्यौँ । त्यसरी बन्दी हुनुपर्ने बाध्यताले धेरैको साइत रोकिएको थियो । धेरै बिरामीलाई अस्पताल पुर्‍याउन नपाएर उपचार रोकिएको थियो । त्यसरी उपचार रोकिँदा कतिपयको जीवन नै रोकिएको थियो ।

त्यही मेसोमा रापतीको बाढीले एक गाउँले युवाको उच्च शिक्षा अध्ययन गर्न जाने सपना रोक्दै थियो । म भने मनमनै आँखाअगाडि उर्लिइरहेको बाढीलाई भन्दै थिएँ, 'जसरी तँलाई उर्लेर नारायणी नदी र त्यसपछि गङ्गा नदीमा मिसिँदै समुद्रसम्म पुग्नु छ, त्यसरी नै मलाई पनि उडेर समुद्रपारि जानु छ । यदि तँलाई तरेर जान सकेँ भनें म तँ पुग्ने समुद्र पनि नाघेर जानेछु ।'

मनको एउटा पाटोमा डर थियो भने अर्को पाटोमा आँट । डर र आँटको युद्धमा कसको जित हुने हो, हेर्दै थिएँ । आँटको जित भयो भने आँटले बाढीसँग पनि जुध्नुपर्छ । त्यसमा पनि आँटको जित भयो भने मेरो जीवन र सपनाको सम्भवतः जित हुनेछ ।

सामान्य अवस्थामा डुङ्गाबाट पार गर्न सकिने रापती त्यस दिन कसैले पार गर्ने आँट गरेनन् । पर्सिपल्ट रुस उड्ने सबै कुरा तय भइसकेको थियो । राजधानी पुगेर तयारीका लागि गर्नुपर्ने केही काम बाँकी नै थिए । साथीहरूलाई सम्पर्क गर्ने कुनै माध्यम थिएन । त्यही दिन नहिँडी भएको थिएन । बाढी हिँड्ने दिन र म हिँड्ने दिन एउटै थियो । त्यस्तो अवस्थामा मलाई बाढी पार गरेर जानु थियो । सपना र लक्ष्यका दुई पङ्खले पौडेर भए पनि बाढी तर्नैपर्छ ।

'आजै नहिँडे म रुस जान पाउँदिनँ । आज नगई हुँदैन,' आँटले जित्दै गएपछि मैले ढिपी गर्न थालेँ । गाउँभरि धेरैले यो कुरा थाहा पाए । जतिसुकै ढिपी गरे पनि त्यस्तो भेल तर्न कसले पो स्वीकृति दिन्थ्यो र ? म हतास र निराश हुँदै गएँ ।

लामो छलफलपछि अन्ततः मेरो परिस्थितिलाई महसुस गरेर पुराना परिचित गाउँले दाइ छन्नु महतोले मलाई नदी तार्ने आँट देखाए । तर, बाले मलाई एक्लै पठाउन मान्नुभएन । आफू पनि मसँगै जाने जिद्दी गर्न थाल्नुभयो । मैले उहाँलाई नजानका लागि सम्झाउने प्रयास गरेँ तर मान्नुभएन । बा र म छन्नु दाइलाई आ–आफ्नो प्राण जिम्मा लगाएर डुङ्गामा बस्यौँ । हाम्रो कुशलताको कामना गर्दै गाउँलेहरूले नदी किनारमा उभिएर हात हल्लाए ।

रिसाएको हात्तीजस्तो उर्लिएको भेलमा डुङ्गा बाढीमाथि चिप्लिँदै पारि पुग्ने प्रयत्नमा थियो । बाढीले डुङ्गासँगसँगै हामीलाई पनि बाढी नै बनाउने प्रयत्न गर्दै थियो । नदी किनारमा उभिएर हामीलाई पारि पुगेको देख्न आतुर गाउँलेहरू डुङ्गा ढलपल–ढलपल गर्दा आकाशतिर हेरेर सायद भगवान्‌को नाम पुकार्दै हात जोडेर हाम्रो कुशलताको कामना गरिरहेका हुँदाहुन् ।

जब हामी नदीको बीचमा पुग्यौँ, मलाई लाग्न थाल्यो, यसरी ज्यान नै दाउमा राखेर मैले के गर्न खोजिरहेको छु ? म हिँड्ने दिन नदीले किन यसरी मेरो बाटो छेकिरहेको छ ? ज्यानै जोखिममा राखेर नदी पार गर्दा लाग्यो, आफूले लिएको हठपूर्ण निर्णय ठूलो दुर्घटनामा परिणत भइदियो भने के होला ? मैले आफूलाई मात्र होइन, बाको ज्यानलाई पनि जोखिममा राखेर बाढी तर्न बाध्य बनाएको थिएँ । केही भइहाल्यो भने मैले गलत निर्णय गरेँ भनेर पश्चात्ताप गर्न पनि पाउनेछैन । केही भएन भने ठीक हुनेछ र त्यो मेरो हठ साहसी हुनेछ । लाग्यो, ठीकबेठीक पनि परिस्थितिसँग जोडिएको हुँदो रहेछ । कहिलेकाहीँ ठीक र बेठीक पनि परिणामले निर्धारण गर्छ । मेरो मनमा त्यति बेला ठूलै द्वन्द्व चल्दै थियो ।

मलाई त्यो दिन अहिल्यै भएजस्तो लाग्छ, नदी तरेपछि सबै गाउँले खुसी भएको दिन । धेरै परसम्म पुग्दा पनि बिदाइको हात हल्लाइरहेको क्षण । आज आएर मलाई महसुस हुन्छ, रापती नदीले मेरो बाटो छेक्नुको कारण, गाउँलेहरूले बिदाइ गरेको दृश्यको अर्थ र ज्यानलाई कमजोर नाऊमा समर्पण गरेर नदी पार गर्नुको गूढार्थ ।

जीवनका कतिपय क्षणले भविष्यको कुरा पनि सङ्केत गरिरहेको हुन्छ भन्ने कुरा अहिले फर्किएर अनुभव गरिरहन्छु ।  

०००

२२ सेप्टेम्बर, १९८६

सोभियत संघको राजधानी मस्को पुग्दा मौसम केही चिसो थियो । रुस असाध्य ठण्डी देश । हिउँ पर्ने मौसम सुरु हुन झण्डै एक महिना बाँकी थियो । एउटा ठूलो साम्राज्यझैँ विश्वभरि आर्थिक र राजनीतिक प्रभाव विस्तार गरेको सोभियत संघका विषयमा म थोरै मात्रै जानकारी राख्थेँ । लियो टोलस्टोय, म्याक्सिम गोर्कीजस्ता विश्वप्रसिद्ध केही लेखक र निःशुल्क रूपमा काठमाडौंमा उपलब्ध हुने सोभियत भूमिजस्ता पत्रिका पढ्दा सोभियत संघका विषयमा मैले यो एउटा सपनाको मुलुक हो भनेर चित्र कोरेको थिएँ ।

जङ्गलबीचको एउटा गाउँमा हुर्किएको एक युवक एकैपटक विश्वशक्ति राष्ट्रको राजधानी शहरमा पाइला टेक्दै थियो । शहरका फराकिला र चिल्ला सडक, त्यसको दुवैपट्टि ठडिएका स्टालिनकालीन विशाल भवनहरू, जमिनमुनि बिछ्याइएको रेलको विशाल नेटवर्क सेवा, ठूलठूला पार्क र सुनमा सुगन्धझैँ शहरमा अझ सुन्दरता थपिरहेको नागबेली मस्को नदीले जोकोहीलाई पनि चकित पार्छ । म त्यसको अपवाद रहिनँ ।

सोभियत संघमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूले एक वर्ष अनिवार्य रुसी भाषा सिक्नुपर्थ्यो । सोभियत शिक्षा मन्त्रालयले मलाई भाषा अध्ययनका लागि मस्कोबाट २ सय २५ किमी दूरीमा रहेको तुला प्रान्तअन्तर्गत नोभोमस्कोभ्स शहरको मेन्डिलिएभ केमिकल टेक्नोलोजी विश्वविद्यालय पठायो । तुला त्यही प्रान्त हो, जहाँ विश्वविख्यात रुसी लेखक लियो टोलस्टोयको जन्मघर र विशाल मौजा रहेको छ । त्यो मेरा लागि यस्तो विद्यालय थियो, जहाँ मैले सबै जाति, भाषा, धर्म र सम्प्रदायका मानिस समान हुन् भन्ने व्यावहारिक ज्ञान आर्जन गरेँ ।

बढेको उमेरमा नयाँ भाषा सिक्न दुरुह हुन्छ । तर, रुसी शिक्षकको भाषा सिकाउने तरिका र मिहिनेतका कारण एक वर्षमा मैले भाषामा राम्रो पकड बनाएँ । उसो त म विद्यालय र कलेजमा पनि राम्रै विद्यार्थी थिएँ । सुरु गरेको काममा मिहेनत गर्ने बानी सानैदेखिको हो । रुसमा पनि यो बानीले भाषा र इन्जिनियरिङ विषय अध्ययन गर्न सहयोग पुर्‍यायो ।  

एक वर्ष भाषा संकायको अध्ययनपछि सोभियत शिक्षा मन्त्रालयले देशकै प्रसिद्ध मस्को सिभिल इन्जिनियरिङ इन्स्टिच्युटमा अध्ययन गर्न पठाउनु नै मेरा लागि अवसरको ढोका खोलिदिएको रहेछ । जुन अवसर सोभियत संघका अरु विश्वविद्यालयमा पढ्न पुगेको भए सायद सम्भव हुँदैनथ्यो होला । त्यहाँ म पुग्नुअघि नै १० जना नेपाली विद्यार्थी इन्जिनियरिङ विषयका विभिन्न फ्याकल्टीमा अध्ययन गर्दै थिए । उनीहरूको सहयोग र अनुभव पछिल्ला दिनमा मेरा लागि कोसेढुङ्गा सावित हुन गयो ।

इन्जिनियरिङ अध्ययन गर्दै जाँदा मेरो मनमा तीनतिर जङ्गलले घेरिएर रहेको मेरो सानो गाउँ र त्यस गाउँमा दु:खजिलो गरिरहनुभएका बाआमा, दिदी, दाजुहरूको खेती किसानी र पढ्दै गरेको भाइको भविष्यप्रतिको जिम्मेवारी बोध बारम्बार भइरहन्थ्यो ।

म सोभियत संघ पुग्नुभन्दा केही समयअघि मात्रै सोभियत कम्युनिस्ट पार्टीको महासचिव पदमा बहुआयामिक युवा नेता मिखाइल गोर्वाचोभ विराजमान भएका थिए । सोभियत संघलाई पुरानै ढर्राबाट अघि बढाउन सम्भव छैन भन्ने तथ्यबोध गरेर उनले सुरु गरेको पेरेस्त्रोइका (आर्थिक पुनर्संरचना) र ग्लास्नोस्त (वैचारिक उदारपन) नामको सुधारवादी योजनाको असर म पढ्ने विश्वविद्यालयमा पनि अनुभूत हुन थालेको थियो ।

सोभियत नागरिकहरूले सहकारीमार्फत ससाना निजी व्यवसाय सञ्चालन गर्न सुरु गरिसकेका थिए । सोभियत संघले सैनिक उपकरण उत्पादन र अन्तरिक्ष विजयी अभियानमा अमेरिकासँग टक्कर लिने क्षमता राखे पनि मानिसका दैनिक उपभोग्य सामग्रीको त्यहाँ सधैँ अभाव हुने गर्थ्यो । त्यहाँ उत्पादन हुने उपभोग्य सामग्रीहरू पनि कमसल गुणस्तरका हुन्थे ।

अग्रज साथीहरूबाट थाहा पाएँ, पश्चिमी मुलुकमा उत्पादित अडियो, भिडियो, म्युजिकल सिस्टम, क्यासेट प्लेयर, टीभीजस्ता उपभोग्य इलेक्ट्रोनिक्स सामान र पश्चिमी देशका ब्रान्डेड लत्ताकपडाहरू सोभियत नागरिकहरूले निकै मन पराउँछन् । उनीहरूको चाहना पूरा गर्न विश्वविद्यालयमा दिइने ग्रीष्मकालीन छुट्टीमा हामीले युरोप यात्रा गर्ने र फर्किंदा एकसरो पश्चिमी ब्राण्डेड लुगाकपडालगायत दैनिक उपभोगका विद्युतीय सामग्री लिएर आउने गर्न थाल्यौँ, अनि त्यस्ता सामग्री मस्कोका पसलहरूमा बेच्न थाल्यौँ ।

अहिले सम्झन्छु, विदेशी विद्यार्थीलाई दिइएको सुविधालाई उपयोग गर्दै सुरु गरेको यो सामान्य व्यापार नै मेरा लागि व्यवसायको ढोका खोल्ने चाबी रहेछ ।

यता मेरो इन्जिनियरिङ विषयको औपचारिक शिक्षा सकिनु र गोर्वाचोभ कमजोर हुँदै गएर सोभियत संघ विघटन हुनु एकैपटक पर्न गयो । येल्तसिनको बढ्दो राजनीतिक महत्त्वाकांक्षा र कट्टरपन्थीहरूको उग्र विरोधलाई गोर्वाचोभले थेग्नै सकेनन् । पेरेस्त्रोइका र ग्लास्नोस्तसँगै सोभियत संघ विघटनको आँधी पनि आउन सुरु भइसकेको रहेछ । सबै गणराज्यले एकएक गरेर सोभियत संघअन्तर्गत नरहने भन्दै स्वायत्त राष्ट्र घोषण गर्दै गए । संघीय गणराज्यहरू नै नरहेपछि अन्ततः सोभियत राष्ट्रपति मिखाइल गोर्वाचोभले २५ डिसेम्बर, १९९१ मा राष्ट्रपति पदबाट राजीनामा दिए । यसरी विधिवत् रूपमा नै महाशक्ति राष्ट्र सोभियत संघ विघटन हुन पुग्यो । अमेरिकासँग दशकौँसम्म टक्कर लिने क्षमता राख्ने विश्व महाशक्ति राष्ट्र विघटन हुँदा संजोगवश म त्यसको साक्षी बन्न पुगेँ ।

यही अस्तव्यस्तका बीच हामी भने स–सानो व्यापार गर्दै थियौँ । व्यापारबाट भएको फाइदा अलिअलि घर पठाउन र केही आफ्ना आवश्यकता पूरा गर्न पुगेको थियो । सन् १९९२, जूनमा मैले विश्वविद्यालयको औपचारिक शिक्षा पूरा गरेँ । इन्जिनियर बन्ने सपना छ वर्षको परिश्रमपछि पूरा भएको थियो । रुसमा व्यापारको अपार सम्भावना रहेको कुरा विद्यार्थीकालमै महसुस गरे पनि यो बेलासम्म व्यापारलाई नै मुख्य पेसा बनाउने मेरो कुनै योजना थिएन । बरु अवसर आयो भने विद्यावारिधि गर्ने, नत्र नेपाल फर्केर अध्ययनअनुसारको पेसामा प्रवेश गर्नेबारे सोच्दै थिएँ ।

तर, समयले अर्कै माग गरेको रहेछ । त्यो बेला नेपाल फर्किएको भए मेरो कथा सायद अर्कै किसिमले लेखिने थियो । औपचारिक शिक्षा पूरा गरिसकेका मेहनती र जेहेनदार विद्यार्थीलाई रुसी विश्वविद्यालयले त्यसभन्दा माथि विज्ञता र अनुसन्धान गर्ने मौका दिन्छ भन्ने थाहा थियो । पढाइमा राम्रै भएका कारण विश्वविद्यालयको आर्किटेक्चर फ्याकल्टीबाट मलाई पीएचडी अध्ययनका लागि प्रस्ताव आयो । मैले नेपाल फर्किंदा विद्यावारिधिकै उपाधि बोकेर किन नफर्कने ? अनि मैले पीएचडी गर्ने सोच बनाएँ ।

ठीक यही बेला रुसले राज्य नियन्त्रित अर्थव्यवस्थालाई परित्याग गरेर खुला बजार अर्थतन्त्र अवलम्बन गर्‍यो । व्यक्तिगत सम्पत्ति राख्न पाउने तथा व्यापार व्यवसाय गर्न र कम्पनी सञ्चालन गर्न मिल्ने कानुनहरू बने । पीएचडी अनुसन्धानमा नियमित कक्षामा हाजिर हुनु नपर्ने भएकाले फुर्सदको समय नेपाली साथीहरूसँग मिलेर सानो एक ग्रोसरी पसल सुरु गरेँ । त्यो पसल ठीकै चल्दै थियो ।

त्यो बेला यसो आँखा फैलाएर हेर्दा थाहा पाएँ, विद्युतीय सामग्रीको आपूर्ति गर्ने हो भने रुसमा ठूलो सम्भावना छ, जसको थोरै अनुभव विद्यार्थीकालमै मैले गरिसकेको थिएँ । ग्रोसरी पसल साथीहरूलाई जिम्मा लगाएर सन् १९९४, जनवरीमा मैले मस्कोको ‘भेदेएनखा’ भनिने प्रदर्शनी तथा बिक्री कक्षमा एक इलेक्ट्रोनिक पसल सञ्चालन गर्न थालेँ । त्यति बेलासम्म भाइ खेम पनि अध्ययनको सिलसिलामा रुसमा आइसकेका थिए । हामी मिलेर यसलाई विस्तार गर्न थाल्यौँ ।

खासमा त्यो पसल केही रकम जम्मा गरेर इन्जिनियरिङ विषयमा पीएचडीको डिग्रीसहित घर फर्कनका लागि सुरु गरिएको व्यापार मात्र थियो । तर, रहरैरहरमा सुरु गरेको त्यो व्यवसाय यसरी फस्टायो कि रुसी बजारमा दिनानुदिन हामी विद्युतीय सामग्रीको खुद्रा बिक्रीबाट थोक र थोकबाट वितरक (डिस्ट्रिब्युटर) मा उक्लियौँ ।

व्यवसाय सुरु गरेको छोटो समयमै सोनी, पानासोनिक, क्यानन, जेभीसी, निक्कनजस्ता विश्वप्रसिद्ध इलेक्ट्रोनिक ब्रान्डहरूले हाम्रो कम्पनीलाई आधिकारिक बिक्रेताका लागि विश्वास गरे । हामीसँग त्यो स्तरमा व्यवसाय सञ्चालन गर्दा चाहिने ठूलो पुँजी अझै थिएन तर हरेक व्यवसायका लागि अति आवश्यक पर्ने विश्वास र इमानदारिताको पुँजी भने मैले कमाएको रहेछु । उनीहरूले हामीलाई विश्वास गरेर उधारोमा समान पठाउन थाले । हामीले पनि समयमै भुक्तानी दिन थाल्यौँ । व्यापारसँग विश्वास पनि बढ्दै गयो । विश्वाससँगै व्यापारको दायरा पनि फराकिलो हुँदै गयो । व्यापारको दायरा बढ्दै जाँदा आम्दानी बढ्न थाल्यो । आम्दानीसँगै चुनौती र अप्ठ्याराहरू पनि आउँदै गए ।

राज्यनियन्त्रित अर्थव्यवस्थाबाट एकैचोटि रुस खुला अर्थतन्त्रमा प्रवेश गर्दा एकाएक राज्य अस्तव्यस्त भयो । संक्रमणकालमा रुसको राष्ट्रिय मुद्रा अत्यन्त अस्थिर रहँदा त्यसले बारम्बार व्यवसायमा असर पारिरहन्थ्यो ।

रुस आफ्नो कर्मभूमि भए पनि जन्मभूमिमा पनि केही गर्नुपर्छ भन्ने भावनाले बिस्तारै नेपालमा पनि हामीले लगानी गर्न सुरु गर्‍यौँ । त्यही मेसोमा रुसमै व्यवसाय गरिरहेका नेपाली साथीहरूसँग मिलेर सन् २००० मा सानिमा समूहबाट नेपालमा पनि लगानी गर्ने सोच बनाएँ । यही कम्पनीमार्फत नेपालमा जलविद्युत्, बैंकिङ, सञ्चार, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा लगानी सुरुआत भयो ।

०००

समयलाई चिन्न नसक्नु जीवनमा महत्त्वपूर्ण भूल हुने रहेछ । उच्च शिक्षा अध्ययनका लागि रुस जाँदा पो बाढीले बढेको रापती देखिएको थियो, जहाँ खतरा बाहिरी आँखाले प्रस्टै देखिएको थियो । इलेक्ट्रोनिक सामानको व्यापार गर्दागर्दै स्मार्ट फोनको बाढी आएको कुरा हामीले अनुभव गर्न सकेका रहेनछौँ । हामीसँग गोदाममा ठूलो परिमाणमा परम्परागत विद्युतीय सामग्रीहरू थिए तर स्मार्टफोनले बजार तातिसकेको र हामी पुरानो भइसकेका रहेछौँ । जुन कुरा त्यतिबेला हामीले पत्तै पाएनौँ ।

कुनै बेला रुसमा इलेक्ट्रोनिक सामग्री यति धेरै बिक्री हुन्थ्यो कि यस व्यवसायमा हाम्रो समूह प्रमुख वितरकमध्येमै गणना हुन्थ्यो, तर स्मार्टफोनको चाबी बोकेर ठूला व्यवसायी बजारमा आइसकेका रहेछन् । हामी यता हाम्रा मालसमान कटाउनतिर लाग्यौँ, उता नयाँ व्यवसायीहरूले स्मार्टफोनको वितरण र विस्तार आक्रामक ढङ्गले गर्न थाले ।

सन् २००६–०७ सम्म पनि हामीलाई भोलि यस्तो समय आउला भन्ने आभास थिएन । तर, त्यसपछि हरेक वर्ष हामीलाई क्रमशः स्मार्टफोनको बाढीले बगाउँदै लग्यो र सन् २०१३ सम्म आइपुगेपछि हामी पार लाग्ने अवस्थामा छैनौँ भन्ने कुराको बोध र विश्वास भयो । हामीले चढेको परम्परागत इलेक्ट्रोनिक पसलको नाउँ दुई वर्षपछि पूर्ण रूपमा बन्द भयो ।

त्यसरी उमेरले पचास पुग्न लाग्दा म फेरि नयाँ अवसरको खोजीमा निस्कने मोडमा आएँ । पहिले पनि नेपाल र अरु देशमा व्यवसाय विस्तार गर्नुपर्छ भन्ने सोच नआएको होइन । त्यो बेलासम्म पढेको इन्जिनियरिङ विषय एकेडेमिक डिग्रीमा मात्रै सीमित भइसकेको थियो र मलाई अब व्यवसायको चस्का लागिसकेको थियो । नयाँ सम्भावनाको खोजीमा कहिले दुबई त कहिले सिंगापुरतिर वैकल्पिक लगानीका प्रयास गर्दैरहेँ । अन्ततः जर्मनीमा होटल व्यवसायको सम्भावना देखेर सन् २०१२ देखि त्यसमा लगानी सुरु गरेँ, जहाँ केही समयपहिले नै कुमार पन्तले यस व्यवसायमा हात हालिसकेका थिए । यही व्यवसायलाई साझेदारीमा विस्तार गर्दै जाने सोचले २०१४ बाट जर्मनीको फ्रयाङ्कफर्ट शहरमा बसोबास सुरु गरेँ ।

०००

देशको राष्ट्रसेवक इन्जिनियर बन्छु भनेर सपना देखेको मान्छे, संयोगले म यसरी व्यवसायी पो बन्न पुगेँ । पढेँ एकथोक, भएँ अर्कै थोक । पढाइले भन्दा परिस्थितिले धेरै कुरा सिकाउँदो रहेछ भन्ने कुराको बोध आफ्नै जीवनको भोगाइले गरायो ।

जर्मनी आएपछि हिजो जसरी रुसमा इलेक्ट्रोनिक सामग्री वितरणको विस्तारमा लागेका थियौँ, त्यसैगरी होटल व्यवसायको सम्भावना यहाँ निकै राम्रो देखिएकाले यसको विस्तार गर्ने सोच बनायौँ । जर्मनीको आर्थिक राजधानी मानिने फ्र्याङ्कफर्ट शहरलाई केन्द्र बनाएर ‘ट्रीप इन्न होटेल’ ग्रुप हस्पिटालिटी उद्योग विस्तारमा लाग्यो ।

सन् २०१२ देखि सुरु भएको होटल विस्तारको योजना २०२० सम्म तन्किँदै थियो । छोटो समयमा नै जर्मनी र युरोपका केही शहरमा ट्रिप इन होटेल्स समूहअन्तर्गत ३५ वटा होटेल विस्तार गर्न हामी सफल भयौँ । आधा दर्जन होटेल अझै निर्माणाधीन अवस्थामा छन् । यस उद्योगमा एक उदीयमान समूहका रूपमा यहाँ हाम्रो गणना हुन थालिसकेको थियो । हामीले सोचेकै थिएनौँ, यसरी अचानक कोरोनाको बाढी आउँछ र त्यसको सबैभन्दा ठूलो असर होटेल र अन्य पर्यटन व्यवसायमा पर्छ भनेर ।

आज यो अनुभूति लेखिरहँदा सबैभन्दा धेरै त्यो दिन रापतीमा आएको बाढी सम्झँदै छु । सायद त्यो बाढी समस्याहरूसँग लड्ने प्रवेश परीक्षा थियो ।

त्यसरी बाढी पार गरेर आएँ, अहिले बाढी नै आए पनि रापती तरेर त्यो गाउँमा पुनः बस्नेगरी जान नपाउने भएको छु । मैले तरेर आएको त्यही रापतीलाई सिमाना बनाएर सरकारले पदमपुरको बस्ती विस्थापन गरिदियो र त्यो गाउँ राष्ट्रिय निकुञ्जभित्र पारिदियो । हाम्रो घर भएको ठाउँ अहिले जङ्गली पशुपन्छीको घर भएको छ ।

दोस्रो बाढी स्मार्ट फोनको आयो । जसले लामो समय रुसमा स्थापित भइसकेको हाम्रो ‘कन्जुमर इलेक्ट्रोनिक्स’ व्यवसाय बन्द हुने अवस्था सिर्जना हुन पुग्यो ।

अहिले तेस्रो बाढी कोरोनाको आएको छ । जर्मनी पूर्ण रूपमा कानुनी राज्य भएकाले कानुनबमोजिम यहाँ कार्यरत सबै कम्पनीलाई राज्यले समान व्यवहार गर्छ । संकटको यो घडीमा पनि हामीले धैर्य गुमाएका छैनौँ । राज्यबाट कम्पनी सञ्चालनका लागि सहुलियतपूर्ण ब्याजदरमा केही रकम ऋणस्वरूप उपलब्ध भएको छ । कोरोनाको कहर सकिएर केही समयपछि पूर्व रूपमै बाँच्ने प्रयास गरिरहन्छ । मेरो मात्र होइन, हरेक जीवनले यस्ता सयौँ बाढी सहनुपर्छ । कति बाढी तर्न सकिन्छ, कति तर्न सकिँदैन । केही यसरी लेखिन्छन्, केही चाहेर पनि लेख्नै सकिँदैन ।

माथिको संस्मरण अंश ‘आँगन छोडेपछि’ किताबबाट उद्धृत गरिएको हो । यस किताबलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।