बुटवलमा सुन पसलमा चोरी

बुटवल,१४वैशाख । बुटवलको बीपी चोकस्थित एक सुनचाँदी पसलबाट करिब ४ सय तोला सुन र नगद चोरी भएको छ। वैशाख १२ गते राति बीपी चोकमा रहेको कोटेश्वर मजुवा गुल्मेली सुनचाँदी पसलमा चोरी भएको हो।
पसलबाट रेडिमेट गहनाहरु ३६० तोला र २३ तोला काँचो सुन चोरी भएको हो। उनीहरुले सुनसँगै रहेको पाँच लाख नगदसमेत लगेका छन्।
गुल्मी मजुवा घर भई बुटवलमा सुनचाँदी पसल चलाइरहेका डिलबहादुर सुनारको पसलमा चोरी भएको हो। १५ वर्ष विदेशमा बिताएका उनले नेपालमै व्यवसाय गर्ने गरी पाँच वर्षअघि मात्रै सुन पसल सञ्चालनमा ल्याएका थिए।
उनको पसलबाट करिब चार करोडको धनमाल चोरी भएको हो। सोमबार साँझ पसल बन्द गरेर निवासतर्फ पुगेका उनले मंगलबार बिहानमात्रै चोरी भएको पत्तो पाएका थिए। चोरहरुले ग्यास वेल्डिङबाट सटर काटेर लकरबाट सुन निकालेको प्रहरीले जनाएको छ।
सिटीटिभी फुटेजमा दुई युवाको तस्विर देखिएको छ। प्रहरीले उनीहरुले प्रयोग गर्ने मोबाइल ट्रेसिङ गर्दा अन्तिम लोकेसन बेलहिया नाका देखिएको छ। केही दिनयता मात्रै बुटवलमा अन्य तीन सुनचाँदी पसल पनि चोरिएका छन्। ती पसल चोरीमा भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरिएको छ।
प्रहरीले अहिलेसम्म कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सकेको छैन। सुनचाँदी व्यवसायीहरुले चोरीका घटना बढेको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ। व्यवसायीले गस्ती, सुरक्षा गार्ड, सिसिटीभी क्यामेराको प्रयोग, ड्रोन आदी प्रविधिको प्रयोग बढाउनसमेत आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया