Close This

गर्भपतन गराउन जाने कर्मचारीलाई अमेजनले बाटो खर्च दिने

बिहीबार बैशाख २२, २०७९/ Thursday 05-05-22
Paschim Today

इ-कमर्श कम्पनी अमेजनले अमेरिकामा कार्यरत आफ्ना कर्मचारीहरूको स्वेच्छिक गर्भपतनलगायतका विभिन्न उपचारका क्रममा लागेको बाटो खर्च व्यहोर्ने भएको छ । अमेजनले आफ्ना कर्मचारीहरूलाई पठाएको सन्देशमा आफ्नो नजिकमा उपलब्ध नभएका उपचारहरूका लागि टाढाका विभिन्न अस्पतालहरूमा जानुपर्ने कर्मचारीहरूलाई वार्षिक चार हजार अमेरिकन डलरसम्म भ्रमण खर्च उपलब्ध गराउने उल्लेख गरेको छ । अमेजन सँगै अन्य विभिन्न अमेरिकी कम्पनीहरूले पनि कर्मचारीहरूको स्वेच्छिक गर्भपतनलाई सहज बनाउनका लागि यस्ता विभिन्न योजनाहरू ल्याइरहेका छन् ।

अमेरिकामा गर्भपतनका विषयमा बढ्दो असहजता तथा बन्देजकाबीच अमेजनको यस्तो घोषणा सार्वजनिक भएको हो । गर्भपतनलगायतका उपचारको भ्रमण खर्च व्यहोर्ने अमेजनको यो निर्णय गत जनवरी १ देखि नै लागू हुनेछ । कर्मचारीहरूको निवासको १०० माइलको क्षेत्रभित्र वा भर्चुअल्ली पनि त्यस्तो स्वास्थ्य सेवा उपलब्ध नभएको अवस्थामा मात्र कर्मचारीहरूलाई उपचारका लागि जाँदा-आउँदा लाग्ने भ्रमण खर्च शोधभर्ना दिइनेछ ।

नयाँ नियमले स्वेच्छिक गर्भपतनसँगै मोटोपना घटाउने सम्बन्धी उपचार, क्यान्सर, जन्मेको एक महिनाभित्रको बच्चामा रहेको वंशाणुगत समस्या, मानसिक समस्याको उपचारलगायतका लागि समेत भ्रमण खर्च उपलब्ध गराइनेछ । स्मरण रहोस् अमेजन अमेरिकामा सबैभन्दा धेरै कर्मचारी भएको निजी क्षेत्रको कम्पनीमध्ये एक हो । अमेरिकामा अमेजनका पूर्णकालीन तथा आंशिक समय काम गर्ने गरी ११ लाख कर्मचारी छन् । तीमध्ये अधिकांश क्यालिफोर्निया, टेक्सास र वाशिंटनमा रहेका छन् ।