Close This

आवश्यक सामग्रीसहित मतदान केन्द्रमा खटिए कर्मचारी

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22
Paschim Today

धनगढी,२८ वैशाख । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सामग्रीसहित कैलालीका सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी खटेका छन् ।मतपत्रसहित आवश्यक सामग्री लिएर मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र सहयोगीहरु म्तदान केन्द्रतर्फ खटेका हुन ।

मतपत्र र निर्वाचनका लागि आवश्यक ५८ प्रकारका सामग्रीसहित कर्मचारी गन्तव्यतर्फ खटिएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । हरेक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक÷एक जना, दुई जना सहायक, एक जना सहयोगी खटेका मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार मतदान अधिकृत ६१९ जना, सहायक मतदान अधिकृत ६१९ जना, सहायक कर्मचारी एक हजार ८५७ जना र कार्यालय सहयोगी ६१९ जना निर्वाचन केन्द्रमा खटेका छन् । ६१९ मतदान केन्द्र रहेको यो जिल्लामा जम्मा तीन हजार ७१४ जना कर्मचारी निर्वाचन सम्पन्न गर्नका लागि कार्यस्थलमा खटेका छन् । 

हरेक मतदान केन्द्रमा तीन÷तीन जना स्वयम् सेवक पनि राखिनेछ । स्वयम् सेवक राख्नका लागि मतदान अधिकृतलाई पैसा दिएर पठाइएको छ । जिल्लाभरि एक हजार २३८ जना स्वयम् सेवक राखिनेछ । एक मतदान केन्द्रमा तीन जना स्वयम् सेवक रहनेछन् । स्वयम् सेवकसमेत गरेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि कैलालीमा चार हजार ९५२ जना कर्मचारी खट्नेछन् ।  

यसैगरी, सुरक्षाका लागि जिल्लाभरिको मतदान केन्द्रमा सुरक्षाकर्मी पनि व्यवस्थापन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित म्यादी प्रहरी सुरक्षाका लागि खटाइएको हो । निर्वाचन सुरक्षाको व्यवस्था तीन घेरामा गरिनेछ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछ । 

कैलालीमा २३६ मतदान स्थल रहेको छ । जसमध्ये ५२ मतदानस्थल अति सम्वेदनशील, ५३ वटा सम्वेदनशील रहेका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बाँकी १३१ मतदान स्थल सामान्य रहेको छ ।

कैलालीमा मतदाता सङ्ख्या पाँच लाख २५ हजार १२५ रहेको छ । यो जिल्लामा महिला मतदाता सङ्ख्या दुई लाख ७९ हजार १०, पुरुष मतदाता सङ्ख्या दुई लाख ५६ हजार १०४ र अन्य मतदाता सङ्ख्या ११ रहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका छन् ।

यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् । कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् ।

यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।