Close This

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

धनगढी,२९ वैशाख । सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा भएको छ । नौ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको हो । सबै मतदान केन्द्रहरुमा आवश्यक सामग्रीसहित कर्मचारीहरु मङ्गलबार नै खटिसकेका छन् ।

‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रेमराज भट्टले बताए ।उनले मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण, निर्माणको कार्य गर्ने बताए ।

यसैगरी, कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ ।प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भइसकेको जानकारी दिए ।

‘धेरै मतदान केन्द्रमा बुथ निर्माण भइसक्यो, बाँकी मतदान केन्द्रमा बिहीबारसम्म  निर्माण पूरा हुँदैछ,’ उनले भने । जिल्लाका अधिकांश विद्यालयका भवनलाई मतदानस्थल र केन्द्र तोकिएको छ । जिल्लाका १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २८० मतदाता थिए ।

जिल्लाको दक्षिणपूर्वी सीमा क्षेत्रको जानकी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वदिप बेश्राले निर्वाचनस्थलमा तयारी पूरा हुने चरणमा रहेको बताए ।तयारीका क्रममा निर्वाचनस्थलमा भएको सर्वदलीय बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, मतगणना कार्य र मतगणना प्रतिनिधिको नामावली लगायतका विषयमासमेत छलफल गरिएको बेश्राले बताए ।

गौरीगङ्गा नगरपालिकामा खटिएका निर्वाचन अधिकृत नीराजन पाण्डेयले मङ्गलबार आयोजित सर्वदलीय बैठकमा निर्वाचन आचारसंहिता, मतगणना कार्य, मतदाता शिक्षालगायका बारेमा जानकारी दिइएको बताए ।

मंगलबाररातिदेखि निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रत्यासीहरुले देखिने गरी प्रचारप्रसारका काम रोकेका छन् । निर्वाचन गराउन जिल्लाका सबै १३ पालिकामा झण्डै तीन हजार ९०० कर्मचारी परिचालन गरिएको छ ।

यी पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ ।

जिल्लाका पालिका तहका ६५६ पदका लागि चुनाव हुँदैछ । यसका लागि जिल्लाभरी तीन हजार ७२ जना प्रतिस्पर्धी छन् । मतदानको ४८ घण्टा अघि अर्थात् मंगलबारराति नै गौरीफन्टा, खक्रौला लगायतका सीमा नाकामा आवागमन बन्द गरिएको छ । अत्यावश्यक सेवा प्रवाहको हकमा भने सीमा नाकामा आवागमन गर्न बाधा अवरोध नपुग्ने बताइएको छ ।
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न स्थानीय प्रशासनले पूर्ण रुपमा निषेध गरेको छ ।

यसैगरी, डोटीमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् ।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा सत्तापक्षमै रहेको नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए। जिल्लाका अन्य स्थानीय तहभन्दा दिपायल सिलगढी तथा शिखर नगरपालिकाको निर्वाचनलाई विषेश महत्वका साथ हेरिएको छ । यी दुई नगरपालिकामा ठूला दलले नयाँ तथा युवालाई उम्मेदवार बनाएकाले विशेष चासोका साथ हेरिएको शिखर नगरपालिका–११ का इन्द्रबहादुर बलायरले बताए । उनले भने, ‘शिखर र दिपायल सिलगढीमा उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ, अरू स्थानीय तहभन्दा नगरपालिकामा सबैको चासो देखिएको छ ।’ 

यसैगरी यस वर्ष गठबन्धन भएका कारण मतदाताले उम्मेदवारलाई दिनुपर्ने मत चिह्न पनि फरक–फरक भएको र मतदान गर्ने तरिका खासै नसिकेको हुँदा अन्य निर्वाचनभन्दा यस वर्ष मत बदर हुने सङ्ख्या बढ्न सक्ने पूर्वीचौकी गाउँपालिका चैकोटका स्थानीय चक्रबहादुर कठायतले बताए । उनले भने, ‘गठबन्धनका कारण पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष फरक–फरक पार्टीका भएका र मतदान चिह्न पनि सोहीअनुसार भएकाले मतदाताले खासै सिकेका छैनन्, मत बदर बढी हुनसक्छ ।’

चुनावी तालमेल गरेका माओवादी केन्द्र तथा एकीकृत समाजवादीले जिल्लाका नौवटै स्थानीय तहमा आफूहरूको जीत सुश्चित रहेको दाबी गर्दै आएका छन् भने प्रमुख प्रतिपक्ष दल एमाले तथा सत्तापक्षकै कांग्रेसले गठबन्धन दलभित्रको मतभेदका कारण अधिकांश स्थानीय तहमा आफूहरूको जीत हुने दाबी गर्दै आएका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले पाँच, कांग्रेस तीन तथा माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी हासिल गरेका थिए । 

यसैगरी, बैतडीमा स्थानीय तहको निर्वाचनका लागि २ सय ५ वटा मतदान केन्द्र तोकिएका छन् । ती सबै मतदान केन्द्रमा १ हजार बढी कर्मचारी खटिएका छन् । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर १ हजार १८ जना कर्मचारी खटिएका उनले बताए ।

यस्तै प्रत्येक मतदान केन्द्रमा ३ जनाका दरले स्वयंसेवक खटिएका जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । यसरी जिल्लाभरी ६ सय १५ जना स्वयंसेवक खटिएका छन् । निर्वाचनका लागि खटिएका कर्मचारीहरुले बुधबार र बिहीबार मतदान प्रक्रियालाई सहज बनाउन मतदान केन्द्रमा काम गर्नेछन् । उनीहरुले मतदाता परिचय पत्र वितरणका साथै मतदाताहरुलाई मतदान गर्ने तरीकाका बारेमा समेत सिकाउने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।