Close This

लाक्पा शेर्पाले टेकिन् १० औं पटक सगरमाथाको चुचुरो

बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

काठमाडौँ,२९ वैशाख ।लाक्पा शेर्पा १० औं पटक सगरमाथाको चुचुरोमा पुगेकी छन्। संखुवासभाकी ४८ वर्षीया लाक्पाले आज बिहान साढे ६ बजे १० औँ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन्।

उनले चार वर्षअघि तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी थिइन्। बिहीबार बिहान साढे ६ बजे उनले सगरमाथाको दशौँपटक आरोहण गरेकी सेभेन समिट एडभेन्चर प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।

लाक्पासँगै चारजना शेर्पा र एक अमेरिकी आरोही पनि आज बिहान सगरमाथामा पुगेका शेर्पाले बताए। यो आरोहणसँगै शेर्पा विश्वमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिला बनेकी छन्।

पुर्खेउली घर संखुवासभा भएपनि उनी अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी छन्।तीन सन्तानकी आमा लाक्पाले २६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक सगरमाथाको आरोहण गरेकी थिइन्।

शेर्पा २०१६ मा बीबिसीको सय महिलाहरूको सूचीमा परेकी छिन्। शेर्पा सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी थिइन्।