पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या छैन, मौज्दात पर्याप्त छ : आयल निगम

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ । जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ ।
‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका छौ,’ कार्यकारी निर्देशक भट्टले भने,‘ थानकोट डिपोबाट पेट्रोल ८७० किलोलिटर पेट्रोल र ४३० किलोलिटर डिजेल वितरण भएको छ । आपूर्तिको अवस्था सामान्य नै छ ।’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि इन्धन वितरणको अवस्था सामान्य रहेको जनाए । ‘व्यवसायीहरुले माग गरेअनुसार निगमले उपलब्ध गराएको छ । आपूर्तिमा समस्या देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘आन्दोलनको क्रममा केही पम्पहरु बन्द थिए, त्यही कारण केही स्थानको पम्पमा भीड देखियो । अहिले अवस्था सामान्य भइसकेको छ ।’
निगमका अनुसार इन्धन मौज्दातको अवस्था पनि पर्याप्त नै छ । थानकोट डिपोमा ३४०० किलोलिटर पेट्रोल र ५९०० किलोलिटर डिजेल मौज्दात रहेको कार्यकारी निर्देशक भट्टले बताए । मुलुकभर १५ हजार ५०० किलोलिटर पेट्रोल र ३७ हजार १०० किलोलिटर डिजेल मौज्दात रहेको उनले जनाए ।
तपाईको प्रतिक्रिया