Close This

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

आइतबार जेठ ८, २०७९/ Sunday 05-22-22
Paschim Today

सिरहा,८जेठ । सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो । सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर  १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए ।

उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको डिएसपी बुढाथोकीले जानकारी दिए । बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०र१२ वर्षको एक जना बालक सुतेका थिए ।

उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै करिब बिहान ४ बजे प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए । प्रहरीले घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको थियो। दुवै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।