Close This

संसदीय सुनुवाइबाट तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

आइतबार जेठ ८, २०७९/ Sunday 05-22-22
Paschim Today

काठमाडौँ,८जेठ । संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित त्रय राजदूत क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो । 

समितिका सभापति लक्ष्मणलाल कर्णले नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदूतको पदमा नियुक्तिको लागि प्रस्तावित क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्यसञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गरे ।समितिको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपालीहरुको संख्यालाई बढाउने र त्यहाँ देखिएका नेपालीहरुको समस्या समाधानमा केन्द्रित हुने बताए ।

उनले नेपाली विद्यार्थीहरुलाई उच्च स्तरको विश्वविद्यालयमा अध्ययन गर्न पाउने व्यवस्थामा जोड दिने, छात्रवृत्ति बाहेकका भिसामा बंगलादेश गएका विद्यार्थीहरुको समस्या समाधान गर्ने र उचित परामर्श पाउनुपर्ने व्यवस्थामा जोड दिने बताए । यस्तै म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले म्यान्मारस्थित नेपाली राजदूतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारीको शीघ्र र निरन्तर रुपमा प्रवाह गर्ने कुरामा जोड दिने बताए । यस्तै ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौताहरु कार्यान्वयन गर्न विशेष पहल गर्ने बताए । उनले थाँती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरूलाई अघि बढाउन र द्विपक्षीय सहयोग सम्झौताहरु कार्यान्वयन गर्न पनि पहल गर्ने बताए ।