Close This

ट्वीटर किन्ने सम्झौताबाट पछि हट्ने एलन मस्कको संकेत

बुधबार जेठ २५, २०७९/ Wednesday 06-08-22
Paschim Today

विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क र सोसल मिडिया प्लाटफर्म ट्वीटर यो वर्षको सुरुवातदेखि नै चर्चामा रहँदै आएका छन् । सुरुमा ट्वीटर कम्पनीको १० प्रतिशत शेयर किनेर तहल्का मच्चाएका एलन मस्कले पछि ट्वीटर कम्पनी नै  खरीद गर्ने प्रस्ताव गरेपछि धेरैले यसलाई पत्याएनन् । तर ट्वीटरको बोर्डले नै मस्कको प्रस्ताव बमोजिम कम्पनी बिक्री गर्ने निर्णय गरेपछि मस्क र ट्वीटरबीच कम्पनी खरीदको समझदारी भयो । तर पछिल्लो समय मस्कले ट्वीटर खरीदको समझदारीबाट पछि हट्ने संकेत गरिरहेका छन् । उनले ट्वीटरसँग भएको सम्झौता भंग गर्ने चेतावनी नै दिएका छन् ।

ट्वीटरमा रहेका फेक अकाउन्टहरुको तथ्यांक प्रष्ट रुपमा उपलब्ध गराउन माग गर्दै उनले यदि कम्पनीले त्यस्तो डाटा उपलब्ध नगराएमा आफूले ट्वीटर खरीद नगर्ने बताएका हुन् । यही कारण देखाउँदै उनले अघिल्लो महिना नै ट्वीटर खरीद सम्झौतालाई यथास्थितिमा राखेको घोषणा गरेका थिए । ट्वीटरमा रहेका फेक वा स्पाम अकाउन्टको संख्या कूल अकाउन्टको कति प्रतिशत हो भन्ने आफूले जान्न चाहेको र ट्वीटर कम्पनीबाट यसको एकीन र प्रमाणित जवाफ नआएसम्म खरीद सम्झौता यथास्थितिमा रहने उनले बताएका थिए । ट्वीटरले आफ्नो प्लाटफर्ममा फेक अकाउन्टको संख्या ५ प्रतिशत भन्दा पनि कम रहेको दाबी गर्दै आएको छ, तर एलन मस्क त्यसलाई मान्न तयार छैनन् । फेक अकाउन्टको संख्या त्यो भन्दा निकै बढी रहेको उनको दाबी छ ।

फेक तथा स्पाम अकाउन्टको एकिन संख्या नदिइएको निहुँमा ट्वीटर खरीदको सम्झौता नै भंग गर्ने एलन मस्कले चेतावनी दिएपनि त्यो त्यति सजिलो भने छैन । सेक्योरिटी एक्सचेन्ज फाइलिङका अनुसार ट्वीटर तथा एलन मस्कमध्ये कोही पनि उक्त सम्झौताबाट पछि हट्नु निकै महंगो सावित हुनेछ । किनकी सम्झौताबाट पछि हट्ने पक्षले १ अर्ब डलर अर्थात् झण्डै सबा खर्ब रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । ट्वीटर कम्पनी त मस्कसँगको खरीद बिक्री सम्झौताबाट टसमस भएको छैन । तर यदि मस्क सम्झौताबाट पछि हटेमा उनले १ अर्ब डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।

यो विषयलाई लिएर ट्वीटर कम्पनी अदालतमा पनि जान सक्दछ । त्यसैले त्यही जरिवानाबाट बच्नका लागि मस्कले फेक अकाउन्टको विषयलाई लगातार उठाइरहेका छन् । सम्झौताका क्रममा धोकाधडी भएको, ट्वीटर पक्षले गलत जानकारी दिएको हुनाले वस्तुगत रुपमा खराब असर पर्ने अवस्था रहेको कुरा स्थापित गर्दै एलन मस्क जरिवानाबाट बच्न चाहेको अड्कलबाजी गरिएको  छ ।उसो त एलन मस्क र ट्वीटरका सीईओ पराग अग्रवालबीच पनि मतभेद रहेको छ । मस्कले ट्वीटरमा फेक अकाउन्टको वास्तविक संख्या कम्पनीले बताएको भन्दै निकै धेरै रहेको दाबी गरेको विषयमा अग्रवालले ट्वीट गर्दै खण्डन गरेका थिए ।

उनले पछिल्लो चार त्रैमासिक यता ट्वीटरमा फेक अर्थात् बोट अकाउन्टको संख्या ५ प्रतिशत पनि कम रहेको प्रष्ट पारेका छन् । यद्यपि अग्रवालको उक्त ट्वीटपछि एक पत्रकार सम्मेलन गरी मस्कले फेक, बोट वा अटोमेटेड अकाउन्टको संख्या ट्वीटरका कूल अकाउन्टमध्ये करीब २० देखि २५ प्रतिशत रहेको दाबी गरे । कतिपय विश्लेषकहरु चाहिँ मस्कले ट्वीटरको मूल्य घटाएर कम रकममा खरीद गर्नका लागि फेक अकाउन्टको बखेडा झिकेर कम्पनीमाथि लगातार दबाब दिइरहेको जनाएका छन् ।