Close This

‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय

मंगलबार जेठ ३१, २०७९/ Tuesday 06-14-22
Paschim Today

काठमाडौँ,३१ जेठ । नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।

‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए । ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।