खाना पकाउने ग्यासमा छिट्टै दुई थरी मूल्य तोकिने

सोमबार असार ६, २०७९/ Monday 06-20-22
Paschim Today

काठमाडौँ,६ असार । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्या एलपी ग्यासमा छिट्टै दुई थरी मूल्य तोक्ने बताए ।इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आज सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताए । उनले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य तोकेर जाने बताए । 

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि कार्यकारी निर्देशक थानीको भनाइ छ । उनले ग्यासमा दोहोरो मूल्य कायम गर्नका लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्यसहितको समितिले अध्ययन गरिरहेको जानकारी दिए । 

कार्यकारी निर्देशक थानीले अर्थ मन्त्रालयले आयल निगमलाई पठाएको पत्रअनुसार चालु आर्थिक वर्षसम्मका लागि पूर्वाधार करमा १० रुपैयाँ कर घटाएको बताए । उनले अर्थ मन्त्रालयको पत्रअनुसार नै निगमको सञ्चालक समितिले इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको बताए । अहिले पनि निगम मासिक चार अर्ब रुपैयाँ घाटामा गइरहेको उनको भनाइ छ । उनले अब आईओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताए । 

कार्यकारी निर्देशक थानीले पेट्रोल अहिले पनि प्रतिलिटर १३ रुपैयाँ ५८ पैस, डिजलमा १३ रुपैयाँ ९५ पैसा र ग्यासमा प्रतिसिलिन्डर सात सय १५ रुपैयाँ घाटा रहेको बताए । २०७१ सालदेखि नै परल मूल्य ९किनेको मूल्य० मा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने उनको भनाइ छ । 

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक थानीले आयल निगमले जेठ महिनामा आइतवार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरे । थानीले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको बताए ।