भदौ २४ को प्रदर्शनमा अराजक गतिविधि गर्नेले पार्टी छाड्नू : रास्वपा

काठमाडौं I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले भदौ २४ को प्रदर्शनमा अराजकतालाई प्रश्रय दिने खालको गतिविधि गर्नेले पार्टीसँगको आबद्धता छाड्न आग्रह गरेका छन्। बुधबार राति सामाजिक सञ्जालमार्फत् उनले अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेका हुन्।
‘एक थोपा रगत नबगाइ अहिंसाको जगमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत प्रतिगामी वा हिंस्रक समूहसँग जोडेर रास्वपाको घुसपैठ भन्ने जस्तो अफवाह र भ्रमहरू छर्न व्यस्त भएका छन्,’ उनले भनेका छन्, ‘तर तिनले के बुझेनन् भने रास्वपा आफैमा बलियो र वैध राजनीतिक शक्ति हो। रास्वपाले कुनै पनि राजनीतिक गतिविधि तिनले जस्तो लुकेर वा पर्दापछाडिबाट गर्दैन र जस्तोसुकै परिस्थितिमा पनि हिंसात्मक गतिविधिलाई प्रश्रय दिँदैन।’
भदौ २३ गते हातमा ब्याग र किताब बोकेर माइतीघरबाट बानेश्वर पुगेका निहत्था युवा र विद्यार्थीलाई पुराना दलहरूको कब्जामा रहेको सत्ताले टाउको र छाती ताकीताकी गोली दागेको उनले बताएका छन्। सरकारको नालायकी, दम्भ र अक्षमताकै कारण उत्पन्न बर्बर दमनले विद्यार्थी र युवाहरू सहित १९ जनाको ज्यान गएपछि तात्कालीन सरकारले आफ्नो अक्षम्य अपराधबाट नागरिकहरूमा उत्पन्न आक्रोश र त्यसले निम्त्याउन सक्ने भयावह परिस्थितिको विवेकपूर्ण आँकलन गर्नुपर्ने पनि उनले बताएका छन्।
‘भाद्र २३ को आन्दोलनको पूर्व सन्ध्यामा जेनजी आन्दोलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीको अडान स्पष्ट थियो। श्रृङ्खलाबद्ध कुशासन र सुख दुःख साट्ने सामाजिक सञ्जालका भित्ताहरू फोड्ने सरकारको निर्णयविरुद्ध युवाहरूको आन्दोलनको चाहना स्वाभाविक थियो र त्यसलाई कहीँकतैबाट अवमूल्यन गर्न हुन्नथ्यो। राजनीतिक प्रतिशोध र दमन भोगिरहेको राजनीतिक शक्तिको रूपमा विद्रोही भावना बोकेका युवा वर्गसँग राष्ट्रिय स्वतन्त्र पार्टीले सामीप्यता राख्नु अन्यथा पनि थिएन। तसर्थ रास्वपाले लुकेर होइन, खुल्लमखुल्ला पार्टीको आधिकारिक वक्तव्यमार्फत नै जेन जीको शान्तिपूर्ण प्रदर्शनलाई नैतिक समर्थन गरेको हो,’ उनले भनेकासहमहामन्त्री आचार्यले सुरक्षा अवस्थाको आकलन गरी आवश्यकताको सिद्धान्तको आधारमा नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछानेलाई निकाले परिवारको जिम्मा लगाउन पार्टीले भूमिका खेलेको बताएका छन्। कारागार प्रशासनले परिवार र पार्टीको उच्च नेतृत्वलाई सभापति लामिछानेको जिम्मा लिइदिन अनुरोध गर्नु र परिवार र पार्टीले त्यसलाई स्वीकार गर्नु समय सापेक्ष रहेको पनि उनले बताएका छन्।
‘२३ गतेको विषम परिस्थितिका बाछिटाहरू २४ गते बिहानै भयावह रूपमा देखिन थालिसकेका थिए। हरेक प्रहर आन्दोलनको राप ताप बढ्दै थियो र अनियन्त्रित हुँदै थियो। निहत्था युवा तथा विद्यार्थीहरूमाथि अघिल्लो दिनको बर्बर दमनको रिटालियसन स्वरूप विभिन्न सरकारी संयन्त्रहरू जल्न थालेपछि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई कारागारबाट बाहिर लैजानको लागि औपचारिक/अनौपचारिक अनुरोधहरू आउन थाले,’ उनले भनेका छन्, ‘ मिडियाहरूले राज्यका तिनै अंग प्रदर्शनकारीको कब्जामा भन्ने हेडलाइन सम्प्रेषण गर्दै गर्दाको परिप्रेक्ष्यमा कारागार प्रशासकहरूलाई परिस्थिति पेचिलो र विषम हुनु स्वाभाविक थियो। सुरक्षामा चुनौती भएको आकलन गरेर कारागार प्रशासनले परिवार र पार्टीको उच्च नेतृत्वलाई रवि लामिछानेको जिम्मा लिइदिन अनुरोध गर्नु र परिवार र पार्टीले त्यसलाई स्वीकार गर्नु समय सापेक्ष थियो। यो नितान्त सुरक्षाको अवस्थाको आकलन गरी आवश्यकताको सिद्धान्तको आधारमा गरिएको निर्णय थियो।
त्यसैले पार्टीको उच्च नेतृत्वका केही साथीहरू कारागार प्रशासनको अनुरोधपछि वस्तुस्थितिको आकलन गरेर उच्च जोखिमका बाबजुद जसो तसो नख्खु पुगेको पनि उनले बताएका छन्।
तपाईको प्रतिक्रिया