Close This

काठमाडौंमा हैजाको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन बिज्ञहरुको सुझाब

बुधबार असार ८, २०७९/ Wednesday 06-22-22
Paschim Today

काठमाडौं, ८ असार । काठमाडौंमा हैजाको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाएका छन्। काठमाडौंमा अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि भएकोछ । दुई वटा केसको कल्चर पोजेटिभ र अरु दुई जनाको आरडीटी पोजेटिभ आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंकाअनुसार अहिलेसम्म काठमाडौंको भोटेबहालमा पसल गरेर बस्ने एक जना, डिल्ली बजारका एक जना र बागबजारका दुई जनामा हैजा पुष्टि भएको जनाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्रको नमुना संकलनको कार्य भइरहेको जनाएको छ। बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन भएको छ। यसको नतिजा भने अझै आइसकेको छैन। बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको छ।

डिल्लीबजार र भोटेबहालमा हैजा पुष्टि भएको र सो ठाउँमा पानीको नमूना संकलन गर्न टोली खटिएको छ स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले महामारीजन्य रोगको खोजपड्ताका लागि टिम गठन गरिएको बताए। उनले भने, ‘सो टोलीले हैजा पुष्टि भएकाहरुले के के खाने कुरा खान्छन्  के के खाने कुरा खाएको थियो। टोलीले छरछिमेक र आफन्तसँग इन्भेस्टिगेसन गर्छ। दूषित खानेपानी हैजाको मूख्य सम्भावना रहेको छ।’

उनले भने, ‘प्रभावित क्षेत्रमा सफा पानी पिउने, बासी खाना नखाने विषय समेटिएर माइकीङ पनि गरीएको छ। काठमाडौं महानगरसँग मिलेर महिला स्वास्थ्य स्वयंसेविकासंगको समन्वयमा पानी शुद्धीकरणका उपायहरु सिकाउने काम भइरहेको छ।’ ट्याङकर व्यसायीहरु, जार वितरकहरुसँग पनि अन्तरक्रिया गरिने उनले बताए। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख अधिकारीले भने, ‘हैजा भनेको एउटामात्रै केस देखियो भने पनि जोखिम हो। महामारीका रुपमा लिनुपर्छ। चार वटा केस देखियो अब हामी जोखिममा भइहाल्यौं। ’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले हैजाको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए।

नेपाल जनस्वास्थ्य संघले हैजाको महामारीबाट धेरै व्यक्तिहरुलाई एकैपटक संक्रमण भई ज्यानसमेत जान सक्ने भएकोले यसबाट बच्न स्वस्छ पानी र व्यक्तिगत सरसफाइको व्यवस्थापन अति जरुरी रहेको बताएको छ। हैजाबाट बच्नका लागि उमालेको वा क्लोरिन प्रयोग गरिएको खानेपानीको प्रयोग गर्ने, दिसापिसाब पछि र खाना खानुअघि अनिवार्य रुपमा साबन पानीले हात धुन विज्ञहरुको सुझाव छ। यस्तै, खाने कुरालाई सफा पानीले पखालेर मात्र खाने, बासी खानेकुरा नखाने, सेवा दिने सवै व्यक्तिले हात सफा गर्ने लगायतका व्यक्तिगत सरसफाई गर्न तथा कसैलाई झाडापखालाको लक्षण देखिना साथ नजिकको स्वस्थ्य संस्था वा अस्पतालमा जान जनस्वास्थ्य संघले अनुरोध गरेको छ।

हैजा फैलन सक्ने सम्भावित कारक तत्वहरुको नियन्त्रण गर्न उपत्यकाको खानेपानीको, बजारका जार तथा बोतलका पानीहरुको नमूना परीक्षण गर्ने, होटल, रेस्टुरेन्ट तथा बजारमा पाइने खानेकुराको गुणस्तर नियन्त्रण गर्ने तथा उपत्यकाको फोहोरको अबिलम्ब व्यवस्थापन गर्न आग्रह गरेको छ।