Close This

बजेटमा भौतिक पूर्वाधार मन्त्रीको सेटिङ छ : खड्का

बिहीबार असार ९, २०७९/ Thursday 06-23-22
Paschim Today

धनगढी,९ असार । नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खड्काले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रीको सेटिङ रहेको बताएका छन् । रेडियो पश्चिम टुडेको पश्चिम सरोकार कार्यक्रममा बोल्दै खड्काले मन्त्रीको सेटिङकै कारण कुल बजेटको आधा बजेट भौतिक मन्त्रालयमा गएको बताएका हुन् ।

‘प्रदेश सरकारले ३७ अर्बको बजेट ल्याएको छ । तर कुल बजेटको आधा बजेट अर्थात् ५१ प्रतिशत बजेट भौतिक मन्त्रालयलाई गएको छ,’ उनले भने, ‘यो बदनियत तरिकाले लिइएको हो । म दावाका साथ भन्न चाहन्छु,भौतिक पूर्वाधार मन्त्रीको यसमा सेटिङ छ ।’

यस्तै उनले प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्ट देखिएपनि सम्पूर्ण डिजाइन भने भौतिक मन्त्री दीर्घ सोडारीले गरिरहेको दाबी गरे । उनले असार १ गते ल्याएको बजेटले नै प्रमाणित गरिदिएको बताए ।यस्तै  प्रदेश सभा सदस्य खड्काले यो आर्थिक बर्षको बजेट एउटा होटेलको कोठामा गएर बनाएको आरोप लगाउँदै प्रदेश सरकार बिचौलियाको सरकार समेत भएको आरोप लगाए ।

‘यो बजेट एउटा होटेलको कोठामा गएर,एउटा स्वाभिमानी सचिव र कर्मचारीलाई नराखेर दुई तिन जना प्रमुखशाली मान्छेहरुले यो बजेट ल्याएको जस्तो देखिन्छ । तसर्थ यो प्रदेश सरकार जनताको सरकार हुनै सक्दैन । यो प्रदेश सरकार बिचौलियाको सरकार हो, उनले भने ।

गत असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको थियो । सडक पूर्वाधार, ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, आवास, सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न कुल बजेटको आधा बजेट १८ अर्ब २६ करोड ४७ लाख भौतिक मन्त्रालयमा विनियोजन गरेको छ । 

 

पश्चिम सरोकार

Posted by Paschim Today on Wednesday, June 22, 2022