Close This

सुदूरपश्चिममा चट्याङबाट चारको मृत्यु, तीन जना घाइते

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार । सुदूरपश्चिम प्रदेशमा आज चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

खेतमा काम गरिरहेको अवस्थामा कैलालीमा दुई र कञ्चनपुरमा दुई गरी चार जनाको ज्यान गएको हो । मृत्यु हुनेमा कैलारी गाउँपालिका–१ का ५६ वर्षीया सुगापङ्खी र गोदावरी नगरपालिका–३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको ज्यान गएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनार्वास नगरपालिका–८ का २५ वर्षीया शारदा थापाको र सोही नगरपालिकाको वडा नम्बर ६ टाउन बजार प्रतिभा नगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर ज्यान गएको छ । 

चट्याङ लागेर कञ्चनपुरकै बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते भएका छन् ।  गुलरियास्थित इशान अस्पतालमा उहाँको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, कैलारी गाउँपालिका–३ का ३२ वर्षीय धनीराम चौधरी र ४ का ३४ वर्षीय कृष्ण चौधरी घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।