Close This

शिक्षकका लागि बाल विकास तालिम

सोमबार असार २०, २०७९/ Monday 07-04-22
Paschim Today

धनगढी, २० असार । शिक्षकका लागि प्रारम्भिक बालविकास सम्बन्धी तालिम सोमबार धनगढीमा सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, सेतो गुराँस राष्ट्रिय बालविकास सेवा, पीसवीन नेपालको प्राविधिक तथा कैलारी गाउँपालिकाको समन्वय र सहकार्यमा दुई दिने तालिम भएको हो ।

‘नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सबलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना’ अन्तर्गत तालिमको आयोजना गरिएको थियो ।

प्रारम्भिक बालविकास कार्यक्रमको कार्यक्रमको अवधारणा तथा नेपालमा सञ्चालित बालविकास कार्यक्रमहरूको बारेमा जानकारी गराउने, नेपालमा प्रारम्भिक बालविकास सम्बन्धी नीतिगत व्यवस्था र प्रावधानहरूको बारेमा जानकारी गराउने उद्देश्यले कैलालीको कैलारी गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरूका लागि सो तालिमको आयोजना गरिएको पीसविनका जिल्ला कार्यक्रम संयोजक शान्ति मगरले बताइन् ।

तालिममा प्रारम्भिक बालविकासलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नका लागि प्रारम्भिक बालविकास तथा कक्षा १ का बालबालिकाको विकास तथा सिकाइ उपलब्धि मूल्याङ्कन प्रगति विश्लेषणबारे छलफल गरिएको थियो । यसैगरी, निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिकाको आधारमा शिक्षण सञ्चालनका बहु आयामिक विधि तथा तरिका प्रभावकारी सिकाइका लागि बालमैत्री वातावरणको व्यवस्थापन विधि र त्यसका लागि स्थानीय सरकार, विद्यालय परिवार तथा शिक्षक अनि अभिभावकको भूमिका र जिम्मेवारीका बारेमा विस्तृत छलफल गरिएको उनले जनाइन् । 

तालिममा सहभागी श्री जनता माध्यमिक विद्यालय कैलारी ९ गदरियाका प्रधानाध्यापक सीताराम चौधरीले तालिमबाट थप ऊर्जा मिलेको बताए । ‘तालिम नहुँदा पनि आफ्नो स्कुलमा प्रारम्भिक बालविकासलाई पहिला नै जग बनायौ भने मात्रै जग बसाल्न सकिन्छ भन्ने पहिल्यै पनि सोंचेका थियौं’, उनले भने । उनले इसीडीका बच्चाहरूलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने देखि लिएर सबै कुराहरू तालिममा सिक्ने अवसर मिलेकोले  यसरी नै यसको लक्ष्य हासिल गर्नको लागि लाग्नु पर्ने बताए । 

यस्तै कैलाली जनकल्याण आधारभूत नमूना विद्यालय कैलारीकी शिक्षिका भावना शाक्यले पनि सो तालिम आफूहरूको लागि निकै फलदायी भएको बताइन् । उनले प्रारम्भिक बालविकासका नीति तथा कार्यक्रमहरू धेरै रहेकाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि व्यवस्थित मापदण्डहरूलाई आधार मानेर कार्य योजना तयार गर्ने र सो कार्य योजनाको आधारमा व्यवस्थित बालविकास सञ्चालन गर्ने उल्लेख गरिन् । 

तालिममा कैलारी गाउँपालिकामा रहेका ४८ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षता र प्रदेश सभा सदस्य तथा प्रदेश स्तरीय प्रारम्भिक बालविकासको लागि प्रदेश स्तरीय सांसदहरूको सहकार्य समन्वय समूहका संयोजक भरतबहादुर खडकाको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको थियो  ।

कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष, इसीडी, ककस संयोजक, शिक्षा प्रमुख, प्रधानाध्यापक, तथा पीसवीन कैलालीका प्रतिनिधिहरुकोे सहभागिता रहेको थियो । उक्त तालिमको सहजीकरण कैलारी गाउँपालिकाका शिक्षा प्रमुख गणेश मिश्र, प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजनाका जिल्ला कार्यक्रम संयोजक शान्ती मगर र जिल्ला कार्यक्रम अधिकृत जानकी सिंहले सहजीकरण गरेका थिए भने भने कार्यक्रमको सञ्चालन पीसविन कैलालीका सचिव हर्कबहादुर ओलीले गरेका थिए ।