कैलालीमा सय वर्षअघि चल्थ्यो रेल

बिहीबार असोज २३, २०८२/ Thursday 10-09-25
Paschim Today

खेमराज उपाध्याय 
धनगढी, २३ असोज ।

‘कैलालीमा सय वर्षअघि रेल चल्थ्यो ।’ यो सुन्दा कतिपयलाई लाग्छ, होईन होला । तर नेपालमा रेल सञ्चालनसंग जोडिएका तथ्य र ईतिहासले यही भन्छ ।

तथ्य र प्रमाणहरुले भन्छ, राणा प्रधानमन्त्री चन्द्र समशेर जवराको कार्यकालमा सन १९१७ (वि.स. १९७३) मा कैलालीमा रेल सेवा सञ्चालनमा आएको थियो । 

यो छोटो रेलमार्ग काठका स्लीपरमाथि बिछ्याइएको थियो । र, जंगलको कुनै भागमा रुख काट्ने काम सकिएपछि ती रेलको पाटा उठाएर अर्को भागमा सारिन्थ्यो । यो वन रेलमार्ग कम्तीमा सन् १९१७ सम्म सञ्चालनमा रहेको प्रमाण भेटिन्छ ।

केही वर्षपछि, सन् १९२३ मा, भारतीय वन सेवाका जे. भी. कोलियरले कैलाली जिल्लामा अर्को साँघुरो गेजको रेलमार्ग निर्माण गरे, जसको उद्देश्य पनि भारततर्फ काठ निर्यात गर्ने नै थियो ।

यो रेललाई नेपाल सरकार वन रेलमार्ग भनिन्थ्यो । यो रेल भारतको उत्तर प्रदेशको चन्दन चौकी स्टेशन बाट सुरु भई ४८ किलोमिटर उत्तर–पश्चिमतिर नेपालभित्र पुगेको थियो ।

यो २ फिट चौडाइ भएको रेलमार्ग ११ केजी तौलका रेलपाटा माथि आधारित थियो । यसलाई ‘अस्थायी रेलमार्ग’ भनिन्थ्यो, किनभने कुनै क्षेत्रमा सालका रूख काटिसकेपछि रेलको ट्र्याक अर्को नयाँ क्षेत्रमा सारिन्थ्यो । रेलमार्गले सातवटा साना नदीहरू पार गथ्र्यो । तर ती पुलहरू हरेक गर्मी र मनसुनको समयमा खोलेर हटाइन्थे । रेलहरू केवल नोभेम्बरदेखि अप्रिल सम्म मात्र चलाइन्थे । 

यस वन रेलमार्गले बेलायतको लिड्स शहरमा बनेका चारवटा ४–६–०टी ‘ट्यांक इन्जिन’ खरिद गरेको थियो । हरेक बोगीमा १०० वटा चौडा गेजका स्लीपर अटाउँथे । र, २१ वटा बोगी भएको रेल तान्न दुईवटा इन्जिन आवश्यक पथ्र्यो । 

यो ठूलो व्यावसायिक वन परियोजनामा करिब १४,००० जना मजदुरहरू कार्यरत थिए । जसमा अधिकांश भारतीय थिए ।

एक सिजनमै झन्डै ८ लाख स्लीपरहरू (चौडा र मिटर गेज दुवैका) भारततर्फ पठाइन्थे । तर सन् १९३०(वि.स. १९८६) मा भारतमा आर्थिक मन्दी आएपछि यस किसिमको ठूला वन व्यवसाय र रेल सञ्चालन अन्त्य भएको बताईन्छ ।

चन्दनचौकीसंग जोडिएको यो रेल मार्ग कैलाली हुदै कञ्चनपुरसम्म विस्तार गरिएका अवशेषहरु पाईन्छन् । पुराना पुस्ताले कैलाली र कञ्चनपुरमा रेल सेवाका अवशेषहरु देखेको सुन्नमा आउछ । तर नयाँ पुस्तालाई भने सय वर्ष अघि कैलालीमा रेल सेवा सञ्चालनमा थियो भन्ने कुरा अपत्यारिलो लाग्छ । 

(सय वर्ष अघि कैलालीमा सञ्चालनमा रहेको यो रेलको तस्वीर सन् १९२५ मा पीसकोर डेभिड चर्चिलले खिचेका हुन् ।)