मल्ल बने नेपाली काँग्रेस बीपीको वरिष्ठ उपसभापति
डडेल्धुरा,११ साउन । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग विद्रोह गरेका कर्णबहादुर मल्ल नेपाली कांग्रेस बीपी वरिष्ठ उप-सभापति बनेका छन्।
नेपाली कांग्रेस बीपीका प्रवक्ता शिवप्रसाद सिंखडाले विज्ञप्ति जारी गरी नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट, तहरीसिह बोहरा केन्द्रीय सदस्य र एमालेसँग तालमेल गरी नेपाली कांग्रेस बीपीबाट अमरगढी नगरपालिकाको मेयरमा पराजित भएका हरिप्रसाद भट्टलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको बताएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका काँग्रेसका पूर्व पार्टी सभापति मल्ल पक्षले अधिवेशनको क्रममा जिल्लाबाट पठाइएको क्रियाशील सदस्यताको नाम काटिएपछि अधिवेशन बहिष्कार गरेका थिए।
गत वर्ष भएको काँग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यमध्ये तीन सय बढी हटाएर केन्द्रबाट नयाँ सदस्य थप गरेको भन्दै मल्ल र उनी पक्षीय बहुमत जिल्ला समितिका पदाधिकारी तथा पालिका समितिका पदाधिकारीले अधिवेशन बहिष्कार गरेका थिए।
क्रियाशील सदस्यताबारेको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने मागसहित मल्ल र उनी पक्षीय नेताहरूले जिल्लादेखि केन्द्रीय कार्यालयमा धर्ना र अनशन बसेका थिए। तर, मल्ल पक्षको मागलाई वास्ता नगरी देउवाले प्रहरी परिचालन गरी एकलौटी जिल्ला अधिवेशन गराएका थिए।
स्थानीय निर्वाचन २०७९ मा मल्ल समूह नेपाली कांग्रेस बीपी र एमाले तालमेल गरी निर्वाचनमा गएपछि नेपाली काँग्रेसले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो।
२०७४ सालको निर्वाचनमा डडेलधुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली काँग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए।
तपाईको प्रतिक्रिया