Close This

मुस्ताङमा करिब ३९ हजार पर्यटक भित्रिए

बिहीबार श्रावण १२, २०७९/ Thursday 07-28-22
Paschim Today

मुस्ताङ, १२ साउन । मुस्ताङमा गत आर्थिक वर्ष २०७८र७९ मा करिब ३९ हजार पर्यटक भित्रिएका छन्। अन्नपूर्ण सरक्षण क्षेत्र आयोइलाका संरक्षण कार्यालय जोमसोमका अनुसार साउनदेखि असार मसान्तससम्ममा ३८ हजार ८९६ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।

जसअन्तर्गत मुस्ताङमा ३६ हजार १५३ विदेशी पर्यटक आएका हुन्। २ हजार ७४३ विदेशी पर्यटक राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिएका हुन्। मनाङ हुँदै मुस्ताङ भित्रनेमा ३४४ सार्क मुलुक र २ हजार ३९९ तेस्रो मुलुकका छन्।

मनाङ बाहेक मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये सार्क मुलुकका ३३ हजार ४७३ र तेस्रो मुलुकका २ हजार ६७८ विदेशी पर्यटक रहेको एक्यापले उल्लेख गरेको छ। सार्क मुलुकमध्ये ३३ हजार ४५७ भारतीय र अन्य मुलुकका १६ पर्यटक छन्। अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका छन्।

गतवर्ष ४८ वटा तेस्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकोमा सबैभन्दा बढी फ्रान्सबाट आएका एक्यापका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाकामा तेस्रो मुलुकका पर्यटकलाई ३ हजार, सार्क मुलुकका पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको एक्यापले जनाएको छ। कोरोनाअघिको सामान्य अवस्थामा औसत बर्सेनि ६० हजार विदेशी पर्यटक आउने गरेको एक्यापको रेकर्डमा उल्लेख छ। कोरोना कहरले सुस्ताएको मुस्ताङको पर्यटन गतवर्षदेखि लयमा आउन थालेको हो।