Close This

देशको समग्र अवस्था : अबको बाटो

शुक्रबार श्रावण १३, २०७९/ Friday 07-29-22
डा.ठाकुर मोहन श्रेष्ठ

क) मुलुकको समग्रमा अवस्था : नेपालमा राजनीतिक व्यवस्थाका नाममा सात दशक भन्दा बढी कालखण्ड खर्च भएका छन् । राजनीतिक अन्यौलता र अस्थिरता चुलिदैछन । देशका आधार जमिन, नागरिकता र कानुनमा विवाद र असन्तुष्टि रहेका छन् । विगत सात दशकको राजनीति देशका मूल स्तम्भहरू मास्नमा केन्द्रीय रह्यो । अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेकीहरूसँगको कूटनीतिका जगहरू खलबलाइएका र राष्ट्रिय स्वाधीनतामा खेलाँची भएका छन् । संविधान, संसद्, दल र नेतृत्वहरू पटक पटक असफल भए, परनिर्भरता, युवा पलायन, नीतिगत भ्रष्टाचार, अत्याचार, अनियमितता, सामाजिक विकृति र विसङ्गति झन् झनै चुलीदैछन ।

विश्व मानवता, आतङ्कवाद तथा स्वतन्त्र देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताका सन्दर्भमा नेपालले शिर ठाडो गरेर राख्न सकिने तथ्यगत यक्ष प्रश्नहरू छन् । २००४ सालको अन्तरिम संविधानदेखि २०७२ को नेपालको गणतन्त्रात्मक संविधान समेत गरी आठ वटा संवैधानिक व्यवस्थाका अभ्यास भए । निकट भविष्यमा थप आठौँ वा नवौँ संवैधानिक प्रावधान तयारी हुँदै गरेको आकलन गरिन्छ ।

सुधार परिवर्तनका नाममा हरेक क्रान्ति र आन्दोलनले उपलब्धि केवल बाह्य हस्तक्षेप सिवाय केही हुन सकेन । आतङ्ककारी घोषित गरी मूल्य तोकिएका टाउकाहरू र मूल्य तोक्ने टाउकाहरूको कारण १७०००ं नेपालीहरूको रगतको आलमा नेपालको सनातन पहिचान, परम्परा, राष्ट्रिय स्वाधीनता माथि खेलबाड तथा  प्राकृतिक साधन र सम्भावनाहरूको दोहन भइरहेका छन् । 

राष्ट्रघाती १२ बुँदेको जगमा हस्किएका र पछिल्ला दिनमा विपरीत राजनीतिक विचारधाराका दलहरू बिच अप्रत्याशित गठबन्धनले अव कुन राजनीतिक सिद्धान्तका दललाई मत दिने ? भन्ने गम्भीर प्रश्न उठाएको छ । राज्यका ती नै अङ्गहरू (व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका)निष्क्रिय तुल्याइएको छ। चौथौँ अङ्ग पत्रकारिता र सञ्चार समेत दलीयवाद र बाह्य शक्तिको पहुँचमा रहेको दुरावस्था छ। राज्यको ढुकुटी, अर्थतन्त्र वित्तीय अवस्था लगायत हरेक दृष्टिले नेपाल असफल राष्ट्र उन्मुख रहेको छ ।आयातित सङ्घीय लोकतान्त्रिक गणतन्त्र असफल र अनुपयुक्त साबित भइसक्यो । 

नेपालमा राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने र हाम्रो सम्पूर्ण ऊर्जा सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिका लागि एकाग्र रूपमा केन्द्रित गर्ने प्रयासमा पटक पटक अवरोध सिर्जना भएका छन् । देशका विरुद्ध ठुला दल र कार्यकारी सरकार नै अरूका लागि कम्फर्टेवल बनी दिनु र राष्ट्रिय सेना समेत विवादमा मुछिनुदुर्भाज्ञ हो । भरखरै दुवै सदनबाट पास भएको नागरिकता विधेयकको केही प्रावधानले रैथाने र आयातित नागरिक बिच खाडल पैदा गरी भविष्यमा सामाजिक सद्भाव बिथोल्ने र द्वन्द्वको लागि थपमलजल हुने कुरा नकार्न सकिँदैन । समग्रमा देशमा नागरिकको गाँस, वास, कपास, स्वास्थ्य र शिक्षाको प्रबन्धका लागि साधन स्रोतको न्यूनतामा अनुत्तरदायी दलाल पात्र र प्रवृत्तिको मार थप हुन नै मूल समस्या हो । 

ख) स्थानीय निर्वाचन २०७९ को सन्देश : पुराना पात्र र प्रवृत्तिमा व्यापक पुनरावृत्ति भए पनि स्वतन्त्र उम्मेदवारहरूका विजयीले दल प्रति अविश्वास, राज्य शक्तिको अवैध दोहन गर्ने भ्रष्ट पुस्तालाई भूगोल र जातभात भन्दा माथि उठेर विस्थापित गरिनुपर्ने सङ्केत गरेको छ । स्थानीय तहमा गैर दलीय पद्धतिको चुनाव प्रणालीको उपादेयता तथा स्थानीय समस्या, सदाचार, विकासको प्रतिवद्धता  र नागरिकको एजेण्डा लिएर राजनीतिलाई सेवा बनाउनु पर्ने एवं राज्यको सांस्कृतिक धरोहरहरू, इतिहासको संरक्षण र राष्ट्र निमार्णको योगदानको सम्मान हुनुपर्ने धारणागत सन्देश दिएको छ । 

२०७४ को स्थानीय निर्वाचनमा भन्दा १० प्रतिशत कम मतदान हुनुले निर्वाचन र दलीय राजनीतिप्रतिको वितृष्णाको सङ्केत हो। कर्मचारी, सुरक्षा राष्ट्रसेवकहरू र कैदी एवं विदेशमा रहेका नेपालीहरूको मताधिकार तथा नो भोट, राइट टु रिजेक्टको आवश्यकतालाई प्रबन्धकीय व्यवस्थापन सहित कार्यान्वयन हुनु पर्नेमा सशक्त अबाज उठेको छ ।

भविष्यको निर्वाचनमा ठुला कर्पोरेट हाउसका अकुत काला धनको चलखेल अझै बढ्ने मनि, मस्शल सक्रिय हुने, बागी, विद्रोही र स्वतन्त्र उम्मेदवार बढ्ने छ । कुनै पनि दलले दुई तिहाइ बहुमत ल्याउने अवस्था देखिँदैन। मुलुकमा राजनीतिक अस्थिरता थुप्रने, सुरक्षा फितलो हुने, राष्ट्रिय राजनीतिको बागडोर देश बाहिर रहने फलतः नागरिक मौन विद्रोह हुने र वैकल्पिक शक्ति निर्माण हुने देखिन्छ । 

ग) जन्मथलो सुदूरपश्चिमलाई अपिल र अबको बाटो : उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेशबाट अन्तर्राष्ट्रिय सीमामा आबद्ध सुदूर पश्चिम क्षेत्रको सनातन संस्कृति, प्रकृति, सभ्यता र गौरव गाथा बोकेको डोटेली संस्कार, संस्कृतिको ऐतिहासिक पृष्ठभूमि नेपालको सम्पत्ति हुन । मुलुकको हरेक परिवर्तन तथा विविध विधाहरूमा विशेष सहभागिता र योगदान पुगाउँदै आएको इतिहास साक्षी छ । सनातन उत्कर्ष स्थान विशेष तथा भौगोलिक सुन्दरताको बावजुत पनि आधुनिक विकासका दृष्टिले विकटताका कारण सामाजिक जनजीवनमा तथा समग्र उत्पादन र विकासमा समेत कठिनाइ रहेको जग जाहेर छ ।

आधारभूत आवश्यकताहरूको परिपूर्ति, बेरोजगारी, भोकमरी, सुकुम्वासी समस्यादेखि सामाजिक सद्भावका चुनौती उत्तिकै छन् । सीमित ब्यक्तिबिशेष र गुट मोटाए पनि बाँकी  ज्यूँ का त्यूँ अवस्थामा छन्। सिहँदरवारबाट  शासन पद्धतिका अधिकार भन्दा कु तन्त्र र अकुत भ्रष्टाचार अनुत्तरदायीपन गाँउ सहरमा फैलिनु, महाकाली तथा पश्चिम सेती जस्ता सम्भावनाहरू कौडीका भाउमा बेचिनु, कतिपय जिम्मेवार नेता र विज्ञ तथा व्यवसायीहरू देशका बन्न नसक्नु, जल, जमिनमा खेलाची हुनु हाम्रा दुर्भाग्य हुन । 

हुनु नहुनु सबै भए तर साझा हकहितका लागि भएन । बाँदर हिँड्न कठिन उत्तर सिमानाका भिरमा रक्त चन्दन तस्करका भरियालाई राज्यकोषबाट हेलिकोप्टरमा रेस्क्यु दिनु परे, दक्षिण सीमामा सुन,चाँदी, नुन,लसुन, ढुंगामाटोदेखि दैनिक जीवन यापनमा वस्तुहरू तस्करीमा निर्भर हुने दयनीय अवस्था छन् । राष्ट्रसेवक र नागरिक भिडाएर टीकापुरमा सुनुयोजीत किसिमले भएका बीभत्स हत्या प्रकरण, निर्मला केशमा सही अनुसन्धानमा राजनीतिकरणका दबाबले गलत सञ्चार प्रवाह भएका छन् । नेपालका जमिनको हकका लागि उभिएका कञ्चनपुरका गोविन्द गौतम र महाकाली नदी तर्दा तुईन काटिएर जयसिंह धामी मारिएका छन्। सीमा विवाद लिपुलेक, कालापानी र लिम्पियाधुरामा अस्मिता रोइरहेको छ । सहरी विकासकामा नाममा सदरमुकाम फेरवदल र इतिहास ओझेलमा पार्ने नेताका ललिपपका घटिया खेलको भाजनमा नागरिक अलमलमा पारिएका छन्। 

नेपालमा समस्या मात्र होइनन् प्रशस्त सम्भावनाहरू पनि छन् । नेपाल एकिरणको कान्छो नेपाल सुदूर पश्चिम पनि अपवाद छैन । खाँचो छ सुधारवादी ईमान्दार साहसिक नेतृत्वहरूको। संस्कृति, प्रकृति र आधुनिक प्रविधिको सन्तुलित उपयोग गरौँ। क्षणिक लाभ र पैसाका भरमा गर्ने राजनीतिक सेण्डीकेट सदाका लागि बन्द गरौँ। अव असल नागरिकहरू राजनीतिमा सक्रिय नहुने हो भने, खराब भ्रष्ट र असक्षमबाटै शासित हुनु पर्ने छ । 

मुल्य मान्यताहिन राजनीतिक दल र भ्रष्ट दलाल नेताहरूको राजनीति संहार गर्ने दिन आयो। चौतर्फी दिगो शान्ति र दिगो विकासका लागि ‘गाउँ फर्क फर्क, देश बन्छ बन्छ’ आदर्श नारा सहित देशका हिमाल, पहाड र तराइ मधेसका अनुभवी विज्ञ तथा सम्पन्न नागरिकहरू आ–आफ्नो जन्मथलो तिर आम सुधार विकासका लागि यथासम्भव कुनै न कुनै रूपमा फर्केर सक्रिय आबद्धता कायम गरी निरन्तरता दिऔँ ।

देशको सनातन पहिचान, परम्परा, राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्र, आर्थिक क्रान्ति, सामाजिक रूपान्तरण, समृद्धिका, स्वाभिमान र मानवताका लागि सम्पूर्ण सम्पूर्ण ऊर्जा केन्द्रित गर्ने वैकल्पिक राजनीतिक शक्ति र सुधारवादी नेतृत्व प्रवृत्ति आजको आवश्यकता हो । माध्यम धिमा गतिको सदन (निर्वाचन)भन्दा सबै पक्षहरू अटाउने वृहत् राष्ट्रिय गोलमेच वा सडक (नेपाली बलबुताको नागरिक आन्दोलन) नै हो । सही पहिचान र सही परिचालनको नीति अवलम्बन हुँदा अरूको वैशाखी टेक्नु पर्ने छैन । 

अन्यथा, नेपाल त रहला तर गरिमामय सनातन पहिचान हराउने र नेपाली स्वाभिमानको नुर अझै गिर्ने छ । मातृभूमिमा विदेशी बुटहरूले धित मर्ने गरी परेड खेल्नेछन् । कालान्तरमा भावी पीढीहरूले राजा,  नेता गण, मुलुकका सबै अङ्गहरूका उच्च पदाधिकारीहरू, विज्ञ विशेषज्ञहरू, योजनाकारहरू तथा प्रशासन, सेना र प्रहरी राष्ट्र सेवकहरूलाई औला ठड्याउने छन् । 

अतः प्रजातन्त्रवादी नेता स्व. वि.पी. कोइरालाको सारगर्भित भनाइ देशको बारेमा दुबिधा भएमा निर्णय लिनुपर्दा मातृभूमिको एक मुठी माटो एउटा हातमा समात्नुस्, अर्को हात छातीमा राख्नुस्, एकाग्र भएर सोच्नुहोस्, अनि मनमा जे आउँछ त्यही निर्णय गर्नुहोस् भन्ने मर्मको आदर्श भावलाई मनन गरी निर्णय लिएर गोलबद्ध हौ नेपाल र नेपाली बचाउन र बनाउन आत्म मूल्याङ्कन गरेर। अस्तु !

( लेखक श्रेष्ठ, डोटी सिलगढी इन्द्रचोक (बुढानलिकण्ठ चपली, काठमाडौँ), राष्ट्रिय अध्यक्ष, नेपाल नागरिक अभियान तथा अवकाश प्राप्त स.प्र.अ.म.नि.  हुन् ।)