Close This

सहर देखि गाउँ सम्म

मंगलबार श्रावण १७, २०७९/ Tuesday 08-02-22
Paschim Today

सहरमा समृद्धि छ रे

त्यही बाट हाम्रो गाउँमा आउँदैछ

आशै आशका कैयौँ वर्ष बितिसके

सहरको समृद्धि गाउँ पुगेन

कति नै टाढा छ र त्यो सहर

मान्छेले चन्द्रमा टेकी सके

मङ्गल ग्रहमा जीवावशेष खोज्दैछन

अन्तरिक्षको अन्वेषण गर्दैछन

तर त्यो सहर बाट

हाम्रो गाउँमा पुग्न सकेका छैनन्

भोग,रोग,गरिबी चिन्न सकेका छैनन्

सत्य,सत्य,धरोधर्म न्याय छिन्न सक्या छैनन्

हरेक पटक समृद्धि ,विकास र उन्नतिका

सुन्दर सपना बाँड्यो

सहर सँग स्वर्णिम रहर  छ र

अनगिन्ती सपना बाँडछ

सहरमा रहेको दरवारमा

गाउँको ख्याउटे तस्बिर छ की छैन

दरवारमा बस्नेले गाउँलाई चिन्छन् कि चिन्दैनन्

आज कुलो को पानी खोला बाट आउन छोडिसक्यो

खेतबारीको मल गोठ बाट ल्याउन छाडी सके

वस्तु भाउ घाँस खाँदैन चारा दाना मात्र खान्छन्

जडीबुटी ,ओखती मुलो छोडी सके

हरेक चीज सहर कै ल्याउनु पर्छ

गाउँ सहर निर्भर भएको छ

गाँस,वास,कपास का लागि

शिक्षा,स्वास्थ्य,सुरक्षाका लागि

सहरको मुख ताक्नु परेको छ

समृद्धि गाउँ आउने बाटो बनेको छैन क्या हो

सहर देखि गाउँ पुग्न समय लाग्छ कि

बाटो बिराएर अन्तै लाग्यो कि

आजको सहरमा असन्तोष निकै छ

विभिन्न विकल्पको खोजी हुँदैछ

सहर नेतृत्वको प्रतीक बनेको छ

सहर दाता बनेको छ

हेक्का रहोस् नेतृत्वका लागि मतदान गर्ने

गाउँ मा नै बस्छन्

गाउँमा घैला मैला मात्र होइन

सुन्दर परिकल्पना पनि बस्छन्

गाउँमा गरिबी भोकमरी मात्र होइन्

प्रशस्त सम्भावना पनि छन्

गाउँको विकास बिना देशको विकास संभाव छैन

हरेक सहरले गाउँ जोडने बाटो खन्नु छ

गाउँ जाऊ गाउँलाई हेरौँ भनी

सहरको विश्वास गाउँ पुर्‍याउन आवश्यक छ

गाउँका सुन्दर परिकल्पना सँगाल्दै

गाउँका नयाँ सम्भावना पहिल्याई

समृद्धि सँगै जोड्नु छ

उन्नति अभाव रुगेर मात्र बस्दैन

गाउँ तथा सहरमा

हरेक सम्भावना का ढोका खुला हुन्छन्

गाउँ र सहरको दुरी बढ्दै गए,

विश्वास भत्किए विद्रोह हुन्छ

एउटा सुन्दर बाटो निर्माण गर्नु छ

जसले गाउँ र सहर जोडने छ

जसले सुन्दर परिकल्पनालाई

योजनमा समेट्ने छ

नयाँ सम्भावना पहिल्याइ

उन्नति ,विकास,समृद्धि सँगै हिँडाउने छ

गाउँ पनि हाम्रै हो,सहर पनि हाम्रै हो

विश्वास सृजना गर्ने मन्त्र चाहिएको छ

गाउँदेखि सहर, सहरदेखि गाउँ जोडने

सूत्र चाहिएको छ ।

 

- कैलाशकुमार पाण्डेय

परशुराम १२ डडेल्धुरा