Close This

घर नबन्दा समस्यामा अग्नीपीडित मुक्त कमैया

मंगलबार श्रावण १७, २०७९/ Tuesday 08-02-22
Paschim Today

धनगढी,१७ साउन । सहयोगी निकायले दिएको टेन्ट कुहिन थाल्यो । अस्थायी टहराले घामपानी रोक्दैन । घर नबन्दा समस्या भइरहेको छ । यो विपद् हो, अग्नीपीडित विपतपुरका मुक्त कमैया परिवारको ।

घरबारविहीन भएको उनीहरु समस्यामा छन् । आगलागीबाट घर सम्पत्ति जलेको तीन महिना भइसक्दा पनि घर नबन्दा कैलारी गाउँपालिका–७ विपतपुरका अग्नीपीडित मुक्त कमैयाको विचल्ली भएको छ ।

घर नबन्दा पीडित मुक्त कमैया समस्यामा परेका हुन । तीन महिनादेखि टेन्टमा बस्दै आएका उनीहरुलाई वर्षा याम कटाउन धौ–धौ भएको छ । संघसंस्थाले दिएको टेन्ट घामपानीका कारण कुहिन थालेकाले समस्या बल्झिएको पीडितहरुको भनाइ छ ।

गएको वैशाख ११ गते भीषण आगलागी हुँदा ३५ घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । ३६ घरमा भने आंशिक क्षति भएको थियो । घर सम्पत्ति खरानी बनेका परिवार सोही समयदेखि टेन्टमा बस्दै आएका छन् । कतिपयले स–साना टहरो बनाएका छन् ।

उनीहरुले अहिलेसम्म घर बनाउन सकेका छैनन् । घर नभएकाले घामपानीसंग जुधेर बस्न बाध्य भएको पीडित मुक्त कमैयाको भनाइ छ । उनीहरु वर्षा नहोस भनेर कामना गर्दै बस्दै आएका छन् । ‘पानी पर्ने बित्तिक्कै टेन्टबाट पानी चुहेर भिज्ने गरेका छौं’, पीडित जानकीदेवी चौधरीले भनिन्–‘सकेसम्म पानी नै नपरोस भन्दै बस्दै आएका छौं । बर्खामा झन समस्या भएको छ ।’ 

घर नहुँदा वर्षा याममा बालबालिकालाई घामपानीबाट जोगाउन समस्या भएको पीडित मुक्त कमैयाले बताएका छन् । उनीहरुको बसोबासका लागि सुदूरपश्चिम प्रदेश सरकारले सुरक्षित आवास निर्माणको आश्वसन दिएको थियो । घर बनाउनका लागि आफूहरुसंग काठसमेत नरहेकाले सरकारको प्रतिक्षामा रहेको गाउँका भलमन्सासमेत रहेका पीडित हिङ्गु चौधरीले बताए ।

‘हाम्रो सम्पत्ति, काठ सबै खरानी बनेकाले केही पनि छैन’, उनले भने–‘सरकारले घर बनाइ दिन्छौं भनेको थियो । त्यसकै आशामा बसेका छौं ।’ भलमन्सा चौधरीले घामपानीका कारण टेन्ट जीर्ण बनिरहेकाले सकेसम्म चाँडै घर बनाइ दिन सरकारलाई आग्रह गरेका थिए ।

पीडित मुक्त कमैयाहरुलाई यसअघि, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले नगद सहयोग गरेका थिए । यसैगरी, अन्य निकाय र सङ्घसंस्थाले पनि नगद, खाद्यान्न लगायत सहयोग गरेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत सुरक्षित आवास बनाइ दिने प्रतिवद्धता जनाएको छ ।आफूहरु सहयोगबाटै गुजारा गर्दै आएकोमा हाल खाद्यान्न सकिएर कतिपय परिवारलाई समस्या भएको स्थानीय दाउराम चौधरीले बताए । ‘पाएको सहयोग खेतीपातीको कार्यमा लगायौं’, उनले भने–‘झन यो वर्ष सबै चिज महँगियो ।’ विभिन्न निकायबाट पाएको सहयोगले यसवर्ष खेतीपाती गरेको उनको भनाइ थियो । 

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अग्नी पीडित मुक्त कमैयालाई घर बनाउन काठ दिनका लागि डिभिजन वन कार्यालयलाई सिफारिस गरिसकेको बताए । वनले काठ दिने उल्लेख गर्दै उनले घर बनाउन रकमको व्यवस्था भने सुदूरपश्चिम प्रदेश सरकारले गरेको जानकारी दिए ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत अग्नी पीडित मुक्त कमैयाको घर बन्ने जनाइएको छ । मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घ बिनाडीले पीडित मुक्त कमैयाको घर बनाउनका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन भएको जानकारी दिए । घर बनाउनका लागि कार्यविधि बनाउने कार्य भइरहेको उनले उल्लेख गरे । ‘कार्यविधि बन्ने बित्तिकै घर बनाउने कार्य सुरु हुन्छ’, उनले भने–‘ह्याविटाट फर ह्युमानिटी नेपालको प्राविधिक सहयोगमा मन्त्रालयले अग्नी पीडितको घर बन्नेछ ।’

वैशाखमा गहुँका नाल जलाउनका लागि लगाइएको आगो मुक्त कमैया बस्तीमा पुगेको थियो । भीषण आगलागीबाट ठूलो नोक्सान भएको थियो । मुक्त कमैयाले आफूले शरीरमा लगाएको कपडाबाहेक केही जोगाउन सकेका थिएनन् ।