Close This

फेरि थुप्रियो राजधानीमा फोहोर

बिहीबार श्रावण १९, २०७९/ Thursday 08-04-22
Paschim Today

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकाको सडकछेउमा फेरि फोहोर थुप्रिन थालेको छ। उपत्यकाका विभिन्न सहर तथा गल्लीहरूमा फोहोर उठ्न नसक्दा दुर्गन्ध बढिरहेको छ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आगामी भदौ १ गतेबाट फोहोर फाल्न रोक्ने बताउँदै आएका छन्।उनीहरूले दिएको समयसीमा अगाडिनै काठमाडौंमा पुनः फोहोर थुप्रिन थालेको हो। यसैबीच महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसक्दा पनि पहिरो र बाटो मर्मतका कारण कार्यान्वयन हुन सकेको छैन।

काठमाडौं महानगरका सह-प्रवक्ता महेश काफ्लेले बञ्चरेडाँडा र सिसडोल जाने बाटो पुनः बिग्रिएको कारण फोहोर उठ्न नसकेको बताए। ‘सिसडोल जाने बाटोमा माथि डाडाँबाट माटो खसेर बाटो पुनः अवरूद्ध भएको छ। गाडीहरू पनि फसेका छन्,’ उनले भने, ‘त्यसैले फोहोर उठ्न नसकेको हो।’

काफ्लेले सडक विभागलाई पनि सडक बनाउन अनुरोध गरिसकेको र केही दिनपछि फोहोर पुनः उठ्ने बताए। ‘हामीले सडक विभागलाई भनिसकेका छौं। म पनि भर्खर मात्र सिसडोल पुगेर अवलोकन गरेि आएको हुँ,’ उनले भने, ‘पाँच-छ दिनमा फोहोर उठ्छ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जनशक्ति थप गरेर सडक निर्माण सम्पन्न गर्ने र फोहोर उठाउन सुरू गर्ने भनिएपछि अझै फोहोर उठेको छैन।