Close This

धनगढीको पञ्चोदय माविमा ‘जीवन ज्योति’ छात्रावास भवनको उद्घाटन

शुक्रबार श्रावण २०, २०७९/ Friday 08-05-22
Paschim Today

धनगढी,२० साउन ।धनगढी उपमहानगरपालिका -५ स्थित पञ्चोदय माविमा दृष्टि बिहीन विद्यार्थीहरुका लागि निर्माण गरिएको जीवन ज्योति छात्रावास  भवनको उद्घाटन गरिएको छ ।

नर्वेको ईनफिल फाउण्डेसनको सहयोगमा च्यारिटी हेल्थ फाउण्डेसनले एक करोड ४३ लाख रुपैयाको लागतमा निर्माण गरेको १२ कोठा र सभा हल सहितको छात्रावास सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले शुक्रवार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

२०४० साल जेठ २ गते स्थापना भएको जीवन ज्योति छात्रावास जीर्ण भएपछि दृष्टि बिहीन विद्यार्थीहरुलाई पठनपाठन र बसोबासमा समस्या भएको थियो। सो समस्या जानकारी पाएपछि विद्यालयको आग्रहमा च्यारिटी हेल्थ फाउण्डेसनले इनफिल फाउण्डेसनको सहयोगमा छात्रावास निर्माण गरेको हो।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार प्रा.डा. हेमराज पन्तले अवसर पाए दृष्टिविहीन व्यक्तिहरुले पनि समाजलाई योगदान पुर्याउन सक्ने बताउदै उनीहरुलाई दया भन्दा अवसरको खाँचो रहेको बताए ।

सामाजिक विकास मन्त्रि गोविन्द बोहराले प्रदेश सरकारले पञ्चोदय माविलाई नमूना विद्यालय बनाउन चालु आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरेको बताए  ।मन्त्रि बोहराले जीवन ज्योति छात्रावास  निर्माणमा सहयोग गर्ने सबै संस्थाप्रति आभार व्यक्त गरे ।

 

No description available.

उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास निर्माण गरेकोमा च्यारिटी हेल्थ फाउण्डेसन र ईनफिल फाउण्डेसनलाई धन्यवाद दिए ।

पञ्चोदय माविकी पूर्व शिक्षिका रुपा राईले जीवन ज्योति छात्रावासबाट हालसम्म ५६ जना दृष्टि बिहीन छात्रछात्राले एसएलसी पास गरेको र ती मध्ये १८ जना शिक्षण पेशामा आबद्ध रहेको जानकारी दिईन ।

विद्यालयका प्रधानाध्यापक हरिश कुमार ओझाले जीर्ण भवनका कारण पठन पाठन र बसोबासमा समस्या झेल्दै आएका दृष्टि बिहीन विद्यार्थीहरुलाई नयाँ भवन निर्माणले पठन पाठन र बसोबासमा अत्यन्त सहज हुने बताए ।

 

No description available.

उनले बिगतमा २०/२२ जना दृष्टि बिहीन विद्यार्थी मात्र राख्न सकिने छात्रावासमा अव ५० देखि ६० जना राख्न सकिने बताए । च्यारिटी हेल्थ फाउण्डेसनका अध्यक्ष बरिष्ठ नेत्र विशेषज्ञ डा. विद्या प्रसाद पन्तले ईनफिल फाउण्डेसनको सहयोगमा करीव डेढ करोड रुपैयाको लागतमा छात्रावास निर्माण गरेको बताए । उनले दृष्टि बिहीन विद्यार्थीहरुको पठ्न पाठनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।

च्यारिटी हेल्थ फाउण्डेसनले हालसम्म सुदूरपश्चिमका सबै जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । डा. पन्तले हालसम्म १५ हजार शल्यक्रिया  गरिसकेको ३० हजार जनालाई निशुल्क चस्मा बितरण गरिएको जानकारी दिए । फाउण्डेसनले बिगत चार वर्षदेखि निशुल्क शव बाहन पनि सञ्चालन गर्दै आएको छ । उद्घाटन कार्यक्रम पञ्चोदय माविका अभिभावक संघका अध्यक्ष ज्योति भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।