के हो मेसेन्जरको 'बम्प' फिचर, कसरी प्रयोग गर्ने?

सोमबार श्रावण २३, २०७९/ Monday 08-08-22
Paschim Today

फेसबुकले मेसेन्जर एपमा नयाँ फिचर सार्वजनिक गरेको छ। कम्पनीले हालै मेसेन्जर एपमा 'बम्प' फिचर सार्वजनिक गरेको हो।

यो फिचरको मद्दतमा प्रयोगकर्ताहरूलाई च्याट गर्न अर्थात् कुराकानी गर्न थप सहज बनाउनेमा कम्पनी विश्वस्त रहेको प्रविधि वेबसाइट द भर्जमा उल्लेख छ। कसरी प्रयोग गर्ने बम्प फिचर?

मेसेन्जरको नयाँ बम्प फिचर च्याट रिप्लाई जस्तै हो। तर रिप्लाई गर्नुभन्दा यो फिचर अलि भिन्न छ। जस्तै, मानौं तपाई कोहीसँग कुराकानी गर्दै हुनुहुन्छ। तपाईले एकैपटक ती व्यक्तिलाई धेरै प्रश्न सोध्नुभयो। 

यसरी थुप्रै प्रश्न एकैपटक तपाईले मात्र पठाउने र उताबाट रिप्लाई हुने गर्दा कतिपय समय केही प्रश्नको जवाफ (रिप्लाई) छुट्छ। यस्तोमा तपाईको जुन प्रश्नको रिप्लाई छुटेको हो, त्यो मेसेजलाई बम्प गर्न सक्नुहुन्छ। 

अघि पठाइसकेको मेसेज बम्प गर्दा मेसेज पाउने व्यक्तिले पुनः तपाईले पठाएको मेसेज पुरै पाउँछ। उक्त बम्प फिचर सार्वजनिक हुनुभन्दा पहिले तपाईले सोधेको प्रश्न छुट्दा पठाएको मेसेजमा आफैले रिप्लाई गर्दै केही लेखेर पठाउन पर्ने हुन्थ्यो। अब भने मेसेज बम्प गरेर पहिले पठाएको पुरै मेसेज फेरि पठाउन सकिन्छ। 

यसबाहेक कोही व्यक्तिसँग गरेको कुराकानी सम्झाउन पनि मेसेज बम्प फिचरको प्रयोग गर्न सकिन्छ। मेसेज बम्प गर्नको लागि प्रयोगकर्ताले जुन मेसेज बम्प गर्न चाहेको हो, त्यसमा केहीबेर थिच्नुपर्ने हुन्छ। यसपछि स्क्रिनको सबैभन्दा तल तीनवटा थोप्ला देख्न सकिन्छ। यसमा थिचेपछि ‘बम्प’ विकल्प देखिन्छ। बम्प लेखिएकोमा थिचेपछि तपाईको मेसेज बम्प हुन्छ।