सुदूरपश्चिममा थपिए ३७ हजार बढी नयाँ मतदाता

बुधबार श्रावण २५, २०७९/ Wednesday 08-10-22
Paschim Today

धनगढी,२५ साउन  । सुदूरपश्चिममा ३७ हजार बढी नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रदेशका नौ वटै जिल्लामा गरी ३७ हजार २ सय ६१ नयाँ मतदाता थपिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट उक्त नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार कैलालीमा ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका छन् भने कञ्चनपुरमा  ९ हजार ८ सय २८,बाजुरामा १ हजार ३ सय ६४ जना नयाँ मतदाता थपिएका हुन् । यस्तै  अछाममा ४ हजार ८०,डोटीमा २ हजार १ सय ७२, बझाङमा १ हजार ६ सय ५९ नयाँ मतदाता थपिएका हुन् ।

उता डडेल्लधुरामा २ हजार २ सय ५८, बैतडीमा २ हजार ८ सय ६ र दार्चुलामा १ हजार ६ सय ६४ नयाँ मतदाता थपिएका हुन्  ।

यसैबिच सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरू प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् ।सङ्घीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरूले तयारी अगाडि बढाएका हुन । सरकारले आउँदो मङ्सिर ४ गते प्रदेश तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ ।

स्थानीय तहको निर्वाचन सकिएपछि असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको कार्य अगाडि बढाइएको थियो । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले सो कार्यलाई रोकेर तयारीमा जुटेका छन् । अब निर्वाचन सामग्री चेकजाँचको साथै आयोगलाई विवरण पठाउने लगायतको तयारीको काम भइरहेको निमित्त प्रमुख भट्टले जानकारी दिए ।