Close This

साउनमा हरिया चुराको छन् छन्

आइतबार श्रावण २९, २०७९/ Sunday 08-14-22
पवनकुमार भट्ट

नेपाल बहु जातीय, बहुभाषीय, बहुधार्मीक बहुसांस्कृति तथा भौगोलिक विविधता युक्त देशका नामले  चिनिन्छ । यहाँ थुप्रै प्रकारका प्रथा र परम्परा रही आएका छन् । हाम्रो गाउँ समाजमा जुनसुकै कार्यको थालनी गर्दा ईष्टकुलदेवलाई सम्झने चलन रहिआएको छ । वर्षभरि देवीदेवताको पूजा अर्चना गरिए पनि साउन महिनामा भगवान् शिवको विशेष पूजा अर्चना गर्ने चलन विगत देखिनै यहाँ रही आएको पाइन्छ ।

साउनको महिनामा महिलामा मात्र हैन किसानका बारी देखि उराठ लाग्दा नँंगा डाँडा, गाउँ शहरका शिबमन्दिर देखि सबैका आराध्यदेब पशुपतिनाथको मन्दिरसम्म हरियाली छाएको देखिन्छ । साउनमा सर्वसाधारण देखि नेपाल सरकारका उपल्लो निकाय तथा राजनीतिक दलसम्मका महिलामा जताततै हरियाली छाएको छ । हामी कहाँ कतिपय कुराको महत्त्व बुझेर काम गर्नु भन्दा पनि देखासिकिकै भरमा काम गर्ने चलन हिजो पनि थियो आज पनि छ र भोलि पनि यो रहिरहन्छ  भन्दा आपत्ति नहोला । कागले कान लग्यो भन्दा आफ्नो कान छाम्नुको सट्टा कागको पछि दौडी हाल्नेको जमातगाउ समाजमा भेटिन्छ । आफ्नो दक्षता, चेतना, शक्ति र हैसियत अनुसारको काम गर्नु भन्दा पनि समकक्षीले जे ग¥यो त्यहिगर्ने चलन आज मात्र हैन नेपाली समाजमा विगतका दिनमा पनि थियो । 

हाम्रो समाजमा शक्ति र सामर्थ्य भन्दा पनि रिन गाडेर भए पनि बिहेको पार्टी दिनै पर्ने, हातमुख जोर्न धौ धौ भए पनि ह्यापी बर्थे डे टु यु भन्नै पर्ने, देखाउनकै लागि भए पनि केक काटनै पर्ने, चाउरी परेकाले पनि वैवाहिक बर्षगाठ मनाउन मान्छे जम्मा गरेर खुवाउनै पर्ने, घरका ज्येष्ठ नागरिक पानी खान नपाई छटपटाई छटपटाई स्वर्ग भए पनि क्रिया बसेका बेला फलफूल, कोक फयाण्टा खुवाउनै पर्ने, गरगहना लुगा फाटा आफ्नो नभए पनि अर्काकै लाएर भए पनि टिकटक बनाउनै पर्ने, छिमेकीले रुद्री पाठ गराए अर्कालेनै त्यै गराउनै पर्ने, कसैले हरियो चुरा लगाए त्यो सबैले लगाउनै, तीजको एक महिना पहिला देखिनै नै दरका नामामा दारु खाने दिन आएका छन्। 

साउनमा महिलाले लगाउने हरिया चुरा, हरियो पहिरन, पोते तथा गरगहना, मेहन्दी र खानाको परिकारमा देखासिखिकै भरमा नेपाली समाज भौतारिदै हिँडेको  पाइन्छ । मन्दिर होस  वा पार्टी प्यालेसमा गएको बेलामलाई एउटा प्रश्नले बारम्बार घोची रहन्छ के महिलाहरूको घाटीमा सुनको जाँतो झुण्डयाई दिएमा उनीहरू बर्त बसेको बेलामा बोक्न सक्लान् रु यसमा अपवादबाहेक सबैले बोक्छन् भन्ने नै उत्तर आउँछ होला । महिलाले साउनमा लगाउने हरिया चुरा तथा पहिरन कहाँबाट कसले किन लगाए भन्ने बारेमाशोध खोज गर्ने हो भने यसको खासै कुनै लिखित दस्तावेज भेट्न सकिँदैन तर हातमा मेहन्दी लगाउने चलन भने मिथिलाका मानिसले सुरुवात गरेको इतिहास पाइन्छ । त्यसै गरी आदी बासी जनजाति मध्येका राना थारुहरूले शरीरका विभिन्न भाग माहरूमा विगतका दिन देखिनै मेहन्दी लगाउने, टाटुबनाउने चलन रही आएको पाइन्छ । इतिहासका पानामा राजा पृथ्वी नारायण शाह र जय प्रकाश मल्लको पालाबाट यसको सुरुवात भएको भनी उल्लेख गरेको पाइन्छ ।  

हाम्रो समाजमा पछिल्लो वर्षहरूमा हात भरी हरियो चुरा र जिउमा महँगो पहिरन तथा गरगहना लगाउने र रातभरि टोल टोलमा मान्छे सुतेको समयमा ठुलो स्वरमा क्यासेट बजाएर भड्किलो नाच नाचेर साउनको सोमबार मनाउने कुराले प्रश्रय पाइरहेको छ ।  साउनको महिनामा हरिया चुरा र पहिरन के का लागिलगाउने भन्दा पनि देखासिकिकै भरमा जताततै बालक, विद्यार्थी, मजदुर, गृहिणी, नर्स, डाक्टर, वकिल, इन्जिनियर कर्मचारी आदि सबै तह र तप्काका महिलाको  हातमा हरियालीको एक छत्रराज देखिन्छ । 

नेपाली समाजमा अरू महिनामा विविध प्रकारको चुरा तथा पहिरन लगाए पनि साउन महिनामा हरियो चुरा र पहिरन लगाउने परम्पराको थालनी केही वर्ष यताबाट मात्र भएको देखिन्छ । हाम्रो समाजमा देवी देवताको स्थान उच्च रहेको छ । यहाँ प्रत्येक समुदायका आ-आफ्नै प्रकारका देवी देवता रहेको पाइन्छ । सबै समाजमा आआफ्ना देवतालाई पूजा अर्चना गर्ने चलनमा पनि भिन्नता पाइने भएकाले होला नेपाललाई विश्वमा मन्दिरको सहर भनेर पनि चिनिने गरेको छ । प्रायजसो सबैले साँझ बिहान भगवान् शिवलाई मान्ने गरेको देखिए पनि साउन महिनाको सोमबार भगवान् शिवको प्रिय दिन भएकाले उक्त दिन शिवको स्तुति तथा पूजा अर्चना विशेष तरिकाले गरिन्छ । 

साउन महिनामा कुनै वर्ष चार वटा सोमबार परे पनि यस वर्ष भने २, ९, १६, २३ र ३० गते गरी जम्मा पाँच वटा सोमबार परेका छन् ।  पाँच वटा सोमबार साउन महिनामा परेमा अझ यसलाई नेपाली समाजमा विशेष महत्त्वका साथ हेरिन्छ । साउन महिनाको सोमबार शिवको बर्त बसी पूजाआजा गर्नाले मनको चिताएको पुग्छ भनी पुराणमा पनि उल्लेख छ । साउन महिनामा सोमबारका दिन सौभाग्यको प्राप्तिका लागि हरियो चुरा, पहिरन र पोते लगाउने धार्मिक विश्वासले सबै प्रकारका महिलाको मन जितेको छ । अविवाहित महिलाले भावी जीवनको सुखद कामना अथवा कुनै आरोप नलागेको बत्तिस लक्षणले युक्त भएको सुन्दर जीवन साथी पाउ भनी हरियो रङ्गको चुरा र पहिरन  लगाउने गर्दछन् भने विवाहित महिलाले पती तथा आफ्नो घर परिवारको सौभाग्य र धनधान्य प्राप्तिका लागि हरियो चुरा र पहिरनको प्रयोग गर्दछन् ।

सानानानीहरुले आफन्त र साथीहरूले चुरा लगाएको देखेर लहलहैमा चुरा लगाउँछन् भने कतिपय आमाहरूले नानी तिमी घरमा बसी राख म तिमीलाई बजारबाट चुरा ल्याई दिउला भनेर फकाउनका लागि हरिया चुरा लगाई दिने गरेको पाइन्छ । सबै उमेर समूहका महिलाले हातमा मेहन्दी लगाई चोखो खाना खाएर हरियो पहिरनका साथ भगवान् शिवको बर्त बस्ने गर्दछन् । साउनको महिनामा सोमवारका दिन बर्त बस्नाले शिव प्रशन्नभई मागेको कुरा पुरा गर्छन् भन्ने विश्वास आम मानिसमा रहेको पाइन्छ । 

आशुतोषका रुपमा छिटै प्रश्न हुने स्वभावका शिवलाई  साउनको सोमबार जल, पञ्चामृत, बेलपत्र, गन्ध, अक्षत, पुष्प,  धुपदिप अर्पण गर्नाले शिव प्रश्न भई मागेको कुरा मिल्छ भन्ने जनविश्वास पढे लेखेका देखि नपढेकासम्म, नाबालक देखि बुढापाका सम्म र आधुनिक देखि पुरानासम्म, जवान देखि ज्येष्ठ नागरिकसम्म, छोरा छोरी पाएका देखि नपाएका सम्म, मागी विवाह देखि लभ म्यारिजसम्म सबैमा व्याप्त रहेको  पाइन्छ । 

एकातिर हामी आधुनिक भई रहेका छौ । पुराना प्रथा र परम्परालाई रुढीवादी वा अन्धविश्वासको संज्ञा दिँदै हिँडिरहेका छौ, अर्कोतिर शिक्षित र सभ्य भनाउँदा समेत छोरा, छोरी, श्रीमान्, दिर्घजिवन, राम्रो घर परिवार, सुख सयल पाउ भनी बर्त बसी हरियो पहिरनमा सजिई साउनको हिलोमा पूजा सामग्री बोकी शिबमन्दिर धाई रहेका छौ । छोरा छोरी जन्माउनका लागि महिला पुरुष दुवै जना समान हैसियत राख्दछन् तर पनि हामी आफूमा भएको विश्वासको खडेरीका कारण अन्धविश्वासमा रुमलिँदै राम्रो श्रीमान् पाउ, राम्री श्रीमती पाउ, छोरा पाउ छोरी पाउ भनी मन्दिरमा लागेको लाइनको क्रम मिच्दै तछाड मछाड गर्दै शिव मन्दिर दौडी रहेका छौ । मन्दिरमा पूजा अर्चना गर्ने भनेर लगेको समानहरू बोक्ने प्लास्टिक झोला, धूपको खोस्टा जत्रतत्र फाल्दै मन्दिर परिसर फोहर गर्दै हिडि रहेका छौ । 

मैले यहाँनेर शिवलाई मान्नु हुँदैन वा पूजा अर्चना गर्नु हुँदैन भनिभनेको कदापि हैन मैले उठाएको प्रसङ्ग केवल आधुनिक भनाउँदा पढे लेखेका युवती राम्रो श्रीमान् पाउ भनी लामो सास तान्दै खुट्टामा लगाउनु पर्ने स्यान्डिल हातमाबोकेर किन मन्दिर दौडी रहेका छन् । घरमा ज्येष्ठ नागरिकहरू पानी पानी भनी छोरा बुहारीलाई बोलाई रहेका छन् । छोरा बुहारी तामाको भाँडोमा पानी, दूध लगायतका शिवका प्रिय बस्तु शिवमा चढाउने भनेर चुराको छन् छनका साथ हस्याङ फस्याङ गर्दै ढुङ्गाको मूर्ति खोज्दै हिँडिरहेका छन् । घरका शिव पार्वती अलपत्र परिरहेका छन् ।

नाभिमा भएको चिजको वास्ना पत्ता लगाउन नसकेर कस्तुरी मिर्ग दौडे जस्तै हामी पनि दौडी रहेका छौ । नेपाली समाजमा बेला बेलामा प्याज, चकलेट, मिठाई, केरा, चुरा, पर्चा बाडने त कहिले हरिया चुरा तथा पहिरन लगाई सोमबारको बर्त बस्ने, कहिले तीजको त कहिले पञ्चमीको निराहार बर्त बसी श्रीमानको खुट्टाको पानी खानु पर्ने, श्रीमानले खाना नखाउन्जेल आफू नखाने जस्ता अन्धविश्वास र देखासिका गर्ने कुरामा किन महिलामा समय सापेक्ष परिवर्तन आउन सकेन ?  विवाह गरेको केही दिन भएकी दुलहीलाई तपाईँले पहिलो सन्तानको रुपमा के चाहनुहुन्छ भनी शोध्नुस उनले  लाजले मुस्कुराउँदै टाउको हल्लाउँदै छोरा भन्छिन् । एकातिर प्रीति पितृसत्तात्मक सोचले महिला माथि अन्याय अत्याचार घरेलु हिंसा भई रहेको छ भन्ने अर्कोतर्फ  छोरा पाउ भनी मन्दिर दौडिने, पतिलाई खुसी पार्न र राम्ररी देखिन हरियो पहिरन र चुरा लगाउनेले मात्र हाम्रो समाजमा छोरा पाएका छन्त ? के चुरा र हरियो पहिरन नलगाउने महिलाको परिवारमा सुख सयल तथा शान्ति छैन ? साउनको सोमबारको बर्त भनी दिनभरि भोक भोकै बसी बेलुका भए भात खान्थे भन्ने  महिलामाथिकै यो प्रश्न तेर्सिएको छ । जय सोमवार । जय समाज । जय महिला ।