घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

कैलाली। कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र ०८१र०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ ।
बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमि, पिसलाईट ईङलिस बोर्डिङ स्कुल रहेका छन् भने सामुदायिक विद्यालय तर्फ जनज्योती माध्यामिक विद्यालय र छडी माध्यामिक विद्यालय रहेका छन् ।
छडी र पिसलाईट विद्यालयले कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो भने जनज्योती र पायोनियरले एसइईमा उत्कृष्ट नतिजा ल्याएको छ ।
पायोनियर विद्यालयमा २८ जनाले एसइई दिएकोमा २७ जना पास भएका छन् । जसमध्ये आठ जना ए प्लस, ११ जना ए ग्रेड ल्याउन सफल भएको विद्यालयका प्रधानध्यापक कुलप्रसाद भट्टले जानकारी दिए । उक्त विद्यालयबाट रक्षा बुढाले चार जिपीए ल्याई नेपालमै उत्कृष्टको लिष्टमा पर्न सफल भएका छन् ।
त्यसैगरी ५१ वटा सामुदायिक विद्यालय रहेको घोडाघोडी नगरमा जनज्योती माध्यामिक विद्यालय जनकपुरले ७६ प्रतिशत नतिजासहित एसइई नतिजामा उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । उक्त विद्यालयमा ५१ जना एसइई परिक्षा दिएकामध्ये ४१ जना पास भएका छन् ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले नगरको शिक्षामा विगतमा भन्दा सुधार हुदै गएको बताए । उनले नगरपालिकाको बजेटमा समेत शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयको भौतिक सुधारदेखि गुणस्तर सुधारमा ध्यान दिएको बताएका छन।
सम्मान कार्यक्रममा नगरपालिका शिक्षाशाखा प्रमुख खगेन्द्रबहादुर सिंह, उपप्रमुख गुलियाकुमारी चौधरी, वडा नम्बर १ का वडाअध्यक्ष एवम् प्रवक्ता घनश्याम ओझा, नगरशिक्षक महासंघका अध्यक्ष काशीराम जोशीलगायतले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई शुभकामना व्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरशिक्षा समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी, प्रधानध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया