Close This

विश्वभर रहेका युवा उद्यमीलाई जोड्दै युवा उद्यमी महासंघ

सोमबार भदौ २०, २०७९/ Monday 09-05-22
Paschim Today

सिड्नी, २० भदौ । अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ संसारभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई एउटै छातामुनि जोड्ने कार्यमा लागिपरेको छ । यो संस्था औपचारिक रूपमा गठन भएको एक वर्ष पनि भएको छैन, तर प्रवासमा छरिएर रहेका युवा उद्यमीहरूलाई समेटेर यसले दर्शाएको काम उल्लेखनीय रहेको छ । यो संस्था हाल एक दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ ।
यस क्रममा अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ (एनएसडब्लु)को अस्ट्रेलिया च्याप्टरले सिड्नीमा आयोजना गरेको एक विशेष कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाली दूतावास अस्ट्रेलियामा बस्ने नेपालीको अभिभावकत्व ग्रहण गर्ने निकाय भएकोले सबैखाले सकारात्मक अभियानमा हातेमालो गर्न तयार रहेको बताए । नेपालसँग जोड्ने कार्यमा हामी तपाईंहरूको अभियानमा छौँ । तपाईंहरू अगाडि बढ्नुस् साथमा हामी छौँ’– राजदूत पोखरेलले भने ।
अस्ट्रेलियाको राजनीतिज्ञहरूले समेत नेपाल र नेपालीहरूको प्रशंसा गरेको उल्लेख गर्दै राजदूत पोखरेलले अगाडि थपे– ‘नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई झनै बलियो र विश्वासिलो बनाएर अगाडि बढाउंन सकेमा नेपाल र नेपालीहरूको बृहत्तर विकास हुनेछ ।’
कार्यक्रममा बोल्दै एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्काले युवालाई उद्योग व्यवसायमा लाग्न प्रेरणा दिँदै उद्यममार्फत नेपालसँग जोड्ने उद्यमी महासंघको यस्तो कार्यको प्रशंसा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघका केन्द्रिय अध्यक्ष स्वतन्त्र प्रताप शाहले प्रवासमा विभिन्न व्यवसाय र उद्यममा लागेका युवा नेपालीलाई समेटेर मुलुकसँग जोड्ने संस्थाको मुल उद्देष्य रहेको प्रष्ट पारे । ‘प्रबासमा छरिएर रहेका नेपालीहरूको पूँजी, दिमाग, सोच र सीपलाई नेपाल र नेपालीसम्म पुर्याउंनु नै हाम्रो उद्देश्य हो । यसमा सबैको साथ र हातको आवश्यकता छ’– शाहले भने ।
कार्यक्रममा आयोजक एनएसडब्लु राज्यका संयोजक लक्ष्मण सापकोटाले उद्यमी बन्दा शुरूमा गाह्रो भएपनि धैर्य नगुमाउंन सुझाए भने युवा उद्यमी संघ अष्ट्रेलियाका अध्यक्ष दिक्पालदेव पँगेनीले नेपाल र नेपालीलाई जोड्ने अभियान र यात्रामा सँगै हिड्न आह्वान् गरे ।
संस्थाका युवा अभियन्ता अमृत पौडेलले नेपालको भौगोलिक आधारमा पर्यटन प्रवद्र्धनका लागि अतिथि सत्कार परियोजनाको परिकल्पना प्रस्तुत गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ, उद्यमी महासंघ न्यु साउथवेल्स कमिटीका सचिव दीपक ज्ञवाली, एनआरएनका अभियन्ता दिनेश पोखरेल, युवा उद्यमी किरण थापा, सागर लोहनी, झापाली समाजका अध्यक्ष निरन्जन प्रसाइँ र नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष ऋषि आचार्यलगायतले युवा उद्यमी महासंघले आगामी दिनमा चाल्नुपर्ने कदम र गर्नुपर्ने कार्यको बारेमा सल्लाह र सुझाव दिएका थिए ।